
दार्चुलामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ ।
अस्पतालअनुसार तीन स्थानीय तहका ६ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ । मालिकार्जुन र व्यास गाउँपालिकामा एक-एक र महाकाली नगरपालिकाका ६ मा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।
उपचारका लागि पुगेका व्यक्तिको आरडीटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उनको भनाइ छ । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो ।
चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । गत वर्ष देखिएकामध्ये २५ महिला थिए ।
महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी महिला स्क्रबटाइफसको जोखिममा रहेको भट्टको भनाइ छ ।