
म्याग्दीका सामुदायिक विद्यालयले करीब ५ महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन शुरू गरेका छन् ।
कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका ती विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् ।
सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले संक्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए ।
कार्यपालिकाको निर्णयअनुसार १० मावि समेत सबै ३७ विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन/अध्यापन शुरू भएकोमा कोरोना देखिएपछि ३ विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।
एउटा कक्षा कोठामा २०–२५ बढी विद्यार्थी नभएकाले कोरोनाको सक्रिय संक्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलोबस्ती भएका स्थानका विद्यालय सबै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरबिजोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन् ।
केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन् । शिक्षक, विद्यार्थी र समुदायमा संक्रमण देखिए बन्द गर्ने र स्वास्थ्यमापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ शुरू गर्न निर्देशन दिएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
‘विद्यालयमा विद्यार्थी संख्या न्यून छ । समुदायमा कोरोना संक्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने ?’ उनले भने, ‘जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं ।’ सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन ।