
कोरोना महामारीका कारण ठप्प ब्याङ्केट बिजनेश अहिले आएर चम्किएको छ । सबैजसो पार्टी प्यालेस, इभेन्ट हल, भेन्यूहरू अहिले भरिभराउ छन् । २ वर्षदेखि रोकिएका विवाह भइरहेका छन् ।
लकडाउनका कारण स्टाफहरू निकालिएका हुनाले जहाँत्यहीँ जनशक्तिको अभाव छ ।
सबैलाई आएको व्यापार धान्न धौंधौंको स्थिति छ मंसिरमा । व्यापारिक प्रतिस्पर्धाका कारण नयाँनयाँ भेन्यूहरू पनि त्यत्तिकै खोलिएका छन् । करोडौंको लगानीमा खोलिएका भेन्यूहरूले नयाँ बोत्तलमा पुरानो रक्सी भनेझै खानाको परिकारमा भने खासै परिमार्जन गर्न सकेका छैनन् ।
करोड अर्बसम्म लगानी गरेर व्यापक सजावट गरिएका राजधानीका भेन्यूहरूले विशेषज्ञ जनशक्ति अभावका कारण आफ्नो लगानीको स्तरअनुसार परिकार पस्कन नसकेको गुनासो सबैमा छ । स्तरीय जनशक्ति अभावमा राजधानीका चलेका ठूलाठूला भेन्यूलाई पछिल्लो समय निल्नु न ओकल्नुको अवस्था सिर्जना भएको छ ।
यहाँ हामीले चर्चा गर्न खोजेको विषय भने यही पार्टी सिजनमा कस्ता–कस्ता खानाका परिकार तयार हुन्छन् भन्ने विषय हो ।
के–के खाना चल्छन् नेपालीको विवाह पार्टीमा ?
९० प्रतिशत नेपालीको विवाह पार्टीमा स्न्याक्सको रूपमा चिकन चिल्ली या चिकन टिक्का, फिस फ्राइ या फिस बल, भेज पकोरा या भेज तेम्पुरा, क्रन्चीकर्न या पिनट, मसरुम छोइला या चिल्ली, प्राउन फ्राइ, बेबिफिस फ्राइ, फिस गोल्डन फ्राइ, फिस फिंगर, पोट्याटो चिज बल, मुस्ताङ आलु जस्ता कमन बाइट्सहरू राखिएका हुन्छन् ।
लन्च या डिनरको रूपमा ९५ प्रतिशतले एकैखालका परिकारहरू पस्केको देखिन्छ । जिरा पुलाउ या कास्मिरी पुलाउ, नान रोटी, नूडल, मटन करी, रायो साग, मिक्स भेज, मटर पनिर, दाल तड्का या दाल मखनी, तन्दुरी चिकन या रोस्ट चिकन, पापड फ्राइ, मिक्स अचार, ८–१० वटा हरियो सलादमा सीमित रहेको पाइन्छ । धेरै कमले मात्र सुप दिने चलन गरेका छन् ।
डेजर्टको रूपमा गाजरको हलुवा, दही जेरी, गुलाब जामन या कट फ्रुट्स राखेका हुन्छन् । आइसक्रिम मिक्स पेस्ट्री भने कमै पार्टी प्यालेसको मेनुमा भेटिन्छ ।
भीआईपी पार्टीमा कस्तो परिकार चल्छ ?
भीआईपीहरूको पार्टीको मेनुमा अलि फरक मेनु राख्ने गरिएको हुन्छ । स्न्याक्सको रूपमा लाइभ मोमो, मटन बार्बिक्यु, बदेल बार्बिक्यु, मटन भुटुवा, सामी कबाब, बोटी कबाब, सिख कबाब, तन्दुरी टिक्का, तावा फिस, फिस क्रुकेट, पनीर रोल, पनिर टिक्का, भेज टिक्की, राजमा कोयन, क्यानपि, ससेज बेकन र्याप, जस्ता राखिएको हुन्छ ।
डिनर या लन्च पार्टीको मेन कोर्समा पनि व्यापक भेराइटी डिस प्ले गरिएको हुन्छ । चाइनिज, इन्डियन, कन्टिनेन्टल, थाइ, मेक्सिकन, इटालियन, जापानिज प्रायः सबै कुजिनमा आ–आफ्नै सेक्सन सहितका परिकार पस्केको हुन्छ । सुपको रूपमा भेज/ननभेज गरी अनिवार्य २ वटा राखिएको हुन्छ । ३० या ४० वटा सलाद र ससहरू फिजाइएको हुन्छ ।
डेजर्टको रूपमा १० या १२ थरिको केक, हलुवा जेरी, रबरी, बुनिया, गुलाब जामुन, रसमलाई, फ्रुट प्लाटर, आइस क्रिम लगायत गरेर २५–३० भेराइटीका मिठाइ सजाइएको हुन्छ । यस्ता व्यापक भेराइटी पस्कने पाँचतारे या चारतारे होटलको मेनुमा मात्र देख्न पाइन्छ । जति नै स्तरीय व्याङ्केट खोले तापनि खानाको स्तर भने खासै उकास्न सकेको देखिँदैन ।
नयाँ–नयाँ खोलिएका भेन्युहरू भने पाँचतारे या चारतारे होटलको हलभन्दा पनि धेरै गुणामाथि लगानीमा खोलिएको छ र देख्न आकर्षक पनि छन् ।
पार्टी खानाको दररेट कति छ ?
पार्टी प्यालेसहरूमा सबैजसोको एउटै रेट छैन । खानामा एकरूपता देखिए तापनि प्रति प्लेटको रेट फरक–फरक देखिएको छ । ८००–२२०० रुपैयाँसम्म लिने पार्टी प्यालेसहरू छन् राजधानीमा । नयाँ–नयाँ ठूला लगानीका पार्टी प्यालेसहरूले अहिले पुराना र चलेका पार्टी प्यालेसहरू विस्थापित हुँदै गएका छन्, जुन नयाँ खोलिएको छ र फरक खालको छ भने त्यही झुम्मिने प्रवृत्ति यो क्षेत्रमा पनि छ । नयाँ भेन्युमा सधैंजसो घुइँचो नै हुन्छ ।