
नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश सम्मेलन सम्पन्न भएको महिनादिन पुग्नै लागेको छ तर प्रदेश समिति सदस्यबाहेक हालसम्म पदाधिकारी चयन भएका छैनन् ।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको सम्मेलन मंसिर २५ र २६ गते तोकेको थियो तर सम्मेलन निर्धारित अवधिभन्दा पछाडि धकेलियो ।
प्रतिनिधि छनोट, प्रदेश समितिको प्यानल मिलानलगायत झमेलाका कारण थप २ दिनसम्म सम्मेलन पछाडि धकेलियो । सो अवधिमा २२३ जना सदस्य मात्रै छनोट गर्दै सम्मेलन समापन गरियो ।
अझै २२३ जना सदस्य मध्येबाटै अध्यक्षसहित ९ जना पदाधिकारी छनोट गर्न बाँकी छ । हालसम्म पदाधिकारी छनोटमा अन्योलता देखिएको छ ।
एक प्रदेश समिति सदस्यले भने, ‘प्रदेश समितिको पदाधिकारी छनोट वा निर्वाचन महाधिवेशनअघि नै टुंग्याउनुपर्ने हो तर टुंग्याउनै सकेनन् । यत्रो दिन बितिसक्यो तर हामीलाई अनिर्णयको बन्दी बनाए ।’
कतिपय प्रतिनिधिले माओवादी केन्द्रमा लोकतान्त्रिक विधिपद्धतिको बखान गरिए पनि जनवादी केन्द्रीयताको नाममा पहुँचवालाकै दबदबा रहेको बताएका छन् ।
तर माओवादी केन्द्रका निवर्तमान सुदूरपश्चिम अध्यक्ष शरदसिंह भण्डारीले केन्द्रीय महाधिवेशनको चटारोका कारण छनोट गर्न नसकिएको बताए । हाल माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन चलिरहेको छ ।
निवर्तमान अध्यक्ष भण्डारीले भने, ‘प्रदेश सम्मेलन लगत्तै हामी सबै नेताहरू केन्द्रीय महाधिवेशनमा केन्द्रित भयौं । अझैसम्म प्रदेश समितिको बैठक बस्न सकिएको छैन । अब महाधिवेशनलगत्तै हुने बैठकबाट पदाधिकारी छनोट हुनेछन् । अरु केही कारण होइन ।’
तर प्रदेश अध्यक्षका आकांक्षी धेरै देखिएका र सहमति हुन नसक्दा पदाधिकारी छनोट निकै पछाडि धकेलिएको माओवादी केन्द्रका एक नेताले बताए ।
२२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ ।
हाल अध्यक्षसहित पदाधिकारीका लागि आकांक्षी सबै नेताहरू आ–आफ्नो पक्षमा लविङमा छन् । सबै नेताहरू काठमाडौं केन्द्रित छन् ।
अध्यक्षका लागि केही केन्द्रीय सदस्य र केही निवर्तमान प्रदेश सदस्यहरू दौडमा छन् । केन्द्रीय सदस्यमध्ये हालका प्रदेश अध्यक्षमा शरदसिंह भण्डारी (अछाम), नरेन्द्र कुँवर (बैतडी), प्रदेशसभा सदस्य समेत रहेका वीरमान चौधरी (कैलाली), प्रदेश समिति सचिव नेपबहादुर चौधरी (कैलाली) अध्यक्ष बन्ने दौडमा रहेको बताइन्छ तर केन्द्रीय सदस्यहरू केन्द्रीय समितिमै बस्नुपर्ने आवाज माओवादी केन्द्रमा तीब्र पारिएको छ ।
निवर्तमान प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली), हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली), सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री मानबहादुर धामी पनि अध्यक्षको दौडमा देखिएका छन् ।
सुदूरपश्चिममा माओवादीका ८० हजार बढी सक्रिय सदस्य छन् । सबैभन्दा बढी कैलालीमा मात्रै २८ हजार ५४३ सदस्य छन् । त्यसैले अध्यक्षको जिम्मेवारी कैलालीबाट पाउनुपर्ने आवाज समेत उठेको छ ।