१३ असार २०८३, शनिबार

आधारभूत तहका स्थायी शिक्षकलाई माविको प्रअबाट हटाउँदा नगरपालिकाविरुद्ध आन्दोलन

आधारभूत तहका स्थायी शिक्षकलाई माविको प्रअबाट हटाउँदा नगरपालिकाविरुद्ध आन्दोलन

नेपाली कांग्रेसको पेशागत संगठन नेपाल शिक्षक संघको राजनीति गर्दै आधारभूत विद्यालय तहका स्थायी शिक्षक बिर्खबहादुर मल्ल कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित लक्ष्मी मावि खैरभट्टीका प्रधानाध्यापक थिए । उनी शिक्षक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन् ।

हालै भीमदत्त नगरपालिकाले दरबन्दी मिलान गर्दै मल्ललाई प्रधानाध्यापकबाट हटायो । माध्यमिक तहको विद्यालयमा आधारभूत तहको शिक्षक प्रधानाध्यापक हुन नपाइने मापदण्डअनुसार मल्ललाई प्रअबाट हटाइएको थियो । तर आफूलाई प्रअबाट हटाएको झोकमा मल्लले कांग्रेसनिकट शिक्षकलाई भेला गराएर नगरपालिकाविरुद्ध आन्दोलन शुरू गराए ।

संघका अध्यक्ष मल्लले सरकारी तलब खाएर सदरमुकाम महेन्द्रनगरमा निजी विद्यालय समेत सञ्चालन गरिरहेका छन् । उनी महेन्द्रनगरको कटानस्थित वेस्टर्न पब्लिक एकेडेमीका सञ्चालक हुन् ।

मल्ल मात्रै होइन, शिक्षक संघकै नेता देवबहादुर खाती आधारभूत तहका शिक्षक भएर लामो समयदेखि वैजनाथ आधारभूत विद्यालय वनकट्टी प्रधानाध्यापक थिए । नगरपालिकाको शिक्षक दरबन्दी मिलानबाट विद्यालयमा वरिष्ठतम शिक्षक आएपछि उनको प्रअ पद खोसियो । त्यसपछि शिक्षक संघकै आन्दोलनमा उनी पनि होमिए ।

दरबन्दी मिलानका क्रममा विद्यालयको शैक्षिक र प्रशासनिक सुधारका लागि वरिष्ठतम शिक्षकलाई जिम्मेवारी दिँदा कांग्रेसनिकट शिक्षकहरू नगरपालिकाविरुद्ध आन्दोलन गरिरहेका छन् ।

‘दरबन्दी मिलानले धेरैको प्रअ पद खोसिएको छ, खाइपाई आएको सुविधा र विद्यालयमा पढाउनेभन्दा राजनीति गर्न सजिलो थियो, अब प्रअ फेरिएपछि नयाँ प्रअले काम हेर्छ, पढाएको हेर्छ, मनपरी घुम्न पाइँदैन भन्ने डर हो,’ एक शिक्षकले भने ।

भीमदत्त नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले दरबन्दी मिलानले लामो समयदेखि तल्लो तहको शिक्षकले माथिल्लो तहको विद्यालय चलाउँदै आएकोमा अब समस्या समाधान भएको बताए । वरिष्ठतम शिक्षकले विद्यालयको नेतृत्व गर्दा विद्यालय र शिक्षकको कार्यसम्पादन समेत राम्रो हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्