
जिल्ला प्रहरी कार्यालय कैलालीले झण्डै एक महिनापछि भूपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटना सार्वजनिक गरेको हो ।
लम्की चुहा नगरपालिका १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या २ अपराधिक समूहको आपसी मनमुटावका कारण भएको प्रहरीको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा २१ जनाविरुद्ध जाहेरी परेको छ । १२ जनालाई पक्राउ गरिएको छ, भने ९ जना अझै फरार रहेका छन् ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय २० धीरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्की चुहा नगरपालिका १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय दीपक, गोलु भन्ने निशान्त मल्ल, लम्की चुहा नगरपालिका ५ बस्ने २८ वर्षीय विकास खड्का रहेका छन् ।
त्यस्तै टीकापुर नगरपालिका १ बस्ने २३ वर्षीय प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका. ७ घर भई टीकापुर न.पा. १ ब्लक नं. २५ बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नं. १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका २ झगडपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा नगरपालिका ३ गोदानाका २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही गरी १२ जना पक्राउ परेका छन् ।
त्यस्तै, फरार रहनेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, २६ वर्षीय अनुज भन्ने चिरञ्जीवीजंग शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका ६ जगतपुर बस्ने २८ वर्षीय जयन्द्र शाह, टीकापुर १ बस्ने २७ वर्षीय विकास शेरचन रहेका छन् ।
त्यस्तै, लम्की चुहा ४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर ६ बस्ने ३५ वर्षीय अशोक रावल, लम्कीचुहा ३ बस्ने ३२ वर्षीय लोकजंग शाही र बर्दिया गरुवा गापा ५ बस्ने २२ वर्षीय हेमन्त शाही अझै फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अपराधिक समूहको उदय
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनाको मुख्य कारण नदीजन्य पदार्थको ठेक्कापट्टा रहेको बताए ।
उनले भने, ‘लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो वर्चश्व कायम गर्न लोकजंग शाही समेतले युवाहरूको समूह बनाई आपराधिक लाभका लागि परिचालन गर्ने गरेका थिए । सो समूहलाई अशोक रावलले संरक्षण प्रदान गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । शुरूमा एकै समूहमा रहेका जयन्द्र शाह र नविन रावलबीच पछि मनमुटाव तथा आपसी वैमनस्यता उत्पन्न भएपछि २ समूहका युवाहरूबीच पटक–पटक झै–झगडा हुन थालेको भेटिएको छ ।’
प्रहरी उपरीक्षक अधिकारीले ती २ समूहका सदस्यका विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली तथा काठमाडौंमा समेत ज्यान मार्ने उद्योगमा ६ वटा र हातहतियार तथा खरखजानासम्बन्धी २ वटा मुद्दा दर्ता भएको बताए ।
पेशेवर अपराध
२०७८ भाद्र महिनामा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नविन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको समेत प्रहरी अनुसन्धानबाट देखिएको छ ।
तत्पश्चात् कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नविन रावल र निजको समूहमाथि आक्रमण गर्ने योजना बनाई २०७८ कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा हिँडी कात्तिक २० गते लम्की पुगी मुनमुन होटलमा एक रात बसेको तथा २१ र २२ गते बौनियास्थित अनुकूल होटलमा बसी नविन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरको खोजीमा रहेको पाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
कात्तिक २३ गते नविन रावल समेतको समूह लम्कीमा आयोजित फूटबल खेल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्नो समूहलाई खबर गरी लम्की खेल मैदानमै आक्रमण गर्न खोजेको भएता पनि निजको समूह समयमै लम्की पुग्न नसकेका कारण सो ठाँउमा आक्रमण गर्न नसकेको अनुसन्धानमा खुलेको छ ।
