३० असार २०८३, मंगलबार
कजाकस्तानको हिंस्रक दंगा नियन्त्रणमा

कजाकस्तानमा ‘कलर रिभोल्युसन’को असफल प्रयास: चर्चा अमेरिकी गिल्ला र रुसी जवाफको

पुस २८, २०७८
कजाकस्तानमा ‘कलर रिभोल्युसन’को असफल प्रयास: चर्चा अमेरिकी गिल्ला र रुसी जवाफको
रुसी शान्ति सेना । Photo : RUSSIAN DEFENSE MINISTRY PRESS SERVICE

कजाकस्तानमा सन् २०२२ को आरम्भमा ग्यासको मूल्य बढाइएपछि शुरू भएको विरोध प्रदर्शन र दंगामाथि सरकारले नियन्त्रण कायम गरेको छ ।

शान्तिपूर्ण रूपमा शुरू भएको विरोध प्रदर्शन पछि हिंस्रक दंगामा परिणत भएको थियो ।

राष्ट्रपति कासीम–जोमार्ट तोकाएभले हिंस्रक दंगा नियन्त्रणका लागि रुसी नेतृत्वको कलेक्टिभ सेक्युरिटी ट्रीटी अर्गनाइजेसन (सीएसटीओ) लाई अनुरोध गरेका थिए ।

रुसले आफ्ना २५ सय शान्ति सैनिकहरू कजाकस्तान पठाएको थियो । त्यस तैनाथीलाई सीएसटीओले स्वीकृति दिएको थियो ।

कजाकस्तानमा शान्तिबहाली गर्न सफलता पाएपछि रुसी सैनिकहरू अब दुई दिनभित्रै त्यहाँबाट हट्न शुरू गर्ने तयारीमा छन् ।

तोकाएभले यसरी सीएसटीओलाई बोलाएकोमा अमेरिकाको चित्त बुझेको थिएन । अझ अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुसीहरू जुन देशमा पस्छन्, त्यहाँबाट उनीहरूलाई बाहिर निकाल्न गाह्रो पर्ने गरेको इतिहास छ भनी गिल्ला गरेका थिए । 

ब्लिन्केनको आरोप आधारहीन थियो भन्ने कुरा सीएसटीओका शान्तिसैनिक काम पूरा भएपछि निस्कन लागेको तथ्यले स्थापित गरेको छ । 

बरू भियतनाम, अफगानिस्तान र इराकमा अमेरिकी सैनिकहरू लामो समय बसेर विनाश मच्चाएको इतिहासले चाहिँ ब्लिन्केनको भनाइ आफैंतिर सोझिएको भान हुन्छ ।

कजाकस्तानको दंगा प्रकरणले अमेरिकाको प्रभाव अब संसारमा घट्दै गएको देखाएको छ । त्यसो त अमेरिकाको हालीमुहाली रहेको एकध्रुवीय विश्व व्यवस्था परिवर्तन भएर बहुध्रुवीय व्यवस्थाको निर्माण भइरहेकोमा यो त्यति आश्चर्यजनक पनि छैन ।

त्यसमाथि कजाकस्तान रुसको प्रभाव रहेको मुलुक हो । अनि त्यसबाहेक पूर्वी सोभियत गणराज्य कजाकस्तानमा रुसी मूलका मानिस लगभग २६ प्रतिशत छन् । त्यसैले त्यहाँ हुने कुनै पनि किसिमको प्रतिकूल परिस्थितिको सामना गर्न रुस तत्पर रहन्छ र अमेरिकालाई अशान्ति चर्काउन दिँदैन ।

कजाकस्तानमा रुसको सैन्य उपस्थितिका अनेकौं महत्त्वपूर्ण भूरणनीतिक परिणाम रहेको तर्क १९ फोर्टीफाइभ नामक वेबसाइटमा एन्ड्रु मिक्टाले गरेका छन् । उनका अनुसार, रुसको सैन्य हस्तक्षेपले अमेरिकालाई स्पष्ट सन्देश दिएको छ । 

कजाकस्तानलाई आफ्नो एकल प्रभावक्षेत्रका रूपमा राख्ने मस्कोको चाहना रहेको सन्देश रुसले दिन खोजेको हो । त्यहाँ अमेरिका वा युरोपेली संघ वा टर्कीले अशान्ति मच्चाउन खोजेमा रुसले त्यसको जवाफ अवश्य फर्काउनेछ भन्ने स्पष्ट सन्देश रुसले दिएको छ ।

