
पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो ।
चिकित्सकले उनीहरूलाई मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए ।
दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।
घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।
जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पतालमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।
फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान साढे ११ बजे सडकबाट झरेर दुर्घटना भएको थियो ।
अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करीब २० मिटर तल खसेको हो ।
यसैबीच दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा हेलिकप्टर पठाइएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।