
अविरल वर्षापछि आएको बाढीपहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा क्षति पुगेको छ । मनाङको नासो गाउँपालिका– १, तालगाउँ निरन्तरको वर्षाका कारण डुबानमा परेको छ ।
मस्र्याङ्दी नदी छेउको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परेको स्थानीयले बताएका छन् । बाँकी घर पनि जोखिममा छन् ।
स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
डुबानको खबरलगत्तै स्थानीयस्तरबाट सुरक्षाकर्मी खटाइसकिएको र अन्य प्रबन्ध मिलाइएको बताएका छन् ।
जिल्ला प्रहरी कार्याल्यका प्रमुख डीएसपी सुवास खड्काले तालस्थित प्रहरी चौकीको टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको बताए । डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभावित भएको छ ।
बाढीले सदरमुकाम चामेस्थित तातोपानी कुन्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ । बाढीले सदरमुकाम चामे गाउँपालिका–१, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ ।
तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृहमा क्षति पुर्याएको छ । काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।
घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको हो । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको छ ।
सोमबार साँझदेखि परेको भीषण वर्षाले प्रदेशभित्रका जिल्लामा पर्ने राजमार्गमा अहिले वर्षाकै कारण यातायात सेवा अवरुद्ध छ ।
अविरल वर्षाले पोखराको छोरेपाटन र नयाँबजार क्षेत्रमा केही भाग भासिएको छ । जमिन भासिँदा मानवीय क्षति भने टरेको छ ।
कास्कीमा निर्माणाधीन सूपर मादी हाइड्रोपावरमा पनि बाढीले ठुलो क्षति पुगेको छ ।
सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले हाइड्रोपावरमा रहेका मसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड लगायत गरी करिब १५ करोड बराबरका सामग्री बगाएको हाइड्रोका सञ्चालक धनराज आचार्यले बताए ।
निर्माणस्थलमा रहेका एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठूलो जेनरेटर, काटेर राखिएका रडको थुप्रो लगायत बगाएको उनले बताए ।
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरूलाई बसोबासको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।
उद्धार राहतका लागि तत्कालको प्रबन्ध गर्न निर्देशन दिँदै उनले अपुग भएका सामग्री र रकम प्रदेश सरकारले उपलब्ध गराउने बताए ।