१३ असार २०८३, शनिबार

कैलारीका सामुदायिक विद्यालयहरू विद्यार्थीबाट ‘अवैध’ शुल्क असुली गर्दै

कैलारीका सामुदायिक विद्यालयहरू विद्यार्थीबाट ‘अवैध’ शुल्क असुली गर्दै

कैलालीको कैलारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूले विद्यार्थीबाट विभिन्न बहानामा मनलाग्दी शुल्क असुली गरिरहेको तथ्य भेटिएको छ ।

सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरे पनि विद्यालयहरूले परीक्षा शुल्क लिइरहेको तथ्य भेटिएको छ ।

अवैध शुल्क असुलीमा कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समितिले प्रमुख भूमिका खेलिरहेको छ । स्रोत केन्द्रले सबै विद्यालयलाई परिपत्र गरेर प्रतिविद्यार्थी स्र्रोत केन्द्रलाई बुझाउनुपर्ने शुल्क निर्धारण गरेको छ ।

१ देखि ८ कक्षासम्म प्रतिविद्यार्थी ३० रुपैयाँ र सोमाथि १० कक्षासम्म प्रतिविद्यार्थी ३५ रुपैयाँका दरले स्रोत केन्द्रलाई रकम बुझाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

अर्कोतिर सामुदायिक विद्यालयले अर्धवार्षिक परीक्षा शुल्कको बहानामा विद्यार्थीबाट मनलाग्दी शुल्क लिएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक जना शिक्षकले १ देखि ५ कक्षामा अध्ययरत प्रतिविद्यार्थीबाट १००–२०० रुपैयाँसम्म र सोभन्दा माथि प्रतिविद्यार्थीबाट करीब ५०० रुपैयाँसम्म लिने गरेको जानकारी दिए ।

तर कैलारी गाउँपालिका हसुलिया स्रोत केन्द्र स्तरीय परीक्षा सञ्चालन समिति संयोजक विनोद भट्टराईले परीक्षा सञ्चालन तथा व्यवस्थापनमा सरकारबाट कुनै पनि बजेटको व्यवस्था नहुँदा अभिभावकको सहमतिका आधारमा शुल्क लिएको दाबी गरे ।

हाल स्रोत केन्द्र नभए पनि सबै विद्यालयमा एकरूपता ल्याउन पालिकास्तरको विद्यालयलाई स्रोत केन्द्रको नाम दिइएको भट्टराईले बताए ।

यसैबीच, भट्टराईले आफूहरू मात्रै नभई देशभरका सामुदायिक विद्यालयले केही न केही रूपमा शुल्क लिइरहेको दाबी गरे ।

कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले हाल स्रोत केन्द्र नभएको र विद्यार्थीबाट कुनै पनि शुल्क लिन नपाइने बताए । लिएको भए कथित स्रोत केन्द्र र विद्यालयले फिर्ता गर्नुपर्ने शाखा प्रमुख मिश्रले बताए ।

शाखा प्रमुख मिश्रका अनुसार परीक्षा सञ्चालन, व्यवस्थापन तथा अन्य प्रशासनिक खर्चको लागि गाउँपालिकाले ‘नन सेलरी पीसीएफ’ अर्थात् विद्यार्थी संख्याका आधारमा रकम पठाउँदै आएको छ तर यस वर्ष अझै पठाउन नसकिएको बताउँदै उनले केही दिनमा पठाइने बताए ।

गाउँपालिकाले प्रत्येक विद्यालयलाई २ देखि ५ कक्षासम्म अध्ययनरत प्रतिविद्यार्थी १५० रुपैयाँ, ६ देखि १० कक्षासम्म अध्ययनरत प्रतिविद्यार्थी २०० रुपैयाँ र ११ र १२ कक्षामा अध्ययनरत प्रतिविद्यार्थी २५० रुपैयाँका दरले ‘नन सेलरी पीसीएफ’ पठाउँदै आएको बताइएको छ ।

गाउँपालिकामा ९ माध्यमिक विद्यालयसहित ४८ वटा सामुदायिक विद्यालयमा ९ हजार बढी विद्यार्थी अध्ययनरत छन् । 

salt training

कमेन्ट गर्नुहोस्