२९ असार २०८३, सोमबार

फोनपे नेटवर्कमा आबद्ध भयो खल्ती, अब फोनपेकै क्यूआरबाट गर्न मिल्छ भुक्तानी

फोनपे नेटवर्कमा आबद्ध भयो खल्ती, अब फोनपेकै क्यूआरबाट गर्न मिल्छ भुक्तानी

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.)बीच सहकार्य भएको छ ।

सोमवार एक कार्यक्रमको आयोजना गर्दै फोनपे र खल्तीले सहकार्यको घोषणा गरेको हो । 

कार्यक्रममा फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे । 

सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आवद्ध भएको छ ।

अबदेखि खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । 

यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने विश्वास लिइएको फोनपेले जनाएको छ ।

सम्झौतापश्चात फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत सापकोटाले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा आफूहरूको सहकार्यले थप भूमिका खेल्ने बताए ।

उनले भने,‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । हामी दुवै कम्पनीको लडाईं भनेको नगद कारोबारसँग हो ।’

कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत खड्काले खल्ती र फोनपेबीचको सहकार्यले २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुने बताए । 

उनले भने,‘हामी दुवैको ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने, जसका लागि हामी सँगै अघि बढ्दै छौँ ।’

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि फोनपे स्थापना भएको थियो । हालसम्म फोनपेमा ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेको कम्पनीले जनाएको छ । 

बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोवाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्