
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार पार्टीका निर्वाचित २२ सांसदहरुलाई मुख्य तीन वटा विषय उल्लेख गरेर स्पष्टीकरण सोधिएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार वैशाख २७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा किन अनुपस्थित भएको भनेर सोधिएको छ ।
ओलीले विश्वासको मत लिने समयमा एमालेका माधव नेपाल पक्षीय नेताहरु अनुपस्थित भएका थिए । सोही कारण ओलीले ९३ मत मात्रै पाएका थिए ।
त्यसैगरी, पार्टी अनुशासन उल्लंघन गरिएको विषयमा अर्को प्रश्न सोधिएको छ । यसमा एमाले स्थायी कमिटी र संसदीय दलको निर्णय विरुद्धको गतिविधिको विषय स्पष्टीकरणमा समेटिएको छ ।
त्यसैगरी, स्पष्टीकरणमा अर्को प्रश्न पार्टी विरोधी गतिविधिमा किन सहभागी भएको भनेर सोधिएको तामाङले लोकान्तरलाई जानकारी दिए ।
सबैलाई एउटै व्यहोराको स्पष्टीकरण पत्र भने पठाइएको छैन । तामाङले भने, ‘जो व्यक्ति जुन विषयसँग सम्बन्धित छ त्यही विषय उल्लेख गरेर फरक फरक ब्यहोराको स्पष्टीकरण पठाउन लागिएको छ ।’
एमालेको सोमबार बसेको १० औं केन्द्रीय कमिटीको बैठकले आइतबारको संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
एमालेको केन्द्रीय कार्यालयले इमेलमार्फत २२ जना सांसदहरुलाई पत्र पठाउन लागेको तामाङले जानकारी दिए । स्पष्टीकरणमा पर्नेमा ओली पक्षकै भनेर चिनिएका सांसद समेत रहेका छन् । आइतबार विश्वासको मत दिँदा नेपाल पक्षसहित ओली पक्षका प्रेम आलेसहितका सांसद समेतले फ्लोर क्रस गरेका हुन् ।
को–को हुन एमालेले स्पष्टीकरण सोधेका २२ जना सांसद ?
१. माधव कुमार नेपाल
२. विरोध खतिवडा
३. मेटमणि चौधरी
४. गोपाल बम
५. भवानी खापुङ
६. कलिला खातुन
७. मुकुन्द न्यौपाने
८. रामकुमारी झाँक्री
९. प्रेम आले
१०. विनादेवी बुढाथोकी
११. किसान श्रेष्ठ
१२. समनिा हुसेन
१३ कल्याणी खड्का
१४. सरला यादव
१५. धनबहादुर बुढा
१६. लक्ष्मी चौधरी
१७. जीवनराम श्रेष्ठ
१८. पुष्षकर्ण कायस्थ
१९. निरा जैरु
२०. पार्वती विसङ्खे
२१. हिराचन्द्र केसी
२२. कृष्णलाल महर्जन