०४ साउन २०८३, सोमबार
संक्रमण बढी, गम्भीर बिरामी कम

कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि अस्पतालहरूमा किन कम छन् बिरामी ?

माघ ३, २०७८
कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि अस्पतालहरूमा किन कम छन् बिरामी ?
फाइल तस्वीर

कोरोनाभाइरस (कोभिड– १९)को नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिए पनि अस्पतालहरूमा कोरोना संक्रमितको चाप न्यून देखिएको छ ।

अघिल्लो वर्ष कोरोनाको डेल्टा भेरियन्ट फैलिँदा अस्पतालहरू भरिभराउ भएका थिए । त्यसको तुलनामा अहिले न्यून मात्र संक्रमित अस्पतालमा छन् ।

पहिलो र दोस्रो लहरका बेला भुइँमा समेत बिरामी राखेर उपचार गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आज (सोमवार) यो समाचार तयार पार्दासम्म ९ जना कोरोना संक्रमित मात्र उपचाररत थिए ।

‘आज ९ जना मात्र कोरोनाका बिरामी भर्ना हुनुभएको छ,’ टेकु अस्पताल इमर्जेन्सी वार्ड इञ्चार्ज लीलानाथ भण्डारीले लोकान्तरसँग भने ।

अस्पतलामा दैनिक १२ देखि १५ जना संक्रमित आउने गरेका छन् । प्रायमा संक्रमण ‘सिभियर’ खालको नभएकाले भर्ना नलिइएको जनस्वास्थ्य प्रमुख समेत रहेका भण्डारीले बताए ।

‘आउने बिरामीहरू अक्सिजन नचाहिने खालको हुनुहुन्छ, त्यस कारणले गर्दा पनि भर्ना हुनुभन्दा घरमा बस्न सल्लाह दिइरहेका छौं,’ उनले भने, ‘त्यसैले पनि अस्पतालमा चाप छैन ।’

दोस्रो लहरमा अत्यधिक चाप भएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सोमवार यो समाचार तयार पार्दासम्म ४८ जना संक्रमित मात्र उपचाररत छन् ।

अस्पतालका कोभिड विभाग प्रमुख डा. सन्तकुमार दासका अनुसार तीमध्ये पनि अधिकांश अन्य रोगको उपचारका लागि आएका बेला परीक्षण गर्दा कोरोना देखिएकाहरू छन् ।

‘हामीकहाँ ४८ जना हुनुहुन्छ, त्यो पनि अन्य बिरामी भएर आउँदा कोभिड देखिएकाहरू बढी हुनुहुन्छ,’ डा. दासले लोकान्तरसँग भने ।

यसपालिको कोरोना संक्रमणले दोस्रो लहरको जस्तो घातक असर नदेखाएकाले बिरामीहरूको चाप कम भएको डा. दासले बताए ।

अघिल्लो लहरले मानिसको फोक्सोमा सिधा आक्रमण गरेकाले उनीहरूलाई अक्सिजन र आईसीयू चाहिँदा अस्पतालमा चाप थियो ।

तर यसपालि भने प्रायःलाई जिउ दुख्ने, घाँटीमा खसखस हुने र सामान्य ज्वरो आउने लक्षण मात्र देखिएको छ ।

‘ओमिक्रोनले सामान्य लक्षणहरू मात्र देखाएको छ । त्यो पनि ३ देखि ५ दिनसम्ममा निको हुने भएकाले बिरामीहरूलाई खासै अस्पताल आउनुपर्ने देखिएको छैन,’ डा. दासले लोकान्तरसँग भने, ‘घर बसेर आराम गर्दा आफैँ निको हुन्छ ।’

अघिल्लो वर्ष टिचिङ अस्पताल, टेकु अस्पताल, वीर अस्पताल लगायतमा बिरामीको चाप अत्यधिक थियो । बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको थियो । अक्सिजनको हाहाकारले गर्दा प्लान्टहरूमा ठूलो लाइन थियो । अक्सिजनको अभावका कारण कैयनले ज्यान गुमाएका थिए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभरमा १ हजार ८ भेन्टिलेटर, १३ हजार ९ सय ३९ अक्सिजन सिलिन्डर, ६९३ अक्सिजन कन्सन्ट्रेटर, ९८ अक्सिजन प्लान्ट र २५ वटा ट्यांक तयारी अवस्थामा छ । 

२ हजार ७९७ वटा आईसीयू बेड, ३ हजार ८४६ एचडीयू बेड र ८ हजार २०२ आइसोलेसन बेड तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सरकारका अनुसार हिजो (आइतवार)सम्म ५० लाख स्वाब नमूना परीक्षण गरिएको छ । झण्डै ९ लाख जनाले एन्टीजेन परीक्षण गराएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म पीसीआरतर्फ ८ लाख ५३ हजार ७८३ र एन्टीजेनतर्फ १ लाख १ हजार ४६८ नमूनामा कोभिड पोजेटिभ देखिएको छ ।

यसबीचमा कोरोनाका कारण ११ हजार ६२० जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

सरकारका अनुसार अहिलेसम्म २ करोड ७९ लाख ६५ हजार ५ सय जनाले खोप लगाएका छन्, जसमध्ये १ करोड ५८ लाख ३७ हजार ६७१ जनाले एकपटक मात्र खोप लगाएका छन् । 

नेपालमा अहिले ४ करोड ३८ लाख ८ हजार ८४० खोप प्राप्त भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

salt training

कमेन्ट गर्नुहोस्