
कास्कीको हेमजाका घनश्याम तिमिल्सिनालाई अहिले नेपालमै विदेशसरी छ । विगतमा साउदी, मलेसिया र कतारमा गरी ९ वर्ष मजदुरी गरेका उनलाई स्वदेशमै केही गर्ने हुटहुटीले अहिले सफलताको बाटोमा डोर्याएको छ ।
कास्कीमै सबैभन्दा ठूलो गाई फार्म चलाएका घनश्यामको दिनचर्या गाईसहित भैंसी र बाख्रापालन तथा खेतीपातीमा बित्छ । कुनै बखत रोजगारीका लागि विदेशिएका उनले अहिले आफैंले २५ जनालाई रोजगारी दिएका छन् ।
कृषि व्यवसायमा हालसम्म ८ करोड लगानी गरिसकेको बताउने उनले मासिक ६ लाख बढी आम्दानी गर्छन् । घनश्याम भन्छन्, ‘कमाउनका लागि विदेशमा नै जानुपर्छ भन्ने केही रैनछ । विदेश जाने पैसाले स्वदेशमै पनि लगानी लगाउने हो भने यही गर्न सकिँदो रहेछ ।’
विदेशी भूमिमा पसिना बगाएर नेपालमै केही गर्ने सोचले फर्केका उनले शुरूआतमा साझेदारीमा व्यवसाय सञ्चालन गरेका थिए । हाल उनको व्यवसाय एकल भएको छ ।
त्यसबेला पोखराको मुख्यबजार चिप्लेढुंगा–महेन्द्रपुलदेखि ५०० मिटर नजिकै उनले हेमजाकै मधु त्रिपाठीसँग मिलेर हेम्जा गाई फार्म सञ्चालन गरेका थिए । करीब ५० लाख रुपैयाँ लगानीमा सञ्चालित फार्ममा दूध किन्न सर्वसाधारणको ओइरो लाग्थ्यो । फार्ममा घनश्यामको मात्रै २३ लाख रुपैयाँ लगानी परेको थियो ।
पोखरा बजारको मुख्यकेन्द्रमै रहेको फार्ममा २६ वटा गाई थिए । एउटै गाईको मूल्य १ लाख रुपैयाँसम्म पर्थ्यो त्यसबेला । जर्सी र होलस्टिनबीचको क्रसिङबाट उत्पादित गाई उनीहरूले इलाम, झापा र चितवनबाट खरिद गरी ल्याएका थिए् । फार्ममा अन्य ३ जना कामदार थिए ।
‘हामीले दूधमा कत्ति पनि पानी नहाली ग्राहकलाई बेच्यौं,’ त्यसबेला नै सफलताको बाटो डोरिनुको रहस्य खोल्दै उनले लोकान्तरसँगको कुराकानीमा भने, ‘त्यसैले पोखराको टाढा–टाढाबाट समेत दूध किन्न आउने हुँदा माग थेप्न सकिएन । बिस्तारै गाईको संख्या थप्यौं । अहिले यहाँसम्म आइयो ।’
करीब ४ वर्षसम्म त्यहाँ सञ्चालनपछि उनका सहयात्री मधु अमेरिका गए । घनश्यामले एकल स्वामित्व लिएर आफ्नै घर हेमजा फर्किए । त्यहाँ आफ्नो ७ रोपनी जमिनमा पुनः हेमजा गाई फार्म प्रालि नाममा फर्म चलाएका हुन् । हेमजामा ४ वर्षदेखि सञ्चालित फार्ममा १५० गाई, ५० भैंसी, ४० बाख्रा छन् । त्यस अलावा ३५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्छन् ।

उत्पादित दूध तथा तरकारी बिक्रीका लागि नजिकै छ पोखरा बजार । त्यहाँ पुर्याउन सकिएन भने पनि गाउँघरमै बिक्री हुन्छ । नजिकै आफ्नै बिक्री केन्द्र पनि छ । गाईवस्तुलाई खुवाउने घाँसका लागि २०० रोपनी जग्गा भाडामा लिएका छन् । त्यहाँ विभिन्न जातका घाँस बिरुवा रोपिएको छ ।

