
भारत र चीनबीच पोहोर साल जुन महिनामा भएको हिंस्रक भिडन्तपछि सैन्य स्तरमा ११ चरणको वार्ता भइसकेको छ । तैपनि सीमाविवादको कुनै हल निस्केको छैन ।
बुधवार भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले त्यहाँको रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै गलवानमा हालैको दिनमा चीन र भारतका सैनिकहरूबीच भिडन्त भएको खबर दिएको छ ।
चिनियाँ जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखालाई धेरै ठाउँमा उल्लंघन गरेको पनि उक्त समाचारमा उल्लेख गरिएको छ । आफूले सहमतिअनुसार छोडेको कतिपय ठाउँमा चिनियाँ सेना पुनः आइपुगेको र मे तथा जुन महिनामा दक्षिणी लद्दाखको देम्चोक र चुमारमा भारतीय सैनिकहरूले चिनियाँ सेनाको उपस्थिति बढेको सन्देश दिएको भनी समाचारमा लेखिएको छ ।
बिजनेस स्ट्यान्डर्डले सेनाका अधिकृतहरूसँग पनि कुरा गर्दा चिनियाँ जनमुक्ति सेनाले एस–४०० एयर डिफेन्स मिसाइलका दुईवटा रेजिमेन्ट लद्दाख नजिक तैनाथ गरेको लेखेको छ । त्यस रुसी हतियार प्रणालीले लद्दाखको जुनसुकै ठाउँमा भारतीय विमानलाई खसाउन सक्ने बताइएको छ ।
तर भारतीय सेनाले गलवान तथा लद्दाखका अन्य कुनै पनि भागमा हालैको समयमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त नभएको स्पष्ट पारेको छ । बिजनेस स्ट्यान्डर्डको समाचार गलत तथा भ्रामक दाबीका साथ प्रकाशित भएको र संवाददाताको दुराशय यसबाट झल्किएको सेनाको भनाइ छ ।
उक्त समाचार लेख्ने भारतीय सेनाका सेवानिवृत्त काभालरी कर्नेल अजय शुक्ला भने सेनाको खण्डनका बावजूद आफ्नो दाबीमा अडिग रहेका छन् । उनले अनलाइन पत्रिका द वायरका करण थापरसँगको भिडियो अन्तर्वार्तामा लद्दाखमा चिनियाँ सेना गर्मी लागेसँगै फर्किएको र भारी मात्रामा हातहतियार तथा बन्दोबस्तीका सामानका साथ सुसज्जित रहेको र कुनै पनि बेलामा भिडन्त हुन सक्ने बताएका छन् ।
भारतका अन्य सञ्चारमाध्यमले पनि लद्दाखका विभिन्न भागमा सीमापारि चिनियाँ सैनिकहरूको उपस्थिति बढेको खबर दिएका छन् । युद्धका लागि तम्तयार चिनियाँ सेना सीमामा रहेको कटु यथार्थले भारतलाई तनाव दिएको छ ।
प्रश्न उठ्छ, चिनियाँ सेनाले किन यसरी भारतीय सीमामा युद्धस्तरको तैनाथी गरिरहेको हो ? यससम्बन्धका विभिन्न विश्लेषणहरू पाइन्छन् ।
एकथरीको मतमा चीनले अमेरिकासँगको संघर्षका लागि तयारी गर्न भारतलाई उदाहरण बनाउन खोजेको छ । फाइनान्सियल टाइम्स पत्रिकाका पूर्व बेइजिङ ब्युरो प्रमुख रिचर्ड मकग्रेगोर चिनियाँ जनमुक्ति सेनाले आफ्नो क्षमताको परीक्षण गर्नका लागि भारतसँग भिडन्त गर्न खोजेको बताएका छन् ।
अमेरिका र चीनबीच शीतयुद्धको स्थिति निर्माण भएको भनी अमेरिकी थिंकट्यांकहरूले बताइरहँदा चीनले भारतमाथिको सैन्य कारवाहीमार्फत अमेरिकालाई रणनीतिक सन्देश दिएको देखिन्छ । पहिलेको शीतयुद्धमा अमेरिकाले सोभियतको सामना गर्नका लागि चीनलाई साथ लिएको थियो । त्यो इतिहासको साक्षी भएको नाताले चीनले अहिले अमेरिकालाई आफूविरुद्धको कथित शीतयुद्धमा भारतको साथ लिन खोज्नुको औचित्य छैन भनी सन्देश दिएको हुन सक्छ ।
अमेरिकी नेतृत्वको क्वाडलाई चीनले आफूविरुद्धको रणनीतिक तथा सामरिक गठबन्धन भएको आकलन गरिरहेको छ । त्यसैले क्वाडका सदस्य मुलुकहरू भारतलाई सैन्य माध्यमले अनि अस्ट्रेलियालाई आर्थिक माध्यमले चीनले दबाबमा राख्न खोजेको जस्तो देखिन्छ ।
