

मुगल साम्राज्यकालमा मुसलमान शासकहरूले भारतवर्षमा जातीय संहारको नीति अन्तर्गत मारेका हिन्दूहरूको संख्या हिटलरले २०औं शताब्दीको पूर्वार्ध्दमा मारेका यहुदी (६० लाख) को संख्याभन्दा धेरै गुणा बढी थियो । सन् ८०० देखि १७०० सम्मको करिव आठशय वर्षको कालखण्डमा विश्व इतिहासमा कतै नभेटिने स्तरको नरसंहार एसियाको यस भूखण्डमा भएको थियो तर यसको चर्चा राम्रोसित हुन सकेको देखिँदैन। भारतीय लेखक निर्मल महाजन ( [email protected]) एउटा पोष्टिङ्गमालेख्छन्:- इतिहास केलाउँदा इस्लामलाई ‘शान्तिको धर्म’ मान्न सकिँदैन । किनभने एसियाको यस क्षेत्रलाई अरब,टर्केली र अफगान लगायतकाठाउँबाट आएर मुगल शासकहरूले अधिनस्थ गर्दा तिनका सैनिक गणहरूबाट हिन्दूहरूमाथि जुन अत्याचार भयो त्यो अकल्पनीय एवं अमानुषिक थियो यद्यपि विश्व इतिहासले यसलाई अझै औपचारिक मान्यता दिएको छैन ।
समकालीन पूर्वेली इतिहासकारहरूले यतिञ्जेल चर्चित कालखण्डको विस्तृत चर्चा गर्न किञ्चित सङ्कोच मानेको देखिन्छ । तर पश्चिमका विद्वान् तथा अध्येताहरूले भने इतिहासका यी अँध्यारा पक्षसँग जोडिएका यथार्थको पनि उल्लेख गर्दै आएका छन् । ‘नरसंहार’ र ‘जातीय सफाया’ भन्न सकिने हिंसात्मक सिलसिला करिव आठशय वर्ष चल्यो र त्यस क्रूर तथा पाशविक शासनको अन्त्य त्यसबखत मात्र भयो जब पञ्जाबमा शिखले र भारतका अन्य विभिन्न भागमा हिन्दू मराठा सेनाहरूले बाहिरी सशस्त्र आक्रमणको सफल प्रतिकार गरे । यो सन् १७०० को आखिरीतिरको घटना-विकास हो ।
हामीसँग प्रत्यक्षदर्शीहरूका बयानमा आधारित त्यस्ता लिखतहरू प्रमाणको रूपमा उपलब्ध छन् जसले ८०० वर्षका नरसंहार र जातीय सफायालाई पुष्टि गर्दछन् । र, यसबारेका धेरैजसो लिखत आक्रमणकारी शासक र सेनाका अभिलेखको ढाँचामा छन् जसलाई उनीहरूकै इतिहासकार र जीवनी-लेखकहरूले तयार पारेका हुन् । ती वृत्तान्त र वर्णनहरूमा भारतवर्षका हिन्दूहरूमाथि मुगल शासक र तिनका सिपाहीबाट कसरी दुर्व्यवहार तथा अत्याचार गरिने गर्थ्यो तिनलाई ‘सगौरव’ उल्लेख गरेको पाइन्छ । लाखौं पुरूष मारिएका, महिला बलात्कारमा परेका र हजारौंको संख्यामा हिन्दू/बौध्द मन्दिर एवं पवित्रस्थल ध्वस्त पारिएको थियो ; पुस्तकालयहरू नष्ट गरिएका थिए ।
समकालीन लिखत, स्मारकहरूको अध्ययन गर्ने आधुनिककालका विद्वान्हरूले चर्चित विध्वंसका ठोस प्रमाणबारे खुलस्त लेखेका छन् । बेल्जियमका लेखक डा. कोइन्राड एल्सट् (KoenraadElst) ले अन्वेषणात्मक आलेखको शीर्षक राखेका छन् : के हिन्दूहरूको इस्लामिक नरसंहार भएको थियो ? मुस्लिम इतिहासकारहरूकै कतिपय लिखतलाई सर्सर्ती हेर्दा ‘पवित्र मुस्लिम लडाकूहरू’ले हिटलरको नरसंहार अभियानमा मारिएका ६० लाखभन्दा बढी मानिस मारेको निष्कर्ष निस्कन्छ । फेरिस्थाको अभिलेखमा मध्य-भारतमा शासन गर्ने बाहमानी सुल्तानहरू (सन् १३४७-१५२८) को उल्लेख छ जसले एकै खेपमा एकलाख हिन्दूको ज्यान लिन लगाउने गर्थे । हिन्दूहरूलाई दण्डित गर्नु प-यो कि उनीहरू एक लाखको संख्यालाई न्यूनतम संख्या तोक्थे । अझ भयानक नरसंहार महमुद घज्नवी (सन् १०००) र मोहम्मद घोरी (सन् ११९२) को समयमा भयो ।
