
कोरोनाका कारण अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूका लागि 'भरोसा छात्रवृत्ति अभियान' शुरू भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अभियानको बारेमा जानकारी दिइएको हो ।
विकासमा पछाडि परेका जिल्लाका बेसहारा बालबालिका छात्रवृत्तिका लागि छनोटमा पर्नेछन् । डिश होमको सञ्जालमार्फत् छात्रवृत्ति बालबालिकासम्म पुर्याइनेछ । यो अभियानअन्तर्गत प्रत्येक विद्यार्थीलाई छात्रवृत्ति स्वरुप एक वर्षसम्म महिनाको पाँच हजार रूपैयाँ डिशहोमले उपलब्ध गराउने अभियानकी संयोजक सीता थापाले बताइन् ।
भरोसा छात्रवृत्ति अभियानका लागि नेपाली कांग्रेसका नेता गगन थापा अभियन्ताका रुपमा रहनेछन् । नेता थापाले उक्त अभियानको उद्घाटन गरे ।

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २/२ वटा जिल्लामा शुरू हुनेछ । उक्त जिल्लाहरूमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यो अभियानको व्यवस्थापनका लागि एक विशेष सचिवालय स्थापना गरिएको छ, जसको समन्वय शिक्षा क्षेत्रमा कार्यरत हेल्प नामक संस्थाले गर्नेछ ।
डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिलरबाट संकलन भएको रकम कोरोना महामारीका बेला सहयोगस्वरुप विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको र बचेको रकम यो अभियानमा लगाइएको बताए । हरेक विद्यार्थीलाई छात्रवृत्तिस्वपरुप एक वर्षसम्म महिनाको ५ हजारका दरले डिशहोमले दिने उनको भनाइ छ ।
समाजप्रति भरोसा ल्याउन अभियान शुरू गरिएको हो- गगनकुमार थापा
सोमवार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै कांग्रेस महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।
उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरूको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरू गरेको उल्लेख गरे । बालबालिकाहरूमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरूका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने थापाको भनाइ थियो ।
‘कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाहरूको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरू गरेको हो,’ उनले भने, ‘समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरू गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ । नेपालीहरूले आफैँ मिलेर पनि यस्तो अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’