खोलो तरेपछि बिर्सिएका लौराहरू …

आनन्दराम पौडेल
आनन्दराम पौडेल

पौडेल समसामयिक विषयमा कलम चलाउँछन् ।

दाङको बंगलाचुली गाउँपालिका–२ खाराकी ३१ वर्षीया कुमारी नेपालीलाई निद्रा परेन।

दुई छोरा र एउटी छोरीले बेलुकाको खाना खाएर एक छिन स्कूलको होमवर्क गरे । त्यसपछि मस्त निद्रामा परे ।


Advertisement

यहाँ गुजारा चल्नै नसक्ने भएपछि उनका श्रीमान साउदी अरबमा छन् ।

निद्रा नपरेपछि उनले विगत सम्झिन थालिन् । विगतकै सम्झनामा डुबुल्की लगाइरहिन्।


Advertisement

कुमारीले सम्झिइन्, युद्ध लड्दाका सहकर्मीहरूलाई । आफूजस्तै पीडा भोगेकाहरूलाई । उनीहरूसँगको भेट र त्यसक्रममा भएका संवादहरूलाई पनि याद गरिन्–

माओवादी नेताहरू, जो अहिले ऐश्वर्यभोगमा चुर्लुम्म डुबेका छन्, तिनैले हिजो हामीलाई मीठा सपना देखाए । आदर्श छाँटे।

एक हिसाबले भन्दा हाम्रो ब्रेन वाश नै गर्न सफल भए। होला भनी पत्याएर म माओवादी बनें। लडाकु बनें।

कपिलवस्तुमा भएको भिडन्तमा गोली लाग्दा मेरो बायाँ आँखा गुम्यो।

नीमबहादुर नेपालीजी पनि त्यसैगरी यी माओवादी बन्नुभएको रहेछ। उहाँ पनि लडाकु नै हुनुहुन्थ्यो। उहाँका आनीबानी, आचरण, चरित्र र व्यवहार ठीक लाग्यो। हामीले विवाह गर्‍यौं

२०६३ सालपछि बल्ल हाम्रो आँखा खुल्यो। हामीले छ्याङ्गै देख्यौं। नेताहरूले भ्रम र भ्रान्तिमा पारेर हामीलाई प्रयोग गरेका रहेछन्।

२०६३ पछि यिनीहरू ऐश्वर्यभोगमा लिप्त हुन थाले र हामीलाई बिर्से। नेताहरूले 'जनयुद्ध' भन्थे। केको जनयुद्ध हुन्थ्यो ? आफ्नो स्वार्थका लागि चलाएको हिंसात्मक गतिविधि रहेछ।

माओवादीमा लागेर एउटा आँखा गयो। शरीरमा जताततै छर्रा छन्। शरीरले राम्रो काम गर्दैन। दर्दनाक अवस्था छ।

****​

तुलसीपुर उपमहानगरपालिका–१० राईखल्यानका भूमिलाल चौधरी पनि युद्धमा होमिएका थिए। पछि सेक्सन कमान्डर भए। अहिले ३६ वर्षका भएछन्।

लडाईंका क्रममा सिरहाको बन्दीपुर र म्याग्दीको बेनीमा गोली लागेर घाइते भएका थिए। उनको बायाँ हात चल्दैन।

उनलाई भेट्न गएको थिएँ । श्रीमती, एक छोरा र छोरी रहेछन्। उनको पनि बिजोग नै रहेछ। 

‘कतै काम पाइन्छ कि भन्यो एउटा हात नचल्नेले कसरी काम गर्छ र ? भनेर काम नै दिँदैनन्,’  उनले भने।  कमाइ नभएपछि घरमा सबैले हेलाँ गर्छन्। परिवार कसरी पाल्नु ? अन्य व्यवहार कसरी चलाउनु ?’ भूमिलाल चौधरीले भने। मैले जस्तै उनले पनि आफ्नो जीवन बर्बाद पारेको सोचेका रहेछन् ।

****​

घोराही उपमहानगरपालिका–१७ गैरागाउँका केशव चौधरीलाइ भेट्न गएँ। उनी अहिले ३७ वर्षका भएछन्। उनी पनि युद्धका ठूल्ठूला लडाईंमा अग्रमोर्चामै थिए। 

२०५९ जेठ १३ मा भएको रुकुमको खारास्थित सैनिक ब्यारेक आक्रमणमा पनि उनी अग्रमोर्चामै थिए । त्यहीँ गोली लाग्दा ब्रिगेड कमान्डर रहेका चौधरीको बायाँ आँखा गुम्यो । शरीरभरी अहिले पनि बमका छर्रा छन्। उनलाई जीवनभर औषधि खाइरहनुपर्ने भएको छ। अहिले उनलाई ज्यान पाल्नु कि औषधि खानु भन्ने चिन्ता छ।

‘मर्नु न बाँच्नु भएको छु। खाना खानै समस्या छ;औषधि कहाँबाट खाने भन्ने चिन्ता छ’, उनले भने।

नेताहरूले स्वार्थका लागि प्रयोग गरे । हामी अहिले अधमरो अवस्थामा छौं । देश झन्-झन् बर्बाद भैरहेको छ,तर नेताहरूचाहिँ ऐश्वर्य भोगमा चुर्लुम्म छन्,’ उनले आक्रोश पोखे।  