दिल्ली सल्तनत (सन् १२०६—१५२६) को समयमा हिन्दूहरू निरन्तरजसो जीवन-मरणको संघर्षमा रहे । हरेक मुस्लिम अभियान(जिहाद) मा शहर-बस्तीहरू जलाएर खरानी पारिन्थ्यो र लाखौंको संख्यामा मानिसलाई मारिन्थ्यो अनि त्यत्तिकै संख्यामा कमारा-कमारी बनाउनको लागि मानिसहरू अन्यत्र लगिन्थ्यो । हरेक नयाँ आक्रमणकारी शासकले हिन्दूहरूको खप्परको ढिस्को ठड्याउन लगाउँथ्यो । सन् १००० मा अफगानिस्तानमाथि विजय गरेपछि मुगल शासकहरूले त्यहाँ जरो-किलो केही नरहने गरी हिन्दूहरूलाई सखाप पारे । अचेल त्यो क्षेत्र ‘हिन्दू कुश’ भनेर चिनिन्छ जसको अर्थ हुन्छ हिन्दू मारिएको ठाउँ ।
सन् १९३५ मा प्रकाशित अमेरिकी इतिहासकार तथा दार्शनिक विल दुराँ (Will Durant) को पुस्तक हो:---‘सभ्यताको कथा: हाम्रो पूर्वीय सम्पदा ‘। यसमा लेखक भन्छन्: भारतमा मोहम्मदनहरूको जीत सम्भवत: इतिहासको सबैभन्दा रक्तरञ्जित घटना (bloodiest story in history) हो। इस्लामिक इतिहासकार तथा विद्वान्हरूले खुसी र गौरवका साथ यी कुराहरूको अभिलेख गरेका छन्-हिन्दुहरूको हत्या, जबर्जस्ती धर्मपरिवर्तन गरी इस्लाम बनाइएका घटना, हिन्दू नारी र केटाकेटीलाई अपहरण गरी दासत्वमा पारिएका प्रसङ्ग र हिन्दू मन्दिरहरू ध्वस्त पारिएका उदाहरण । लाखौं हिन्दूहरूलाई तरवारको भयमुनि पारेर मुसलमान बनाइयो । ‘इस्लामका लडाकूहरू’ले यस्ता कार्य सन् ८०० र सन् १७०० बीचको कालखण्डमा गरेका हुन् ।
फ्रान्सेली लेखक फ्राँस्वा गोएतियर ( Francois Gautier ) ले सन् १९९६ मा प्रकाशित किताबमा लेखेका छन् :--भारतमा मुसलमानहरूले गरेको जस्तो जातीय सामूहिक कत्लेआमका घटना इतिहासमा अन्यत्र भेटिँदैन । हिटलरको नाजी सेनाले यहुदीहरू मारेकोभन्दा ठूलो घटना हो यो; टर्केलीहरूले अर्मेनियालीहरूको सफायालाई बिर्साउने विपत्ति थियो त्यो । दक्षिण अमेरिकामा स्पेन र पुर्तगालका आक्रमणकारीहरूले स्थानीय बासिन्दाहरूउपर गरेको हिंसात्मक ज्यादतीभन्दा भीषण अत्याचार थियो हिन्दूहरूमाथिको मुसलमानको दमन ।
अर्का फ्रान्सेली इतिहासकार फर्नाण्ड ब्राउडेल (Fernand Braudel) को सन् १९९५ छापिएको किताबमा भारतमा इस्लामिक शासन अत्यन्त हिंसात्मक रहेको थियो भनेर लेखेका छन् । हिन्दूहरूमाथि क्रूर र पाशविक शासन-शैली थियो मुस्लिम शासकहरूको । मन्दिरहरू भत्काएर ती ठाउँमा मस्जीद निर्माण गरिन्थ्यो । जबर्जस्ती धर्मान्तरणद्वारा हिन्दूहरूलाई मुसलमान बनाउनु सामान्य कुरो हुन्थ्यो । कहीं कतैबाट विद्रोहको स्वर सुनियो भने त्यताका घर-बस्ती जलाइदिने, गाउँघर उजाड तुल्याइदिने, लोग्नेमान्छे जतिलाई मारिदिने र स्वास्नीमान्छे जतिलाई दासी गराउने जस्ता कुकर्म गर्ने गरिन्थ्यो ।
फ्रान्सकै इतिहासकार हुन् अलाँ दानिलाउ (Alain Danielou) । उनको पुस्तकमा सन् ६३२ मा मुसलमानहरू भारतमा पसेयताको इतिहास रक्तरञ्जित भएको कुरा उल्लेख छ । काटमार र विनासको लामो श्रृङ्खला चलाउनेहरूले आफ्नो ‘धार्मिक मत’ को प्रतिरक्षाको लागि यसो गरेको हो भन्ने गर्थे । उनीहरू आफ्नै देउता मात्र देउता ठान्ने, अर्काकोलाई नमान्ने र इस्लाम धर्मइतरका मानिसलाई जङ्गली वा असभ्य मान्दथे । नास्तिक ठान्थे ।
