
पछिल्लो ५ आर्थिक वर्षमा पेट्रोल तथा डिजेल आयातमा मात्रै खर्बौं रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार यो अवधिमा करीब ६ खर्ब रकम बाहिरिएको हो ।
विद्युतीय सवारीसाधनको प्रयोगमा सरकारले बढावा दिन नसक्दा पेट्रोल तथा डिजेलका लागि खर्बौं रकम विनियोजन गर्नु परिरहेको छ ।
पछिल्ला वर्षहरूमा भने कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण पेट्रोल तथा डिजेल कम खपत भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को अन्तिम ४ महिना (२०७६ चैतदेखि २०७७ असार) सम्म मुलुक पूर्ण बन्दाबन्दीमा थियो ।
त्यतिखेर अत्यावश्यक सवारीसाधनबाहेक सार्वजनिक तथा निजी सवारीसाधन विनाअनुमति चल्न पाएनन् ।
२०७७/७८ को शुरूको केही महिना र अन्तिमका केही महिनामा पनि मुलुकमा धेरै क्षेत्रमा निषेधाज्ञा थियो । यस समयमा पनि अत्यावश्यक बाहेकका सवारीसाधन कम मात्रामा चलेका थिए ।
यद्यपि यी आर्थिक वर्षमा पनि अघिल्ला वर्षकै हाराहारीमा पेट्रोल तथा डिजेल आयात भएको देखिएको छ ।
पछिल्लो समय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनको प्रयोग बढ्दै जाँदा पनि पेट्रोल तथा डिजेल आयातको दर बढ्दै गएको हो ।
पेट्रोलमा कुन वर्ष कति रकम बाहिरियो ?
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ५ आर्थिक वर्षमा पेट्रोल आयात गर्दा राज्यबाट एक खर्ब ४४ अर्ब ३२ करोड चार लाख ८४ हजार रूपैयाँ रकम बाहिरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ९१ हजार किलोलिटर पेट्रोल आयात भएको छ । सो परिमाणमा पेट्रोल आयात गर्दा ३२ अर्ब ४४ करोड ३३ लाख ५६ हजार रूपैयाँ बाहिरिएको विभागले जनाएको छ ।
कोरोना महामारीका कारण अर्थतन्त्र ठप्प हुँदा सवारीसाधन आयात कम भएको र यसको प्रयोग पनि कम भएकाले पेट्रोल आयात कम भएको नेपाल आयल निगमले बताएको छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा ५ लाख १२ हजार ७१२ किलोलिटर पेट्रोल आयात भएको छ ।
सो परिणामको पेट्रोल आयात हुँदा यस आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ५७ लाख ९८ हजार रूपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ ।
२०७५/७६ मा मुलुकमा ५ लाख ६७ हजार २८८ किलोलिटर पेट्रोल आयात भएको छ । यस आर्थिक वर्षमा ३५ अर्ब ५४ करोड ८९ लाख ३४ हजार रूपैयाँको पेट्रोल आयात भएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ४ लाख ८५ हजार ३३९ किलोलिटर पेट्रोल आयात भएको छ ।
सो परिणामको पेट्रोल आयात हुँदा राज्यबाट २८ अर्ब एक करोड एक लाख ७७ हजार रूपैयाँ बाहिरिएको पाइएको छ ।
यस्तै आर्थिक वर्ष २०७३/७४ मा चार लाख ४ हजार ८३ किलोलिटर पेट्रोल आयात भएको छ । सो परिमाणको पेट्रोल आयात हुँदा १९ अर्ब ९५ करोड २२ लाख १९ हजार रूपैयाँ बाहिरिएको विभागले जनाएको छ ।
५ वर्षमा साढे चार खर्बको डिजेल आयात
पेट्रोलमा ५ वर्षमा झण्डै साढे एक खर्ब रूपैयाँ बाहिरिँदा डिजेल आयातमा साढे ४ खर्ब रूपैयाँ बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्ममा चार खर्ब ६२ अर्ब सात करोड ६० लाख ६२ हजार रूपैयाँ बराबरको डिजेल आयात भएको छ ।
विभागका अनुसार २०७७/७८ मा ९१ अर्ब ९४ करोड ८१ लाख ९२ हजार रूपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै ‘लाइट’ डिजेल आयल ४५ लाख ७९ हजार रूपैयाँ बराबरको आयात भएको छ ।
आव २०७६/७७ मा ८७ अर्ब ३७ करोड ९८ लाख ७० हजार रूपैयाँको डिजेल आयात भएको छ भने ५८ लाख रूपैयाँको ‘लाइट’ डिजेल आयात भएको छ ।
पछिल्लो ५ वर्षमा सबैभन्दा बढी डिजेल आव २०७५/७६ मा आयात भएको छ । विभागका अनुसार यस आर्थिक वर्षमा एक खर्ब १९ अर्ब ८८ करोड ८४ लाख ८३ हजार रूपैयाँको डिजेल आयात भएको छ ।
२०७४/७५ मा ९६ अर्ब ७३ करोड १३ लाख ९० हजार रुपैयाँको डिजेल आयात भएको छ भने आर्थिक वर्ष २०७३/७४ मा ६६ अर्ब १२ करोड ३४ लाख ६४ हजार रूपैयाँको डिजेल आयात भएको छ ।
वार्षिक १० प्रतिशतले खपत बढ्दै
पछिल्लो समय मुलुकमा सवारीसाधनको समेत आयात बढ्दै जाँदा पेट्रोल तथा डिजेलको खपत बढ्दै गएको छ ।
नेपाल आयल निगमका अनुसार वार्षिक १० प्रतिशतले पेट्रोलको खपत बढिरहेको छ भने डिजेलको वार्षिक करीब ७ प्रतिशतले खपत बढिरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले लोकान्तरलाई जानकारी दिए ।
ग्रामीण तथा शहरी क्षेत्रमा गाडी तथा दुई पाङ्ग्रे सवारीसाधनको प्रयोग बढ्दै जाँदा पेट्रोल तथा डिजेलको खपत बढेको उनले बताए ।
उनले भने, ‘पछिल्लो समय आर्थिक गतिविधि पनि बढ्दै गइरहेको छ, त्यसकारण यातायातका अन्य साधन, विकास निर्माण तथा औद्योगिक क्षेत्रमा डिजेलको खपत बढेको देखिन्छ ।’
प्रवक्ता उपाध्यायका अनुसार अहिले सामान्य अवस्थामा दैनिक दुई हजार ५०० किलोलिटर पेट्रोल खपत भइरहेको छ । महिनामा करीब ६० हजार किलोलिटर पेट्रोल खपत भइरहेको उनले बताए ।
यस्तै डिजेलमा सामान्य अवस्थामा वर्षायाममा करीब एक लाख ४० हजार किलोलिटर खपत भइरहेको छ ।
भदौपछि विस्तारै यो मात्रा बढ्दै जाने उनले बताए । उनका अनुसार सरदरमा एक महिनामा एक लाख ५० हजार किलोलिटर डिजेल खपत भइरहेको छ ।