३१ जेठ २०८३, आइतबार
कोरोनाको असर

फेवातालका डुंगामा पर्यटक नआएपछि बल्छीमा माछा पार्दै चालकहरू

असार ५, २०७८
फेवातालका डुंगामा पर्यटक नआएपछि बल्छीमा माछा पार्दै चालकहरू

मकवानपुरको छतिवनका ४० वर्षीय किरण लामा फेवातालमा डुंगा चलाउँछन् । उनले यहाँ डुंगा चलाउन थालेको चानचुन ७ वर्ष जति भयो ।

साउदी अरबबाट फर्केका किरण बेरोजगार थिए । खाडी मुलुकमा साढे २ वर्षको बसाइँपछि फेरि फर्केर जान मन लागेन । यत्तिकैमा गाउँघरका साथीभाइले फेवातालमा डुंगा चलाए मनग्ये आम्दानी हुन्छ भनी सुझाए । 

पोखरा सुन्दर शहर भएको सानैदेखि सुनेका किरण घुम्न पनि पाइने, काम पनि पाइने भएपछि २०७० सालमा सिधैं पोखरा हान्निए । पोखरा आएपछि काम सिके । त्यसो त डुंगा चलाउन खासै गाह्रो काम हैन, सिक्न समय लागेन ।

अनि फेवाताल डुंगा व्यवसायी समितिले उनलाई परिचयपत्र थमाइदियो, डुंगा चालक । 

शुरूका १–२ वर्ष राम्रै भयो । नयाँ शहरमा काम पनि रमाइलो नै थियो उनका लागि । तर भूकम्प सँगसँगै कोरोना महामारीले व्यवसाय चौपट्ट भएको छ । ‘शुरूशुरूमा त राम्रै आम्दानी हुन्थ्यो । २ हजारदेखि २ हजार ५०० एकैदिनमा कमाइयो,’ किरण भन्छन्, ‘पोखरा घुम्न आउने पर्यटक पनि भरिभराउ हुन्थे । तर भूकम्प आएपछि काम कम भयो । अहिले त कोरोनाले च्याप्पै पार्‍यो ।’

यस वर्षको असार लागिसकेको छ । आकाश त्यति खुल्न सकेको छैन । क्षणभरमै पानी पार्ने बादलले लुकामारी खेलिरहेको छ । गएरातिको वर्षाले जमिन सुक्न पाएको छैन ।

पोखराको अमिट चिनारी फेवाताल यतिखेर शान्त छ । ताल सयर गर्न डुंगा चढ्न पालो कुर्नेहरू छैनन् । तालबीचको वाराही मन्दिरमा बिहानीपख पुजारी नित्यपूजासम्म गर्छन् । भक्तजनले मन्दिरको घण्टी बजाउन नपाएको २ महिना बित्यो ।

मानिसको चहलपहल शून्यसँगै सडकमा उतिसारो गाडी गुड्न नपाउँदा लेकसाइडको सडक लेउले ढाकिन थालेको प्रस्टै देखिन्छ । राति अबेरसम्म जागा रहने लेकसाइड दिउँसै सुनसान छ । मानिसहरू घरघरमै खुम्चिएका छन् । 

ताल किनारमा नीलो, पहेंलो रंगका डुंगा लहरै मिलाएर राखिएको छ । अघिल्लो वर्ष ७ महिनाजति सिक्रीले बाँधिएका ती डुंगाको नियति पुनः दोहोरिएको हो । नयाँ भेरियन्टको कोरोनाको दोस्रो लहरले गत वैशाख १५ गतेदेखि जिल्ला प्रशासनले डुंगा चलाउन निषेध गरेको छ । 

अन्य सेवामा जस्तै डुंगा पनि चल्न नपाउँदा डुंगा चालकको गाँस खोसिन गएको छ । बिहान खाए, साँझ के खाने भन्ने पिरलो छ । अझै निषेधाज्ञा (लकडाउन) थपिँदै गए के गर्ने भन्ने अन्योलमा छन् किरण लामाहरू । 

किरण आज माछा मार्ने तयारीमा छन्, त्यसैले सिक्रीले बाँधिएको साहुको डुंगालाई ताल छेउको दिशा दिँदैछन् । लोकान्तरसँगको कुराकानीमा उनले गुनासो पोखे, ‘कोठाभाडा तिर्न समस्या छ । नूनतेल किन्नै पर्‍यो । बिहान खाएँ, साँझ के खाऔं भन्ने पिरलो छ ।’ 

ताल छेउ खहरेमा कोठाभाडा लिएर किरण एक्लै बस्दा रहेछन् । परिवारका पत्नी र २ छोराहरू मकवानपुरमै छन् । पूर्वबाट कमाउन भनी पश्चिम आएका किरणलाई आफ्नोभन्दा बढी चिन्ता घरपरिवारको रहेछ । के खाएका होलान्, के लाएका होलान् ? कोरोनाबाट कसरी बचेका होलान् ? 