नेपालमै केही गरी युवा वर्गलाई प्रेरित गर्ने सोचका साथ आफूहरूले व्यावसायिकरूपमा गाईपालन शुरू गरेको घनश्याम बताउँछन् । उनको अनुभवमा विदेशमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने नेपालीहरू यहाँ काम गर्न हिच्किच्याउँछन् । तर उनलाई त्यस्तो लाग्दैन । बरु बिहान २ बजे नै उठेर फार्ममै रमाउँछन् । ५ बजेसम्म गाईभैंसी दुहेर सकिन्छ । दूध दुहुन उनले मशिन प्रयोग गर्छन् । त्यसपछि मार्केट जान्छन्, गाडी लिएर । यतिबेलासम्म बिहानको ९ बजिसकेको हुन्छ । त्यसपछि खाना खाइसकेपछि खेतबारीमा घाँस काट्न निस्कन्छन् । दिउँसो २ बजेसम्म फार्ममा फर्किसक्नुपर्छ । दिउँसो २ देखि ४ बजेसम्म दूध दुहुन्छन् । फेरि मार्केट पठाउँछन् । आफू फार्ममा दानाचोकर दिनतर्फ लाग्छन् । रातिको ८ बजिसकेको हुन्छ अनि खाना खाएर भोलिपल्ट बिहान २ बजे उठ्नका लागि सुत्छन् ।

कोरोना महामारीले भने व्यवसायमा केही प्रभाव पारेको छ । विगतमा पराल, चोकर सस्तो थियो, अहिले एक्कासी महंगो भएको छ । यसले लागत पनि बढ्ने हुँदा विगतमा भन्दा कम आम्दानी हुन्छ । १ हजार २०० पर्ने चोकरलाई अहिले १ हजार ८०० तिर्नुपर्छ । ४० हजारमा आउने पराल (करीब ५ टन) अहिले १ लाख १० हजार तिर्नुपर्छ । गाईवस्तुको उपचारसँगै कामदारको तलब, घाँस, चोकर, ढुवानी लगायतमा उनको खर्च छ ।
ठूलो रकम खर्चेर विदेशमा जानुभन्दा स्वदेशमै खेतीकिसानी गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘बाहिर पैसा जान्थेन, युवाहरूले रोजगारी पाउँथे । अस्टे«लिया, अमेरिका जान्छु भन्नेहरू त्यही पैसा यहाँ लगानी गरेर फलफाप हुन्छ ।’

उनले उन्नत जातको बोयर क्रस गरिएको बाख्रापालन गरेका छन् । एउटै बाख्राको मूल्य ५० हजार रुपैयाँसम्म पर्छ । बोयर जातको बोका लगाउँदा एउटै बाख्रा ६ महिनामै करीब ५० हजार मूल्य बराबरको हुने उनले बताए ।
घनश्यामले भावी योजना छ – फार्म अझै विस्तार गर्ने । उनले भने, ‘आगामी वर्षमा अझै विस्तार गर्ने योजना छ । अग्र्यानिक तरकारी खेतीमा जोड दिनेछु ।’
स्वदेशकै माटोमा पसिना बगाएर मासिक मनग्ये आम्दानी गरेका घनश्यामको मेहनत देखेर छिमेकी पनि दंग छन् । उनीहरू घनश्यामको प्रशंसा गर्न चुक्दैनन् । पैसाको लागि घरबार छाडेर वर्षौसम्म विदेशिनुभन्दा स्वदेशमै पशुपालन तथा कृषि व्यवसायमा युवाहरू आकर्षित हुनु साँच्चिकै सबैको लागि प्रेरणाको स्रोत हो ।