त्यसो त कजाकस्तान दंगामा अमेरिकाको प्रत्यक्ष सहभागिता रहेको कुरा आधिकारिक रूपमा आएको छैन । राष्ट्रपति तोकाएभले विदेशमा तालिमप्राप्त आतंकवादीहरूले दंगा मच्चाएको भने तर अमेरिकाको नाम लिएनन् । 

रुसले पनि कजाकस्तानमा युक्रेनी शैलीको कलर रिभोल्युसन अर्थात् सत्ता परिवर्तनको अभ्यास गर्न खोजिएको बतायो । त्यसमा पश्चिमको हात रहेको उसले बतायो तर अमेरिकाको नाम किटेन ।

तर कतिपय जानकारहरूले देशद्रोहको आरोपमा पक्राउ गरिएका पूर्व सुरक्षा प्रमुख करिम मास्सिमोभको सम्बन्ध अमेरिकाका राष्ट्रपति जो बाइडन र उनका छोरा हन्टरसँग रहेको बताएका छन् । 

त्यस्तै अमेरिकी संस्था नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीले विगत केही वर्षयता कजाकस्तानमा लोकतन्त्रका लागि भन्दै लाखौं डलर खन्याइरहेको थियो । त्यस पैसाले पनि देशमा दंगा भड्काउनेहरूलाई उत्प्रेरित गरेको कतिपयको भनाइ छ ।  

अमेरिकाको नेसनल साइन्स फाउन्डेसनको लगानीमा अनुसन्धान गर्ने कम्प्युटर वैज्ञानिक क्लिन्ट एरलिकका अनुसार, पूर्वराष्ट्रपति नुरसुल्तान नजरबायेभको दाहिने हात मानिने मास्सिमोभले तोकाएभविरुद्ध दंगा भड्काउनका लागि भूमिका खेलेको खुलासा भएको छ र त्यस्ता विवादास्पद पात्रको सम्बन्ध बाइडनसँग हुनु आफैंमा असहज कुरा हो । 

नजरबायेभको निरंकुश शासनविरुद्ध वर्षौंदेखि कजाकी जनतामा असन्तुष्टि रहेका कारण सन् २०१९ मा उनी अपदस्थ भएका थिए ।

उनले आफ्ना विश्वासिला सहयोगी तोकाएभलाई सत्तामा ल्याए । तर तोकाएभको डेढ वर्षे शासनकालपछि नजरबायेभ पुनः सत्तामा फर्किन खोजेकाले शान्तिपूर्ण विरोध प्रदर्शनको आडमा उनका सहयोगीहरू हिंस्रक दंगा मच्चाउन लागिपरेका थिए । त्यससँगै अनेकौं सामाजिक समस्या रहेको कजाकस्तानमा सार्थक सुधार ल्याइयोस् भन्ने युवा कजाकी राष्ट्रवादीहरूले पनि दंगामा भाग लिएका थिए ।

सत्ता पल्टाउने नजरबायेभको उक्त प्रयासलाई तोकाएभले विफल तुल्याइदिएका छन् । यसमा उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको पनि साथ मिलेको सीएसटीओको शान्तिसैनिक तैनाथीले स्पष्ट पारेको छ । कजाकस्तानमा दंगा मच्चाएर सत्तापरिवर्तन गर्ने तत्त्वहरूलाई नसहने सन्देश पुटिनले दिएका छन् । 

तर सत्ता पल्टाउने नजरबायेभको उक्त प्रयासलाई तोकाएभले विफल तुल्याइदिएका छन् । यसमा उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको पनि साथ मिलेको सीएसटीओको शान्तिसैनिक तैनाथीले स्पष्ट पारेको छ । कजाकस्तानमा दंगा मच्चाएर सत्तापरिवर्तन गर्ने तत्त्वहरूलाई नसहने सन्देश पुटिनले दिएका छन् । 

तोकाएभले यसरी आफ्नो भविष्य पुटिनको हातमा सुम्पिएर देशले अपनाउँदै आएको मल्टीभेक्टरिजम परराष्ट्रनीतिलाई त्यागेको तर्क कार्नेगी युरोपको वेबसाइटमा प्रकाशित ग्लास्गो विश्वविद्यालयमा युरेसियन स्टडीजका प्राध्यापक लुका आन्सेचीले गरेका छन् । 

