
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोसिलो खाद्य सामग्री वितरण गरेको छ ।
महामारीविरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले पोषण सामग्री प्रदान गरेको हो ।
सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पुर्याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।
मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ ।
बुटवलले मुलुकमै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यो कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य आफैं स्वास्थ्यकर्मीहरू लिएर सुत्केरी तथा गर्भवती महिलाको टोल एवम् पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री प्रदान गर्दै आएकी छन् ।
नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाका जानकारी, ल्याबसहितको निःशुल्क स्वास्थ्य चेकजाँच र पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख आचार्यले बताइन् ।
नगरका विभिन्न वडामा रहेका लक्षित समूहका करिब २३० गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने उनको भनाइ छ ।
बुटवलले यसअघि लकडाउनको अवधिमा पनि आर्थिक रुपमा विपन्न तथा श्रमिक परिवारका ८१ जना गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो ।