२३ असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

असोज ११, २०७८
परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ ।

सो अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

‘दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजीविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो,’ नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

मन्त्री डा। खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाइएको छ । 

आजै मन्त्री डा। खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढंगले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिए । 

मन्त्री खड्का गैरआवासीय नेपाली संगठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि उक्त नियोगले जनाएको छ । 

महासभालाई स्थानीय समयअनुसार सोमवार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा। खड्का नेतृत्वको प्रतिनिधिमण्डल मंगलवार स्वदेश फर्कने छ । रासस

salt training

कमेन्ट गर्नुहोस्