चीन र रुसको बीचमा रहेको क्षेत्रफलका आधारमा विशाल मुलुक कजाकस्तानले नजरबायेभको शासनकालमा आफ्ना दुई ठूला छिमेकीका साथै अमेरिका, युरोपेली संघ र विश्व समुदायसँग सम्बन्ध विविधीकरण गर्ने नीति लिएको थियो । तर अब तोकाएभ युग शुरू भएपछि कजाकस्तान रुस र चीनप्रति बढी बफादार बन्ने र युरेसियन इकोनोमिक युनियनमा पनि जोडिने सम्भावना रहेको आन्सेचीको संकेत छ ।

यसरी अमेरिकासँगको सम्बन्धलाई कजाकस्तानले पहिलेको जस्तो महत्त्व नदिनु अमेरिकाको विफलता हो । त्यसबाहेक चीनको बेल्ट यान्ड रोड इनिसिएटिभको महत्त्वपूर्ण साझेदारका रूपमा रहेको कजाकस्तानमा रुसले आफ्नो प्रभुत्व कायम रहेको सन्देश चीनलाई पनि दिएको भनी अमेरिका तथा पश्चिमले दिन खोजेको सन्देश पनि निरर्थक बनेको छ । 

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा चाओ सिछी र सु यलुले तयार पारेको रिपोर्टमा उल्लेख भएअनुसार, चीनका परराष्ट्रमन्त्री वाङ यी र उनका रुसी समकक्षी सर्गे लाभरोभबीच कजाकस्तानमा विदेशी शक्तिले गर्न खोजेको कलर रिभोल्युसनको प्रतिकार गर्ने विषयमा सहमति बनेको छ । 

त्यस्तै वाङले कजाकस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्री मुख्तार त्लेउबेर्दीसँगको कुराकानीमा पनि कानून कार्यान्वयन र सुरक्षाका विषयमा चीनले सहकार्य गर्न चाहेको बताए । अर्थात्, कजाकस्तानको दंगाको आडमा रुस र चीनबीच मध्य एसियामा फाटो ल्याउन सकिन्छ भनी अमेरिका र पश्चिमले बनाएको योजनालाई दुवैले विफल बनाइदिएका छन् । 

उल्टो, यस प्रकरणबाट यी दुई युरेसियाली शक्तिहरूको साझेदारी थप बलियो बनेको छ । आरटी डट्कममा ग्लेन डीसनले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, मस्को र बेइजिङले ग्रेटर युरेसियन पार्टनरशिपको मर्मबमोजिम आआफ्नो अडानलाई समान उद्देश्यका लागि एकसाथ उभ्याएका छन् । यस घटनाबाट उनीहरू थप बलियो बनेको देखिएको छ ।

अझ, मध्य एसियामा कानून व्यवस्था कायम गर्नका लागि बेइजिङले मस्कोलाई अपरिहार्य सहयोगीका रूपमा हेरिरहेको छ । यसले युरेसियाका दुई विशाल मुलुकहरूबीचको साझेदारीमा थप समानता समेत प्रदान गरेको छ ।

अमेरिकाले कजाकस्तान दंगा नियन्त्रणका लागि मस्कोले शान्तिसैनिक पठाएको विषयलाई सोभियत संघ ब्युँताउने पुटिनको प्रयास भने पनि त्यसलाई कजाकी जनताले पत्याएनन् । रुसी सैनिकहरू दंगा नियन्त्रणपछि स्वदेश फर्किन लागेकाले कजाकी भूमिलाई रुसले निल्न लागेको भन्ने पश्चिमको मनगढन्ते आरोप पनि आधारहीन रहेको प्रमाणित भएको छ । 

आफ्नो छिमेकमा अशान्ति मच्चाउन प्रयास गरी रुसको भूसुरक्षालाई चुनौती दिने सबै किसिमका प्रयासलाई रुसले निस्तेज बनाउनेछ भन्ने कुरा पनि कजाकस्तान दंगा प्रकरणले प्रमाणित गरेको छ ।

शीतयुद्ध सकिएको ३० वर्षपछि मध्य एसियामा मस्कोकै हात माथि परेको यसबाट स्पष्ट भएको एन्ड्रु मिक्टाको भनाइमा दम छ । मध्य एसियाको छिमेकी मुलुक अफगानिस्तानबाट बाहिरिएको अमेरिकाले अब उक्त क्षेत्रमा थप प्रभावहीन बनेको पनि कजाकस्तान प्रकरणले देखाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्