
काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ ।
निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल शुरू हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेका हुन् । आइतवार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौं र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जितको योजनामा थियो । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।
यो खेल काठमाडौंका शाहिद अफ्रिदीको अन्तिम थियो । उनी दुई खेलका लागि काठमाडौं आएका थिए ।
त्यस्तै करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले ५० लाख तथा उपविजेताले १५ लाख रूपैयाँ प्राप्त गर्नेछन् । रासस