२८ जेठ २०८३, बिहीबार
पाक कला

मास्टर सेफ विजेता सन्तोषको काइदाः ‘मेरी आमाले पकाएका परिकार थोरै परिस्कृत मात्र गरेको हुँ’

पुस २४, २०७८
मास्टर सेफ विजेता सन्तोषको काइदाः ‘मेरी आमाले पकाएका परिकार थोरै परिस्कृत मात्र गरेको हुँ’

आमाले सानै उमेरदेखि के–के बनाएर खुवाउनु भयो, ती सबै परिकारलाई सम्झी–सम्झी उनले आफ्नो मेनुको खेस्रा कोरेर तयार पारे एक कप्लिट कोर्सको लिस्ट र उनले तिनै खानालाई परिमार्जन गर्दै अभ्यासमा जुटे । 

नेपाली खानालाई विश्वभर चिनाएरै छाड्छु भनेर गत वर्षदेखि कम्मर कसेर लागेका सेफ शाह गत वर्ष नेपाल आउँदा नेपालीबाट जुन सम्मान पाए, त्यसले उनलाई झन् अतिरिक्त जिम्मेवारीबोध भयो र १ दिन यो उपाधि जितेर छाड्छु भन्ने अठोटमा पुगे । जुन आज आएर पूरा भयो ।

उपाधिमा उनको नाम गुञ्जँदा उनका आँखा पूर्ण रूपमा रसाएका थिए र सबैभन्दा पहिले उनले आफ्नो आमालाई सम्झेका थिए ।

‘आमाको देन र आशिर्वादले म आज यहाँसम्म आउन सफल भएँ,’ उनले फोन वार्तामा खुशी व्यक्त गर्दै भने, ‘मेरो सपना नेपाली खानालाई विश्वभर चिनाउनु थियो, चिनाइ छाडें, अत्यन्त खुशी छु ।’ १८ प्रकारका विशुद्ध नेपाली परिकार पस्केर उनले जजहरूलाई नै चकित तुल्याएका थिए । 

अर्को महत्त्वपूर्ण कुरा त ब्रिटेन जस्तो देशमा उनले भेगान खाना पस्कने प्रयास गरेका थिए, जुन सराहनीय बन्यो । यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न ७ प्रकारका तरुवा, तिलौरीबिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका नेपाली लोक खाना पस्केका थिए । जुन अन्य प्रतिस्पर्धीहरूभन्दा भिन्न र नौलो प्रस्तुति सावित भयो ।

नेपाली लोक र मौलिक खानालाई आधुनिक शैलीमा पस्कन खप्पिस सन्तोष सबैमाझ प्रिय बन्न पुगेर नेपाल र नेपाली पाक कलालाई विश्वसामु चिनारी राख्न सफल भए ।

गत वर्षको प्रतियोगितामा पनि निर्णायकहरूको मन जित्न सफल शाह रनर अपमा सीमित हुँदा केही खिन्न थिए । आफ्नो गाउँमा खाएका परिकार र समग्र नेपाली मौलिक खानालाई अध्ययन गरेको आधारमा उनले यो वर्षको तयारी पूरा गरेका थिए । गत वर्ष केही फ्युजन गरेर नेपाली खाना पस्किए पनि यो वर्ष उनले विशुद्ध रूपमा उनले नेपाली लोपौन्मुख परिकारहरू पस्कन सफल भएका थिए । यसका लागि उनले महिनै लगाएर नेपाली मौलिक सामग्रीहरू खोज गरेका थिए ।

सिराहा जिल्लाको कर्जन्हामा जन्मेका सन्तोष शाह सानै उमेरमा कामको खोजीमा भारत गएका थिए । १५ वर्षको उमेरमा किचनमा काम शुरू गरिसकेका हुनाले भारतमा रहँदा पनि उनले धेरै सिक्ने मौका पाए । भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसनमा काम गर्न पाउनु र फ्रान्सका रेमन्ड ब्ल्याकसङगको संगतले उनलाई सिक्ने र कलिनरीबारे अझ बुझ्ने र सिक्ने मौका पाए । फलस्वरूप उनले बेलायतमा बस्दा पनि विभिन्न ब्रान्डेड रेस्टुरेन्टमा उच्च ओहोदामा रहेर काम गर्ने मौका पाए । 

गत वर्ष उनले एक भेटमा भनेका थिए – मैले धेरै देशको पाक कलाका विषयमा काम गरे । अबका दिनमा म अब नेपाली खानाका विकास र परिमार्जन गरी विश्वलाई चिनाउने काम गर्नेछु ।

अबका दिनमा हामीले पनि नेपाली परिकार स्वादिष्ट र स्वस्थ मात्र होइन, विश्वसामु प्रतिस्पर्धा गर्नलायक पनि छन् भनी प्रमाणित गरेर देखाउन सफल भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्