३२ असार २०८३, बिहीबार
कोरोना कहर

कोरोनाले थलियो पर्यटन क्षेत्र : पलायन भए व्यवसायी, मोटरसाइकल बेचेर गुजारा टार्दै मजदुर !

कोरोनाले थलियो पर्यटन क्षेत्र : पलायन भए व्यवसायी, मोटरसाइकल बेचेर गुजारा टार्दै मजदुर !

कोरोनाभाइरस (कोभिड– १९) महामारीका रूपमा फैलिएसँगै स्वास्थ्य क्षेत्र मात्र होइन अर्थतन्त्र पनि अस्तव्यस्त बनेको छ । 

विश्वका ठूल्ठूला अर्थतन्त्रहरूलाई समेत हल्लाएको कोरोनाले नेपालमा असर नपार्ने कुरै भएन । नेपालमा स्वास्थ्यपछि सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो, पर्यटन । 

नेपालको जीडीपीमा महत्त्वपूर्ण योगदान गर्दै आएको पर्यटन क्षेत्र कोरोनाको पहिलो लहरयता नै लयमा आउन सकेकेको छैन ।

अन्य केही व्यवसाय बीचमा लयमा फर्किएपनि पर्यटन कोरोना महामारी शुरू भएयता नै ठप्पप्रायः छ ।

व्यवसाय ठप्प भएपछि पर्यटन व्यवसायीहरू चिन्तित छन् । कतिपय व्यवसायबाटै पलायन भएका छन् भने कतिपय ऋणले थलिएका छन् । 

पर्यटनका कुन क्षेत्रमा कस्तो असर ? 

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी अहिले कतिपय पर्यटन व्यवसायी पलायन भएको बताउँछन् । लोकान्तरसँग उनले भने, ‘साढे ३ लाखभन्दा बढी जनशक्तिले त रोजगारी गुुमाएका छन् ।’

जनवरी १, २०२० मा सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । २०२० भरि नै पर्यटन क्षेत्रलाई विषेश रूपमा चलायमान बनाउने घोषणासहित आएको कार्यक्रम महामारीकै कारण सञ्चालन हुन सकेन । 

उनले भने, ‘केही हुन्छ भन्ने आश त थियो, तर अहिले सबै ठप्प छ । दोस्रो वेभ सकिएपछि तेस्रो वेभ आउने हल्लाले हामी झनै चिन्तित छौं ।’

यस बीचमा टानमा आबद्ध साढे ३ लाख बढी जनशक्तिले रोजीरोटी गुमाएका छन् । 

अध्यक्ष सुवेदी भन्छन्, ‘हामी त शुन्यमा झरिसकेका छौं । कति नोक्सान भयो भन्ने नै यकिनका साथ भन्न सकिने अवस्था छैन ।’

टानमा हालसम्म काठमाडौंमा १ हजार ९ सय हाराहारीमा कम्पनी र पोखराका करीब १ सय ८० कम्पनी आबद्ध छन् । यस बीचमा निषेधाज्ञा र पर्यटन क्षेत्र ठप्प हुँदा ती कम्पनीहरूमा कार्यरत सबै प्रभावित छन् । 

‘पहिलो निषेधाज्ञामा हामीले १५ अर्ब जतिको नोक्सानी व्यहोर्नुपरेको थियो, अहिले त यो भन्दा निकै बढी छ, तर यकिनका साथ भन्न सक्ने अवस्था छैन,’ लोकान्तरसँग उनले सुनाए ।

कोरोना महामारीको दोस्रो वेभ आउनुअगाडि केही मात्रामा पर्यटक आउनाले पदयात्रातर्फ न्यून कारोबार भएको भन्दै उनले त्यसभन्दा अरू त ठप्पै भएको सुनाए ।

यसबीचमा कतिपय सदस्यहरूले विभिन्न ठाउँबाट ऋण लिएर दैनिक गुजारा गरिरहेको उनले सुनाए । सुवेदीले भने, ‘श्रमिकहरूको त हालत नै खराब छ । कतिपयले भएको मोटरसाइकल बेचेर दैनिक गुजारा चलाइरहेको अवस्था छ । एकदमै दुःखदायी अवस्था छ ।’

होटल क्षेत्रमा पनि दुःख उस्तै 

यता, होटल क्षेत्रको पनि दुःख उस्तै छ । महामारीका कारण विदेशबाट आउनेहरू त आउन पाएनन् नै आन्तरिक ग्राहकहरू पनि घरभित्र थुनिएका छन् ।

सरकारले कतिपय तारे होटललाई क्वारेन्टीन बनाएपनि विदेशबाट आउने मानिसहरू ‘सोर्स फोर्स’ लगाएर होटल क्वारेन्टीनमा नबसी सिधै गाउँ पुग्ने गरेको होटल एसोसिएसन (हान)का एक सदस्यले बताए । 