उनकी श्रीमती लक्ष्मी चौधरीको पूरै समय उनको र छोराको स्याहारमा बित्नेरहेछ। दुईटा सन्तानमध्ये एउटा छोरो पनि अपाङ्ग रहेछ। 

‘श्रीमान् र छोरालाई एकछिन पनि छाड्न मिल्दैन,रोईरोई बस्नुपरेको छ,’लक्ष्मीले भनिन्। श्रीमान् र छोराको स्याहार गरिरहनुपर्ने भएकाले उनले अन्य काम गर्न पाएकी छैनन् । ‘कमाइ हुने कुनै काम गर्न पाइँदैन,कसरी बाँच्ने भन्ने चिन्ताले सताइरहन्छ,’लक्ष्मीले पीडा पोखिन्।

****​

लमही नगरपालिका–७ नयाँबस्तीका सुन्दर चौधरीमाओवादी युद्धमा होमिएका थिए। उनलाइ भेट्न गएँ। उनी अहिले ३६ वर्षका भएछन्। दाङको सतबरियास्थित सशस्त्र प्रहरी क्याम्पमा आक्रमण गर्ने क्रममा घाइते भएका थिए। चिउँडोबाट पसेको गोली नाक हुँदै टाउकोबाट निस्केको थियो। 

‘भाग्यले ज्यान त बच्यो तर बाँचेजस्तो भएको छैन। नेताहरूले यतिसम्म धोका देलान् भनेर सोचेका थिएनौं। उनीहरू सुविधा सम्पन्न भएका छन् । भोगविलाशमा छन् । हामीलाई बाँच्नै सास्ती भएको छ,’ सुन्दर चौधरीले आक्रोश पोखे।

****​

एकदिन फेरि खुशीराम चौधरीलाई भेट्न गएँ। उनी घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीमा बस्छन्। ४६ वर्षका भएछन्।

खुसीराम चौधरी २०६१ चैत २५ मा रुकुमको खारामा भएको सैनिक ब्यारेक आक्रमणमा घाइते भएका थिए । टाउको, छाती र घाँटीमा गोली लाग्यो ।

उनको दायाँ हात र खुट्टा चल्दैन । ‘केही काम गर्न सकिँदैन । जीवनभर औषधि खानुपर्ने भएको छ’  उनले भने। 

‘कमाइ नभएपछि न औषधि गर्न सकिन्छ,न ज्यान पाल्न । नेताहरूले बर्बाद पारे,हामीलाई हेरेनन्,'खुशीराम चौधरीले आक्रोश पोखे ।

****​

एकदिन उदय शेर्पाइलीजीलाई भेट्न गएँ। रुकुम पश्चिम पुर्तिमकाँडाका ४३ वर्षीय उदय शेर्पाइली अहिले तुलसीपुर–१८ हेमन्तपुरमा बस्छन्।

२०५७ सालमा  रुकुमकोट प्रहरी चौकी आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । बायाँ कोखाबाट पसेको गोली दायाँ कोखाबाट निस्किएको थियो। ज्यान अपाङ्ग भएपछि उनी सेना समायोजनका क्रममा अवकाशमा परे। शिविरबाहिर आएपछि उनी रुकुम फर्कन सकेनन् । 

‘संसार बदल्न हिँडेको मान्छेले देश र जनतालाई धोका दिएर आफ्नो गाउँ फर्कन मन लागेन । यहीँ बस्न थालियो,’  उनले भने। 

‘अहिले जीवन निर्वाह गर्न कठिन भएको छ । त्यो त्याग र बलिदानको सम्मान त भएन नै नेताहरूले ठाडै धोका दिएको महशुस भएको छ,’शेर्पाइलीले आक्रोश पोखे ।

****​

भुलबहादुर विक रुकुमपूर्व हुकामका हुन्।  ३८ वर्षका भएछन्। भुलबहादुर २०५९ कात्तिक २८ मा जुम्लाको खलङ्गामा भएको आक्रमणमा घाइते भएका थिए ।

समयमा उपचार नहुँदा उनको दायाँ खुट्टा काट्नुपरेको थियो । अहिले उनी बैसाखीको भरमा हिँड्छन् । श्रीमती, तीन छोरा र एक छोरीका साथ उनी पनि तुलसीपुर–१८ धनखन्नेमा बस्छन् । 

‘यो अवस्थामा रुकुम बसेर ज्यान पाल्न कठिन हुने भयो । पहाडको उकाली-ओरालीमा गाह्रो होला भनेर यहीँ बसियो,’ उनले भने।  ‘तर यहाँ पनि साह्रै नै कठीन छ । जहान परिवार पाल्न मिल्ने कुनै उपाय छैन।’

कष्टकर जीवन बिताउन बाध्य ती पुराना सहकर्मी सबैको एउटै आवाज रहेछ हामीलाई भर्‍याङ बनाएर नेताहरू माथि पुगे। भर्‍याङ बनिदिने हामी सबैको जीवन नरक बन्यो ।'

****​​

कल्पनामा डुबुल्की मार्दै गर्दा उनका आँखा लरबराउन थाले । लामो सास फेरिन् र आँखा चिम्लिन्।

आनन्दराम पौडेल
आनन्दराम पौडेल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्