त्यसो त भारतलाई स्थलनाकामा अल्झाएर जलक्षेत्रमा आफूविरुद्धको शक्तिका रूपमा उदय हुन नदिने रणनीति चीनले लिएको हुन सक्ने पनि केही विश्लेषकहरूको कथन छ । भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले एक वेबिनारमा यस्तो अनुमान गरेका हुन् । हिन्द महासागरमा आधिपत्य कायम गर्न खोजिरहेको चीनले भारतबाट आउन सक्ने चुनौतीलाई रोक्नका लागि स्थलनाकामा घाँटी अँठ्याएको हुन सक्ने उनको भनाइ छ ।
उनको यस भनाइलाई अमेरिकाको थिंकट्यांक स्टिमसन सेन्टरमा चाइना प्रोग्रामकी निर्देशक युन सुनको लेखले पुष्टि गर्छ । वार अन द रक्स नामक अन्लाइन पत्रिकामा पोहोर साल छापिएको उनको लेखमा यस्तो उल्लेख गरिएको छ:
हिमालय क्षेत्रमा भिडन्त गर्ने समय र यसको प्रकृतिले चीनको रणनीतिक आकलन तथा तत्कालीन अभीष्टका विषयमा महत्त्वपूर्ण प्रश्नहरू उठाएको छ । तत्कालका लागि चीनले भारतसँगको सीमामा स्थायी संरचना बनाउने काममा रोक लगाउन खोजेको देखिन्छ भने दीर्घकालीन रणनीतिका रूपमा चीनले भारतलाई स्थलक्षेत्रको शक्तिराष्ट्र (कन्टिनेन्टल पावर) का रूपमा सीमित गर्न खोजिरहेको छ । अर्थात् भारतलाई जलक्षेत्रको शक्तिराष्ट्र (मेरिटाइम पावर) बन्न नदिने चीनको दीर्घकालीन रणनीति देखिन्छ ।
विशेषगरी भारतले लेहलाई काराकोरम पाससँग जोड्ने रणनीतिक रूपमा महत्त्वपूर्ण तथा सबै मौसममा चल्ने २५५ किलोमिटर लामो दार्बुक–श्योक–दौलत बेग ओल्डी सडक बनाएपछि त्यसलाई निगरानी गर्नका लागि चीनले सीमामा स्थायी संरचना बनाउने र भारतीय सेनाले गश्ती गरिरहेका ठाउँमा समेत रोक्ने काम गरिरहेको देखिन्छ ।
अफगानिस्तानबाट अमेरिका बाहिरिएको स्थितिमा काराकोरम पास हुँदै पाकिस्तानअधीनस्थ कश्मीरसँग जोडिने चीनको सडक सञ्जालमा भारतबाट कुनै व्यवधान नआओस् भन्ने चीनको चाहना हो । बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतको चीन–पाकिस्तान आर्थिक कोरिडोर अफगानिस्तानमा चीनको परियोजना विकासको महत्त्वपूर्ण सम्पर्क सडक हो र त्यसको रक्षाका लागि चिनियाँ जनमुक्ति सेनाले कुनै पनि हालतमा ठाउँ छोड्ने देखिन्न ।
कश्मीर र ताजिकिस्तानबीचको महत्त्वपूर्ण वाखान कोरिडोर (अफगानिस्तान) को सुरक्षाका लागि पनि त्यसभन्दा दक्षिणमा रहेको काराकोरम पासमा चीनको उपस्थिति बलियो हुनुपर्छ र भारतले त्यहाँ पहुँच पाउँदा चीनलाई रणनीतिक क्षति पुग्न सक्छ । त्यसलाई रोक्न उत्तरी लद्दाखमा चीनको सैन्य उपस्थिति झनै घनीभूत भएको हो ।
भारतका सामरिक मामिलाविद् प्रवीण साहनी भारतविरुद्ध चीन तत्कालै युद्धमा नजाने र आणविक हतियार प्रयोग नगर्ने बताउँछन् । भारत र चीनबीच युद्ध अवश्यम्भावी छ तर त्यो परम्परागत किसिमको युद्ध हुने, आणविक युद्ध नहुने उनको कथन छ । बहुपक्षीय, बहुक्षेत्रीय र बहुदिशागत युद्ध हुने उनी बताउँछन् । त्यो युद्ध नहुन्जेल चीनले भारतलाई सूचना युद्ध वा मनोवैज्ञानिक युद्धको दबाबमा राखिरहने साहनीको दाबी छ ।
त्यसैले भारतमाथि चीनको सैन्य दबाब कायम रहिरहने देखिन्छ । रणनीतिक स्वायत्तताको उपयोग गर्दै भारतले अमेरिकाप्रतिको अतिनिर्भरतालाई कम गर्ने र चीनसँगको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने नै उत्तम उपाय भएको विश्लेषकहरूको मत छ ।
चीनसँगको युद्ध भएको खण्डमा अमेरिका सहयोग गर्न आउँदैन भनी भारतका रक्षा मामिलाविद् भरत कार्नाडले गरेको दाबीलाई भारतीय संस्थापनले मनन गर्नु जरूरी देखिन्छ ।