२७ जेठ २०८३, बुधबार
बाढीको क्षति

वर्षाैंको मेलम्ची सपनामा एकै बाढीले भयंकर धक्का ! सहायक संरचनामा पूरै क्षति [भिडियो]

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो ।

वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला मेलम्ची नदीमा एकैदिन आएको बाढीले भयंकर धक्का दिएको छ । 

मेलम्ची नदीमा मंगलवार आएको भीषण बाढीमा परियोजनाको हेडबक्स क्षेत्र डुबानमा परेको छ । खानेपानी आयोजनाका अस्थायी संरचना बगेर गएका छन् । 

प्रवेश मार्ग नै बगेर गएकाले आयोजनाका कर्मचारीहरूले क्षतिको यकिन विवरण संकलन गर्न नसकेका मेलम्ची खानेपानी विकास समितिको योजना शाखाका वरिष्ठ डिभिजन इन्जिनीयर (सीडीई) तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘निर्माण व्यवसायी, परामर्शदाता क्षतिग्रस्त क्षेत्रमा पुग्न प्रयासरत हुनुहुन्छ तर त्यहाँ स्थलगत निरीक्षण नगरिकन वास्तविक क्षति भन्न नसकिने अवस्था छ,’ सूचना अधिकारी पन्तले भने, ‘हाम्रा स्थायी संरचनाहरू यथास्थितिमा रहेको देखिन्छ । ड्रोन र हेलिकप्टरको सहायताले निरीक्षण गरेर हेर्दा हाम्रो हेडबक्समा असर नपरेको देखिन्छ । तर अस्थायी पूर्वाधार, सहायक संरचनाहरू भने सबै बगेर गएका छन्, त्यसमा क्षति पुगेको देखिन्छ ।’

बाढीसँगै निर्माण व्यवसायीका निर्माण सामग्री पनि बगेर गएका उनले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण नआएपनि आयोजना प्रभावित हुने देखिएको छ ।

आयोजनाले सुरुङ खाली गरेर निरीक्षण गर्ने तयारी गरिरहेको थियो । तर सुरुङको अम्बाथानमा पूरै लेदो भरिएकाले आयोजना प्रभावित हुने सूचना अधिकारी पन्तले बताए ।

कार्ययोजना अनुसार सुरुङ निरीक्षण सकेर ४०–६० दिनभित्र काठमाडौंमा पुनः खानेपानी वितरणको योजना भएपनि अब ढिलाइ हुनसक्ने उनले बताए । ‘आयोजनामा क्षतिपछि अब काठमाडौंमा पानी वितरण गर्न यकिन यति दिन लाग्छ भन्ने कुरा चाहिँ स्थलगत निरीक्षण नगरिकन भन्न नसकिने अवस्था छ,’ पन्तले भने ।

हेर्नुहोस् भिडियो -

salt training

कमेन्ट गर्नुहोस्