स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गरेको कर्मचारी सरूवा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकिदिएका छन् ।
मन्त्री खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीमा सरूवा गरेका थिए ।
तर उनको सरूवा रोक्न प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री खतिवडालाई निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालय अन्तर्गतका १० जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए ।
अहिले वीर अस्पतालमा निमित्त प्रशासकीय अधिकारी रहेका डा. भुपेन्द्र बस्नेतलाई हटाएर लोहनीलाई १२औं तहको जिम्मेवारी दिएर स्वास्थ्यमन्त्रीले सरूवा गरेका थिए । वीरको नयाँ संगठन संरचनाअनुसार प्रमुख प्रशासकीय अधिकारी १२औं तहको प्रमुख विशेषज्ञ हुने व्यवस्था छ ।
त्यसमा बस्नेतले आफ्नो ठाउँमा लोहनी आउन लागेपछि प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएको स्रोतले बताएको छ । बस्नेत दशौं तहका कर्मचारी हुन् ।
बस्नेतले कांग्रेस निकट चिकित्सक र स्वास्थ्यकर्मीमार्फत वीर अस्पतालमा आफूलाई कायम राख्न प्रधानमन्त्रीलाई दबाब दिएको मन्त्रालय स्रोतको भनाइ छ । बस्नेत कांग्रेस निकट कर्मचारी हुन् ।
बस्नेतको दबाबपछि प्रधानमन्त्रीले वीर अस्पतालमा उनैलाई कायम राख्न निर्देशन दिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्रीले सरूवा रोक्न निर्देशन दिए पनि स्वास्थ्यमन्त्री खतिवडाले हालसम्म आफ्नो निर्णयमा पुनर्विचार नगरिसकेको मन्त्रालय स्रोतले बताएको छ ।
वीर अस्पतालका अरू केही कर्मचारी समेत डा. लोहनीको सरुवा रोक्न लागिपरेका बताइएको छ । लोहनी स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख थिए ।