
अविरल वर्षाका कारण गएराति पोखराको मुख्य बजार महेन्द्रपुलको सडक भासिएको छ । भासिएको सडक स्थानीयको सहयोगमा प्रहरीले पुरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९, महेन्द्रपुलस्थित गरिमा विकास बैंकको शाखा रहेको भवन अगाडिको पक्की पिच सडक भासिएको हो । करिव ५ मिटर लामो र ३ मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको होे । मुख्य बजार क्षेत्रकै सडक यसरी भासिएपछि स्थानीय त्रसित बनेका छन् । नजिकै पार्किङ गरिराखेको कारको केही भाग धसिएकोमा प्रहरी र स्थानीयले उचालेर सुरक्षित स्थानमा लगेका थिए ।
सडकमा भ्वाङ परेको देखेपछि सञ्चारकर्मी सञ्जयकुमार मल्लले प्रहरी र पोखरा महानगरमा खबर गरेका थिए । सुरुमा सानो प्वाल देखिएकोमा पछि बिस्तारै ठूलो हुँदै गएको उनले बताए ।
प्रहरी टोलीले भ्वाङ परेको सडकसँगैका घरका बासिन्दालाई उठाउन सिटी फुकेर खतरा भएको संकेत दिएका थिए । वर्षासँगै बगेको भल सडकको भ्वाङभित्र पसेर थप घर नोक्सानी पार्ने खतरा बढेपछि ट्रकमा बालुवा ल्याएर तथा ग्रेग्रान, बोरा, टिन प्रयोग गरेर भल तर्काउने प्रयास गरिएको थियो ।
सेती नदीभन्दा पश्चिम क्षेत्रको भूभाग चुनढुंगायुक्त जमिनले बनेकोले पानीले चुन पगालेर जमिन खोक्रो बनाउने हुँदा जमिन भास्सिने गरेको भूगर्भविद् बताउँछन् । उनीहरुले सेती किनारा आसपासका क्षेत्रलाई अति जोखिमपूर्ण कमजोर धरातल भन्दै त्यस क्षेत्रमा ठूला भवन बनाउन नहुने सुझाव दिँदै आएका छन् । तर स्थानीयले सेती किनाराको जग्गा अतिक्रमण गर्दै मापदण्ड मिचेर अग्ला र भारयुक्त भवन ठड्याउँदै आएका छन् ।
भूगर्भविद् डा. कृष्ण केसीले लामो खडेरीपछि भएको ठूला वर्षाले जमिन भास्सिने र भत्किने बताए । सेती पश्चिमतर्फको जमिन चुनढुंगाले बनेकोले पानीले गलाएर लग्ने भएकोले जमिन खोक्रो बन्दै भ्वाङ पर्ने र भास्सिने गरेको उनले बताए ।
पोखरामा विशेषगरी नदीपुर, अर्मला, सिमलचौर, बाटुलेचौर, भलाम, हेमजा, मालेपाटन, बिरौटा, डेभिडफल्स लगायतका स्थान अविरल वर्षापछि बढीजसो भासिने गरेको छ ।