०९ साउन २०८३, शनिबार
नेपाल यातायातकी महिला चालक

काठमाडौंमा बस हुइँक्याउने चश्मावाली ड्राइभर दिदीको कथा [भिडियोसहित]

माघ २८, २०७८

केही दिनअघि राजधानीको कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा महिला चालकले नेपाल यातायातको बस कुदाइरहेको दृश्यले मेरो ध्यान खिच्यो ।

चश्मा लगाएकी ती महिला स्टेरिङ घुमाउँदै निर्धक्कसँग बस कुदाइरहेकी थिइन् । उनलाई भेटेर केही जिज्ञासा राख्ने उत्सुकता जाग्यो। सो बसलाई पछ्याउँदै अनामनगर, बानेश्वर, कोटेश्वर हुँदै बालकुमारीसम्म पुगें ।

बस आफ्नो गन्तव्य बालकुमारी पुगेर केहीबेर रोकियो, तब छोटो कुराकानी गर्ने अवसर जुर्‍यो ।

नाम छविता आले मगर । घर सुर्खेत । ड्राइभिङ अनुभव १० वर्ष ।सुर्खेतबाट काठमाडौं छिरेकी छविता घरकी जेठी छोरी हुन् । १३ वर्षको हुँदा बुवाको निधन भयो ।

'अल्सर भएका बुवा उपचारको अभावमा बित्नुभयो,' उनले त्यो दु:खको क्षण सम्झिइन् ।

बुवाको निधनको शोकबाट उत्रिन नपाउँदै (एक वर्षपछि) उनको विवाह भयो ।

१७ वर्षको उमेरमा त आमा बनिसकेकी थिइन् ।

'मैले १७ वर्षको कलिलो उमेरमै छोरा अनि लगत्तै त्यसको ३ वर्षपछि छोरी जन्माएँ, उनले भनिन् ।

अहिले छोरा २० वर्ष र छोरी १७ वर्षका भएका छन् ।

कोरिया जाने सपना अनि ड्राइभरको पेशा

परिवारिक दायित्व र रोजगारीको चहानाले उनले लाइट सवारी साधनको लाइसेन्स लिइन् ।

सानो भ्यान चलाउने गरी सुर्खेतमै शुरू भयो ड्राइभिङ यात्रा । यसरी नै दुईचार वर्ष बित्यो ।

त्यसपछि कोरिया जाने धुनमा ड्रइभिङ छाडेर काठमाडौं आइन् ।

भाषा परीक्षा पढ्न थालिन्, अनि हेभी सवारीको लाइसेन्स पनि निकालिन् ।

भाषा परीक्षामा सोचेजस्तो नतिजा आएन । कोरिया सपना टुट्यो ।

'केही दिन त निकै तनाव भयो,' छविताले भनिन्, 'त्यसपछि फेरि ट्याक्सी, ट्याम्पो हुँदै पुरानै पेशालाई निरन्तरता दिएँ ।'

उनी काठमाडौं आएकै ६ वर्ष बितेको छ ।

यसबीचमा मयूर यातायात, महानगर यातायात र कीर्तिपुर बस सेवाको बस समेत उनले चलाइसकेकी छन् ।

अहिले उनी गोपीकृष्ण–बालुवाटार–पुतलीसडक–अनामनगर हुँदै बालकुमारी रुटमा नेपाल यातायात चलाउँछिन् ।

उनले बस चलाएको देख्दा कतिपयले आश्चर्य मान्छन्, भने कतिपयले हौसला दिन्छन् ।

छविताले नै चलाएको बसमा यात्रा गरेका एक यात्रुले उनको कामको प्रशंसा गरे ।

'महिला भएर यत्रो आँट गरेर बस चलाउनुभएको छ, गर्न चाहे महिलाले जे पनि गर्न सक्छन् भन्ने उदाहरण हो यो,' ती पुरुष यात्रुले भने, 'महिला भएर श्रीमानकै अर्डरमा बस्नुपर्छ भन्ने छैन, स्वतन्त्ररूपले काम गर्न सक्छन् । यति भए बेरोजगार पनि बस्नुपरेन ।'

भाइको निधन र आमालाई मन नपर्ने पेशा

छविताका भाइ पनि थिए, तीन दिदीबहिनीका सबैभन्दा कान्छा र एकमात्र भाइ ।

उनी दैलेख, सुर्खेतलगायतका जिल्लामा ट्रक चलाउँथे ।

२०७२ सालमा भूकम्पभन्दा २ दिनअगाडि दुर्घटनामा परी भाइको मृत्यु भयो ।

त्यसयता आमालाई यो पेशा पटक्कै मन नपर्ने रहेछ ।

'भाइको निधन भएपछि आमालाई यो पेशा पटक्कै मन पर्दैन,' उनले भनिन्, 'जुन दिन मर्न लेखेको हुन्छ, त्यही दिन मर्ने हो, पीर नमान्नुस्, भनेर सम्झाउने गरेको छु ।'

उनलाई पनि भाइको याद त खुबै आउँछ ।

'भदाको अनुहार हेरेर चित्त बुझाउँछु । तिहारमा पनि भदालाई नै टीका लगाउने गरेकी छु,' उनले भनिन् ।

अबको इच्छा काठमाडौंदिल्ली बस चलाउने

छविताको ध्यान अब लामो दूरीको बस चलाउनेतर्फ छ ।

कोरोनाका कारण काठमाडौं–दिल्ली बस चलाउने योजना तुहिएको सुनाउँदै उनले अब फेरि सेवा सञ्चालनमा आएमा प्रयास गर्ने बताइन् ।

'एकपटक चिनेको दाइमार्फत कुरा भएर काठमाडौं-दिल्ली बस चलाउने पक्कापक्की भइसकेको थियो, तर कोरोनाका कारण बस सेवा नै बन्द भयो,' उनले भनिन्, 'उक्त बस चलाउने हुटहुटी अझै टरेको छैन । सेवा सञ्चालनमा आयो भने पुन: प्रयास गर्छु ।'

यसबीचमा उनले साझा बस चलाउने प्रयास पनि गरेकी रहिछन्, तर हेभी लाइसेन्स लिएको ५ वर्ष नपुगेको कारण देखाएर अस्वीकार गरिएछ ।

'मलाई ट्रेनिङमा पठाइयो, दुई-चारपटक बस पनि चलाएँ, तर अन्तिममा हेभी लाइसेन्स बनाएको ५ वर्ष नपुगेको भनेर फालिदिए,' छविताले भनिन्, 'त्यसो हो भने त मैले डकुमेन्ट बुझाउँदा नै अस्वीकार गर्नुपर्ने नि, ट्रेनिङमा किन पठाएको ?'

हिम्मत गर्न अन्य महिला चालकलाई अपिल

उनी अन्य महिला चालकलाई हेभी सवारी चलाउने आँट गर्न सुझाव दिन्छिन् ।

'हाम्रा महिला चालकहरू लाइट सवारी साधन मात्र चलाउन खोज्नुहुन्छ, हेभी सवारी चलाउन आँट नै गर्नुहुन्न । महिला चालक मित्रहरूलाई भन्छु, हिम्मत गर्नुस्, आउनुस् हेभी चलाउनुस् ।'

उनले थपिन्, 'महिला भनेर कमजोर सम्झिने होइन, महिलाले प्लेन उडाइसके, यो त बस न हो ।'

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्