इर्फान हुसेन पाकिस्तानका लेखक हुन् । ‘विगतका दानव’ शीर्षक आलेखमा उनी भन्छन्:-- हुन त इतिहासमा भएका घटनालाई त्यसै कालखण्डको परिवेशमा लेखाजोखा गरिनुपर्ने हुन्छ, तथापि रक्तरञ्जित समयमा भएका भए पनि हिन्दूहरूप्रति शासकहरूमा दया, करुणा लेश मात्र पनि नहुनु राम्रो होइन । हिन्दूहरूले कहिले सिन्ध र दक्षिण पञ्जावमाथि बलपूर्वक विजय हासिल गर्दै हिंड्ने अरबहरूको बाटोमा पर्नु प-यो त कहिले अफगानिस्तान छिचोलेर आउने मध्य-एसियाका हमलावरहरूको कोपभाजन हुनुप-यो । त्यो हिन्दूहरूको दुर्भाग्य थियो । हाम्रा इतिहासका पुस्तकमा वीरपुरुष भनेर चित्रित कतिपय व्यक्तिहरूले डरलाग्दा अपराध गरेका छन् । घज्नीका महमुद, कुतुबुद्दिन ऐवाक, कासिम र तुगलकहरूका हात रगतमा लतपतिएका छन्, र अझै सफा भएका छैनन् ।
हिन्दूहरूको आँखाले हेर्दा मुस्लिम आक्रमणले तिनीहरूमाथि अनर्थ र घोर अन्याय भएको छ । मन्दिरहरू पाताल भएका छन्, मूर्तिहरू फुटाइएका छन्,महिलाहरू बलात्कारको शिकार भएका छन्, पुरुषहरू कि त मारिएका छन् कि दास बनाइएका छन् । घज्नीको महमुदले एकपल्ट सोमनाथमा छापामार शैलीमा पसेका बखत एकै पटकमा त्यस बस्तीका सबै ५० हजार मानिसलाई मार्न लगायो । यी सबै आक्रमणकारीहरू भन्ने गर्थे: [इस्लाम] धर्ममाविश्वास नगर्नेहरूलाई प्रहार गर्नु, आघात पार्नु त हाम्रो कर्तव्य नै हो । तर यथार्थमा त्यस्तो ‘कर्तव्य’को आवरणमा जिहादीहरू मान्छे मार्ने र लूटपाटको काम मात्र गर्थे ।
अफगान शासक महमुद अल घज्नीले सन् १००१ र १०२६ बीचको अवधिमा भारतवर्षमा १७ पल्ट हमला ग-यो ; उसको सचिव तारिख-इ-यमानीले लेखेको किताबमा क्रूर हिंसाको झलक दिने घटनाहरूको वर्णन छ, जसमध्येको एक यस्तो छ : विधर्मीहरूको रगतले थानेसर शहरछेउको खोलो नै रातो भयो, नदी पवित्र मानिए पनि तिनले त्यो पानी पिउने अवस्था रहेन...विधर्मीहरू किल्ला छोडेर भाग्न लागे तर कति काटिए कति डुबाइए । झण्डै ५० हजार मारिए होलान् ।
हसन निजाम-ए-नैशापुरीको समकालीन अभिलेखमा दिल्लीको पहिलो सुल्तान कुतुबुद्दिन ऐवाक (जो टर्केली-अफगान मूलको थियो) का ज्यादतीको वर्णन गरिएको छ । सन् ११९४ देखि १२१० सम्म दिल्लीको सुल्तान छँदा उसले मेरठ कब्जा ग-यो र त्यहाँ भए-भरका मन्दिर भत्काउन लगायो र ती स्थलहरूमा मस्जीदहरू ठड्याइयो । अलिगढ शहरका हिन्दू बासिन्दाहरूलाई तरवारको त्रासमा पारेर मुसलमानमा परिवर्तन गरियो । अटेर गरी हिन्दू मान्यतामै बस्न खोज्नेहरूको टाउको गिंडियो ।
पर्सियाका इतिहासकार वासफ्को पुस्तकमा लेखिएको छ: खिल्जी वंशको दोस्रो शासक अलाउद्दिन खिल्जी ( सन् १२९५-१३१६ ) ले काम्बेको खाडीनिकटको कम्बायत शहर कब्जा गर्नासाथ त्यहाँका सबै हिन्दू वयस्क बासिन्दालाई ‘इस्लामको गौरव’ का लागि काटेर मार्न लगायो; रगतको खोलो बगायो । र, महिलाहरू सबैलाई तिनका सुन,गहना सहित आफ्नो घरमा लग्यो ; यसरी करिव बीस हजार हिन्दू युवतीलाई उसले निजी दासी बनाएर राख्यो ।
भारतीय लेखक निर्मल महाजनको पोस्टिङ लगायतका सामग्रीमा आधारित