
बिहेका बेलामा दुलाहाले मात्रै मस्ती गर्नुपर्छ भन्ने छ र ? अमीषा भारद्वाज आजकल यही प्रश्न गर्छिन् ।

अमीषाले आफ्नो बिहेका बेलामा मस्ती गरेको भिडियो बनाएकी छन् र त्यो भिडियो भाइरल भएको छ । युट्युबमा ६० लाखभन्दा बढीले यो भिडियो हेरिसकेका छन् ।
भिडियोमा अमीषाले निकर र दुलहीले लगाउने चोलो लगाएर आइटम गीतमा नाचेको र गुनगुनाएको देख्न पाइन्छ ।
आफ्नो भिडियो भाइरल होला भन्ने अमीषालाई पनि विश्वास थिएन । उनले भनिन्, ‘भिडियो भाइरल हुँदा मलाई पनि अचम्म लाग्यो । त्यसमा त मैले बिहेको दिन मस्ती गरेको मात्र हो । यो कुनै अचम्मको कुरा त हैन ।’
दुलही लज्जावती भएर बस्नुपर्ने चलन बदलिँदै गएको संकेत हुनसक्छ यो । अमीषा भन्छिन्, ‘मेरो भिडियो परम्परागत सोचभन्दा फरक छ । भारतीय दुलहीहरूले लाज मानेर बस्नुपर्ने, नाचगान गर्नु नहुने मान्यता छ । मैले लगाएको जस्तो कपडा पनि परम्परागत सोच भएकाहरूले त्यो दिन लगाउँदैनन् ।’
अमीषाका अनुसार भारतीय दुलहीसम्बन्धी पुरानो सोच धेरैअघिदेखि चलिआएको छ । बिहेको बेलामा दुलही गम्भीर हुनुपर्ने अनि बिदाइका बेलामा रुनुपर्ने मान्यता छ । तर आजकलका दुलहीहरू आफ्नो कथा आफैं लेख्छन् ।
भारतमा बिहेको भिडियो बनाउने चलन पुरानै हो । यो एकदम झन्झटिलो प्रक्रिया हुन्छ । भिडियोग्राफरले बिहेका सबै रीतिरिवाजलाई खिच्नुपर्ने हुन्छ ।
तर आजकल बलिउडका गीतबाट प्रेरित तथा आइटम नम्बर भएका भिडियो बनाइन थालेको छ । यसमा दुलहीहरूको भूमिका दमदार हुँदै गइरहेको छ ।
अमीषा भन्छिन्, ‘मैले फरक सोच बनाएर भिडियो बनाएको हैन । मैले त बस आफूलाई मन लागेको कुरा गरेको हुँ । आधुनिक भारतका युवतीहरू नाच्ने, मद्यपान गर्ने सबै गर्छन् । समय बदलिरहेको छ अनि दुलहीहरू पनि आधुनिक हुँदै गएका छन् ।’
अमीषाको भिडियोमा आएका कमेन्ट हेर्दा पनि मानिसहरूले परिवर्तनलाई स्वीकार गरिरहेको देखिन्छ । धेरै कमेन्टहरूमा प्रशंसाका शब्द छन् भने केही कमेन्टमा चाहिँ भारतीय संस्कृति बिगार्ने कोशिश भनी लेखिएको छ ।
अमीषा भन्छिन्, ‘म ट्रोल गर्नेहरूलाई ध्यान दिन्नँ किनकि इन्टरनेटमा धेरैजना मेरो पक्षमा छन् ।’
अमीषाका पति प्रणव वर्माले यो भिडियो कतिबेला खिचियो थाहै नपाएको बताए । प्रणवले भिडियोको समर्थन गर्दै उनकी पत्नीको भिडियोबाट दुलहीहरूप्रतिको परम्परागत सोच बदलिरहेको सन्देश पाइने बताए ।
अमीषा भन्छिन्, ‘हामीहरूले परम्परागत सोच बदल्ने काम शुरु गरिसकेका छौं ।’
बीबीसी हिन्दीबाट