‘विमानस्थलबाट सिधै घर जानेहरू भएपछि यहाँको क्वारेन्टीनको त अर्थ नै छैन,’ उनले भने ।

हानका प्रथम उपाध्यक्ष तथा प्रवक्ता विनायक शाहले होटल क्षेत्रमा कोरोना महामारीले ठूलो प्रभाव पारेको सुनाए । उनले सुरक्षाका उपाय अवलम्बन गर्दै होटलहरू सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । 

‘सबैलाई खोप दिएर सुरक्षित उपाय लगाएर सरकारले काम गर्नुपर्छ, अनि मात्र उठ्न सकिन्छ,’ उनले भने ।

टुरिस्ट गाइडलाई धौधौ 

यस्तै नेपालमा सरकारबाट अनुमतिप्राप्त करीब ४ हजार ५ सय टुरिस्ट गाइड छन् । उनीहरूमध्ये करीब २ हजार ५ सय यही क्षेत्रमा सक्रिय रहेको र कतिपय भने अनौपचारिक रूपमा यस क्षेत्रमा आबद्ध भएको टुरिस्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान)का निवर्तमान अध्यक्ष केदार तामाङले लोकान्तरलाई जानकारी दिए । 

उनले अहिले कोरोना महामारीका कारण यसै क्षेत्रमा सक्रिय करीब २ हजार ५ सय टुरिस्ट गाइड प्रभावित भएको बताए ।

उनका अनुसार एसोसिएसनमा १ हजारभन्दा बढी मजदुर आबद्ध छन् । उनीहरू सबै महामारीबाट रोजीरोटी गुमाएर बस्नुपरेको अवस्थामा छ ।

कतिपय पछि पुनः यस क्षेत्रमा आबद्ध हुनसक्ने भएपनि कतिपय पलायन भइरहेको उनको भनाइ छ  ।

‘हाम्रा कतिपय साथीहरूलाई दैनिक गुजारा चलाउन र रोजीरोटीका लागि पनि निकै गाह्रो भइरहेको अवस्था छ,’ उनले भने । 

उनले अब यो कोरोना महामारी कहिलेसम्म जान्छ भन्ने नै भन्न नसकिएको भन्दै के कति नोक्सान भयो भन्ने लेखाजोखा नै नभएको बताए । 

उनले भने, ‘हामीसँग भएका शिक्षित र विज्ञ साथीहरू पलायन हुने अवस्थामा हुनुहुन्छ भने कतिपय पलायन नै पनि भइसक्नुभएको छ । अहिले त कतिपयलाई घर खर्च चलाउन पनि मुस्किल परिरहेको छ ।’

ठमेलमा मात्रै ८० हजार रोजगारविहीन

ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेलमा मात्रै १० हजार पर्यटन व्यवसायी तथा करीब २ हजार घरधनीहरू प्रभावित भएको बताए ।

‘सामान्य अवस्थामा सिजनमा दैनिक २५/३० करोडको व्यापार हुन्थ्यो भने अफसिजनमा १२/१५ करोडको व्यापार हुन्थ्यो, त्यो अहिले ठप्प छ,’ उनले भने । 

स्वरोजगार व्यवसायमा आबद्ध अधिकांश व्यवसायीहरू पनि बेरोजगार भएपछि परिवार नै समस्यामा परेको उनको भनाइ छ । 

ठमेल क्षेत्रमा मात्रै स्वरोजगार व्यवसायीहरू ९० प्रतिशत रहेको उनको भनाइ छ । त्यस्तै १० प्रतिशत भने औद्योगिक व्यवसायी छन् । 

उनले ठमेल क्षेत्रमा पर्यटन व्यवसायीहरू ८० देखि ९० हजारसम्मको हाराहारीमा रहेको बताउँदै अहिले उनीहरू बेरोजगार हुनुपरेको सुनाए । 

अध्ययन गर्दै पर्यटन बोर्ड 

कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प हुँदा करीब १२ लाख जनशक्तिको रोजगारी गुमेको सरकारले यस घि नै बताइसकेको छ । जसमध्ये औपचारिक क्षेत्रमा मात्रै करीब ४ लाख मजदुरले रोजगारी गुमाएका छन् । 

कोरोना महामारीको दोस्रो वेभले पर्यटन क्षेत्रलाई थप धक्का दिएको छ ।

यसबारे अहिले पर्यटन बोर्डले अध्ययन गरिरहेको बोर्डका एक सदस्यले लोकान्तरलाई जानकारी दिए । 

‘बोर्डको नेतृत्वमा अहिले पर्यटन क्षेत्रमा के कति नोक्सानी भयो भन्नेबारे अध्ययन भइरहेको छ,’ ती सदस्यले लोकान्तरले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्