२०७२ सालको भूकम्पसम्म राम्रै कमाउने गरेका किरण त्यसपछि पोखरामा पर्यटक आगमन घटेपछि पहिलेजस्तो काम नपाउँदा घरमै फर्किएको बताए । ‘एकडेढ वर्ष घरमै कुटोकोदालो गरेंं । खेतीपातीमा व्यस्त भएँ । पछि फेरि भएन भनी फेरि डुंगा खियाउन आएको हुँ,’ उनले भने । डुंगा चलाउन रस पस्नुमा पनि उनलाई नगदै हात पर्नु मुख्य कारण रहेछ । 

किरणले भने, ‘दिनभरि काम गर्‍यो । साहुले हजार माग्दा २०० दिन अन्कनाउँछन् । यहाँ आफैं डुंगा चलायो, नगदै बुझ्यो ।’

पहिलेझैं नगदै बुझेर साँझबिहानको हातमुख जोर्न काम नपाउँदा भने अहिले समस्याको खातैखात छ ।  उनले भने, ‘कोठाभाडा ४ हजार २०० छ । खानामा ६ हजार जति गइहाल्छ । मोबाइल खर्च, औषधिमूलो, लुगाफाटो यताउति गर्दा टोलल १५–२० हजार गइहाल्छ । अहिले आम्दानीको बाटो छेकियो । रोग हटेर चाँडै लकडाउन खुले हुन्थ्यो ।’ 

डुंगा चालक समस्यामा परेको बुझेर रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अघिल्लो साता राहत वितरण गरेको थियो । करीब ६० जना डुंगा चालकजस्तै उनले पनि २५ किलोको १ बोरा चामल, १ किलो दाल, १ पोका नून, १ साबुन र स्यानिटाइजर पाएको बताए । लकडाउनमा दिन कसरी बित्छ भन्ने जिज्ञासामा उनले जाँगर चले माछा मार्न निस्कने गरेको बताए ।

बल्छी देखाउँदै उनले भने, ‘खासै पर्दैन । कहिलेकाहीँ परिहाले सितन (तरकारी) भइहाल्छ ।’ उनी आशावादी हुँदै तालको पल्लो छेउतिर लागे ।

 
कोरोना प्रभाव डुंगासम्म आइपुग्दा चुल्होमा के पकाउने भन्ने पिरलो यस्तै कैयौं मजदुरको साझा समस्या बनेको छ । हुनेखानेहरू घरमै मिठामिठा परिकार बनाउँदै समय कटाउने गरे पनि निमेक गरेर खानेहरूको लागि कोरोनाले जीवन धौंधौं बनाएको छ । 

फेवा डुंगा व्यवसायी समिति अध्यक्ष बुद्धिबहादुर नेपालीले निम्न आयका मानिसहरूले छाक टार्ने माध्यम डुंगा भए पनि कोरोना प्रभावले तहसनहस बनाएको बताए । ‘हामीहरूले २०७६ चैत ११ गतेदेखि महिनौंसम्म डुंगा सिक्रीले बाँधेरै राख्यौं,’ उनले भने, ‘असोज १ गतेदेखि डुंगा चलाउन प्रशासनले अनुमति त दियो तर पुसमा मन्दिर खुलेपछि मात्र अल्लि चहलपहल होला जस्तो थियो । बीचमा ड्याम बनाउने भनी तालको पानी पनि सुकाइयो । दोस्रो लहरको कोरोनाले झनै अनिश्चित पारेको छ ।’

समस्यामा परेका मजदुरको लागि समितिले वडा कार्यालय तथा विभिन्न संघसंस्थासँग राहतको लागि पहल गर्दै आएको उनले बताए । 

फेवातालमा डुंगा व्यवसाय व्यवस्थापनका लागि २०५१ सालमा उनकै अध्यक्षतामा फेवा डुंगा व्यवसायी समिति गठन भएको हो । फेवामा ८०० डुंगा सञ्चालित छन् । वाराही मन्दिर जान सबैभन्दा बढी वाराहीघाटबाट ३५६ डुंगा चल्छन् । फेवामा वाराहीघाट, गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी घाट छन् । सबै गरेर करीब ५०० जना मजदुर आश्रित छन् ।

salt training

कमेन्ट गर्नुहोस्