बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले आफ्नी निकटतम सहयोगीसँग विवाहेतर सम्बन्ध राखेको पत्ता लागेपछि पद जोगाउन धौधौ परेको छ ।
उनले ती सहयोगीलाई आफ्नो कार्यालय भवनको कोरिडोरमा गहिरो चुम्बन गरेको भिडियो द सन पत्रिकाले सार्वजनिक गरेको छ ।
जिना कोलाडांगेलो नामक ती करोडपति सहयोगीलाई अँगालो हालेर गहिरो चुम्बन गरेको अनि उनको ढाड र नितम्बमा सुमसुम्याएको भिडियो सार्वजनिक भएको हो । जिनालाई पोहोर साल मार्च महिनामा सल्लाहकार बनाएर ह्यानककले सरकारमा ल्याएका थिए ।
चुम्बनको यो घटना गत मे महिनाको ६ तारिखमा अपराह्न ३ बजेतिर भएको बताइएको छ । त्यो दिन बेलायतमा स्थानीय निर्वाचन चलिरहेको थियो र ह्यानककले कोरोनाको पहिलो खोप लिएको एक हप्ता मात्र भएको थियो ।
ह्यानककले पत्नी मार्थासँग १५ वर्षपहिले विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् ।
उता जिना पनि तीन सन्तानकी आमा हुन् । उनका पति ओलिभर ट्रेस लत्ताकपडाको पसल ओलिभर बोनासका संस्थापक हुन् ।
ह्यानककले यस घटनाका विषयमा टिप्पणी गर्न मानेका छैनन् ।