मदन शाही त्यहाँबाट पहिले नै लम्की विद्युत कार्यालय नजिकको बाटोबाट टीकापुर हिँडेका नविन रावल समेतलाई भेटी जयन्द्रको समूह हातहतियारसहित आक्रमणको तयारीमा रहेको जानकारी दिएपछि नविन रावलले आफ्ना समूहका (आर्यान, हिमाल, हेमन्त, मदन, चिरञ्जीबी, रोशन, निशान्त, धीरज, रोहित, सोहन, विकास शेरचन)लाई रोड साइड क्याफेमा जम्मा गरी जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने योजना बनाएको प्रहरीसँगको बयानमा प्रतिवादीहरूले उल्लेख गरका छन् ।
कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन भनी बोलाएपछि भुपेन्द्र निजलाई लिन टीकापुर गएको बताइएको छ ।
यता नविन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियार सहित पर्खाइमा नै थियो । उक्त समूहमा सबैभन्दा अगाडि सो ठाउँका स्थानीय रोहित आलेसँग आर्यन देवकोटा पहिला स्कुटीमा गएका थिए । निजको पछाडि अर्को स्कुटीमा चिरञ्जिवी शाही र रोशन शाही तथा निजहरू भन्दा पछाडि नविन रावल समेत निस्केका थिए ।
टीकापुरको जमरा पुल नजिक आर्यन देवकोटा समेतले भुपेन्द्र बडुवाललाई फेला पारी हामीविरुद्ध टीकापुर आएको हो भनी ईबी लिई करीब २ किलोमिटरसम्म लखेटी सिद्धार्थ होटल नजिक पुर्याएपश्चात् भुपेन्द्र बडुवाल मोटरसाइकल छोडी आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आले समेतले कौशीदेवी विष्टको घरको पेटीमा नै भुपेन्द्र बडुवाललाई नियन्त्रणमा लिई पेट र छातीको भागमा २ पटक, पिठ्युको भागमा ३ पटक र टाउकोको पछाडि भागमा एकपटक धारिलो हतियार प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न प्रतिवादीहरू नजिकै रहेको विष्ट आयल स्टोर नजिक पुगी भाग्ने योजना अनुसार खुकुरी सोही स्थानमा फालेको र रोहित आलेलाई आफ्नो घरतर्फ जान भनी पठाएको देखिएको छ ।
नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जिवी शाही र आर्यन देवकोटा पशुहाट बजारको बाटो हुँदै जोशीपुर पुगी एक जनाले अपराध स्वीकार्ने र अरु भागी फरार रहने योजना अनुसार २४ गते बिहान बौनिया बजारमा पुगी अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै रहेको र नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही र चिरञ्जिवी शाहीहरू लोकजंगले बनाएको योजना अनुरूप लोकेन्द्र कुँवरले बौनिया बजारभन्दा उत्तर तर्फको चायाभावर गाउँमा लगी एक स्थानीयको घरमा लुकिछिपी बसेको बताइएको छ ।
त्यस्तै, लोकजंगकै योजना अनुरुप चायाभावर गाउँमा रहेका फरार प्रतिवादीहरूलाई खाने बस्ने व्यवस्थापन गर्ने, खर्च रकम दिने र २५ गते निजहरूलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिई चायाभावर गई निजहरूलाई उक्त कारमा जुगेडासम्म ल्याएको अनुसन्धानबाट खुलेको छ ।
निजले नै २६ गते भारतीय बोलेरो जीप भाडामा व्यवस्था गरी नविन रावल समेतलाई भारतको ढकिया गाउँसम्म पुर्याई आफू फर्की आएको बयान दिएका छन् ।
नविन रावल समेतले प्रयोग गरेको २ वटा मोटरसाइकल लोकेन्द्र कुँवरले बौनियामा ल्याई नम्बर प्लेट चेन्ज गर्न लगाई बर्दिया भुरीगाउँस्थित रोयल एडभेन्चर रिसोर्टमा लुकाई छिपाई राखेका थिए ।
कात्तिक २६ गते बिहान सविनजंग शाहीले नविन रावल समेतलाई भारततर्फ पठाइसकेपश्चात् निजहरूका ५ थान मोबाइल आफूले लिई उक्त मोबाइल लुकाउन कैलालीको वनबेहेडा बस्ने डेबिड चन्द्र कडायतलाई दिएको समेत खुलेको छ ।
यसरी हुँदैछ कारवाही
प्रतिवादी नविन, धीरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई जन्मकैद हुने भएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा दफा १७७ (१) बमोजिमको कसुरमा दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) मा सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैद सजाय हुने प्रहरीले जनाएको छ ।
त्यस्तै, लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्म कैद) सजाय हुने भएको छ ।
लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम मतियारको भूमिका निर्वाह गरेकाले सोहीसरह जन्मकैदको सजाय हुने प्रहरी उपरीक्षक अधिकारीले जनाए ।
दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई मनासिव क्षतिपूर्ति दिलाइने समेत बताइएको छ ।
भूपेन्द्रको हत्या कात्तिक २३ गते राति ८ ः ५२ बजे टीकापुर नगरपालिका १ ब्लक नं. २१ स्थित सिद्धार्थ होटल नजिक कौशी देवी विष्टको आँगनमा धारिलो हतियार प्रयोग गरी भएको थियो ।