
झाडीले भरिएको, वस्तुभाउको आहाल बस्न प्रयोग हुने कैलालीको डुबरी ताल अब मिनी पार्कको रूपमा परिणत हुने भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–८ डुढियास्थित जैविक दृष्टिकोणले महत्त्वपूर्ण ताल अब मिनी पार्क बन्ने भएको हो ।
१ करोड ७८ लाख ९८ हजार रुपैयाँको लागतमा मिनी पार्क बन्ने भएको छ । कैलारी गाउँपालिकाका इन्जिनीयर भरत चन्दका अनुसार तालमा संघीय सरकारको ६० र कैलारी गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको छ ।
२०७८ वैशाख ९ गते गाउँपालिका र महादेव खिम्टी अञ्जना खड्का जेबीबीच सम्झौता भई मिनी पार्क निर्माणको कार्य शुरू गरिएको छ ।
तालको आधा भागलाई मिनी पार्क बनाउन थालिएको बताउँदै इन्जिनीयर चन्दले ७ हेक्टर क्षेत्रफलको वरिपरि ९४० मिटर पर्खाल निर्माण गरिने जानकारी दिए । तालको उत्तर पूर्वी दिशामा प्रवेशद्वार र टिकट घर बनाइने भएको छ । दक्षिण–पश्चिमी दिशामा शौचालय निर्माण गरिने भएको छ ।

सामुदायिक वनसँगै रहेको तालको रमणीय दृश्यालोकनका लागि वरिपरि पद मार्ग बनाइने छ भने रमाइलो गर्न जानेहरूको सुविधालाई मध्यनजर गर्दै पिकनिक स्थल र पार्कको ठाउँठाउँमा २५ वटा फलामे बेञ्च राखिने छ । तालको वरिपरिको उबडखाबड जमिन सम्याएर वृक्षरोपण गरिने बताइएको छ ।


मिनी पार्कको निर्माण कार्य २०८० फागुन मसान्तभित्रै समापन गरिनुपर्ने सम्झौता गरिएको छ । निर्माणको कार्यलाई तीव्रता दिएको निर्माण व्यवसायी सुमन थापाले बताए ।
मिनी पार्क निर्माणसँगै ताल तथा त्यहाँको जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्यटन प्रवद्र्धन भइ आयआर्जनको बाटो खुल्नेमा स्थानीयले आशा गरेका छन् । डुढियाका स्थानीय रामचरण चौधरीले ओझेलमा रहेको र पुरिँदै गएको प्राकृतिक तालको संरक्षण हुने र पर्यटन प्रवद्र्धन भई आयआर्जन गर्न सकिने आशा व्यक्त गरेका छन् ।
तालको आधा भाग माछापालनको लागि ठेक्का दिइएको छ । माछापालन हुँदै आएको क्षेत्र दिनानुदिन पुरिँदै गएको छ तर त्यसतर्फ भने ध्यान दिन सकिएको छैन ।
तालको ऐतिहासिक महत्त्व समेत रहेको स्थानीय बताउँछन् । स्थानीय ७० वर्षीय भगुन्दत्त चौधरीले आफूहरूका बाजेको समयमा ताल क्षेत्रमा केही स्थानीयले खेती गर्न थालेको सुनाउँछन् । ‘२ वर्षसम्म खेती पनि गरियो तर २ वर्षको अवधिमा गाउँमा अनिष्ट हुन थाल्यो । मान्छेहरू धमाधम मर्न थाले । मरेका मानिसलाई त्यसै ताल क्षेत्रमा नै पुरिन्थ्यो,’ उनले भने ।
ताल क्षेत्रको अतिक्रमणलाई अझै निरन्तरता दिए पूरै गाउँ नै अनिष्टको दलदलमा डुब्ने गाउँलेहरूलाई सुझेपछि खेतीपाती गर्न छोडिएको भगुन्दत्त चौधरी सुनाउँछन् ।
कालान्तरमा अनिष्टको दलदलमा डुबाउने क्षेत्र नै ताल क्षेत्र रहेको भन्दै स्थानीयले ताल क्षेत्रलाई डुबरी भन्न थालिएको र नामकरण पनि भएको उनको भनाइ छ ।
खेती गर्न छोडिएपछि सो क्षेत्रको तल्लो भागमा बाँध बनाएर पानी जम्मा गरिन थालियो । बेनौली लगायत तल्लो क्षेत्रका वस्तीका स्थानीयले हिउँदे बाली सिँचाइ गर्ने उद्देश्यले बाँध बनाएपछि तालको रूपमा परिणत हुन पुगेको छ ।