१५ असार २०८३, सोमबार

मन्त्रिपरिषदको निर्णयमा काठमाडौं महानगर र ट्राफिक महाशाखाकै अवरोध

कात्तिक २०, २०७४
मन्त्रिपरिषदको निर्णयमा काठमाडौं महानगर र ट्राफिक महाशाखाकै अवरोध

काठमाडौं, ७ असार– भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने सरकारको निर्णयमा उक्त निर्णय कार्यान्वयन गर्ने स्थानीय तह र ट्राफिक प्रहरीले नै अवरोध सृजना गरेका छन् । २ वर्षअघि तत्कालिन मन्त्रीपरिषद्ले गरेको निर्णय कार्यान्वयनको चरणमा रहँदा कार्यान्वयन इकाईले नै त्यसमा असहमति जनाएका हुन् ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई १ हजार ५ सय ट्याक्सी वितरण गर्ने निर्णय जेठ २८ गते बसेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको थियो ।

विभिन्न अवरोधका कारण ट्याक्सी वितरणको काम रोकिँदै आएकामा यातायात व्यवस्था विभागले बुधवारदेखि ट्याक्सी नम्बर वितरण थालेको छ ।

विभागले सरकारको निर्णय लागू गर्ने प्रयास गरिरहँदा त्यसको कार्यान्वयन गर्ने स्थानीय तह र ट्राफिक प्रहरीले असहमति जनाएका हुन् ।

‘काठमाडौंमा नयाँ ट्याक्सी थप्न सकिँदैन’

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले काठमाडौं महानगरमा नयाँ ट्याक्सी थप्न नसकिने बताइन् । काठमाडौं महानगर नगर कार्यपालिकाको मंगलवार बसेको बैठकले काठमाडौं महानगरमा भूकम्पपीडितको ट्याक्सी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

‘हालकै स्थितिमा काठमाडौं महानगरमा १ हजार ५ सय ट्याक्सी थप्न सकिन्न,’ काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) हरीप्रभा खड्गी (श्रेष्ठ)ले लोकान्तरसँग भनिन्, ‘यस विषयमा निर्णय भइसकेको छ, अब हामी निर्णय कार्यान्वयनको तहमा जान्छौं ।’ काठमाडौंमा सवारी चाप बढी भएका कारण एकैपटक ठूलो संख्यामा अतिरिक्त सवारी थप्न नसकिने महानगरपालिकाको तर्क छ ।

‘सवारी संख्या अत्यधिक भएका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भइरहेको स्थितिमा ठूलो संख्यामा थप्न लागिएको नयाँ सवारीले थप अस्तव्यस्त बनाउने भएकाले यस्तो निर्णय गरेका हौं,’ उपमेयर खड्गीले भनिन्, ‘बरु भूकम्पीडितका ट्याक्सी सम्बन्धित जिल्लामै चलाउन दिनु उचित हुन्छ ।’

‘ट्राफिक थप अस्तव्यस्त हुन्छ’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी मिङमार लामाले पनि काठमाडौंमा नयाँ सवारी थप्दा ट्राफिक व्यवस्था थप भद्रगोल हुने बताए । ‘सडकको संख्या कहिल्यै नबढ्ने, तर सवारी संख्या थप्ने क्रममात्र देखियो, यसले ट्राफिक व्यवस्था सुध्रिन सक्दैन,’ डीआईजी लामाले भने । ठूलो संख्यामा ट्याक्सी थप्दा ट्राफिक थप अस्तव्यस्त हुने उनले बताए ।

‘सरकारको निर्णय कार्यान्वयन गरिएको हो’

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने विभागले ट्याक्सी वितरण शुरु गरिसकेको बताउँदै उक्त प्रक्रिया नरोकिने बताए । विभागले सरकारको निर्णय कार्यान्वयनमात्र गरेको उनले बताए ।

‘विभागले आफ्नो इच्छाले यो निर्णय गरेको होईन,’ विभागका प्रवक्ता पाण्डेले भने, ‘हामीले सरकारको निर्णय कार्यान्वयन गरेकाले यस विषयमा केही भन्न सक्दैनौं ।’

salt training

कमेन्ट गर्नुहोस्