काठमाडौं, १९ असार– नेपाल आयल निगमले सोमवारदेखि सबै प्रकारका इन्धनको मूल्य घटाए पनि आफ्नो उच्च नाफालाई कायमै राखेको छ ।
निगमले सोमवारदेखि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टीतेल प्रत्येकमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाइ इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।
तर, घटाइएको मूल्यसूची अनुसार पनि निगमले हरेक १५ दिनमा ४४ करोड रुपैयाँ नाफा कमाउने छ । जसअनुसार निगमले हरेक दिन २ करोड ९३ लाख रुपैयाँ बढी नाफा हुने देखिन्छ ।
केमा कति नाफा ?निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार, सोमवार समायोजन गरिएको नयाँ मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ ५० पैसा, हवाइ इन्धनमा १८ रुपैयाँ २२ पैसा र मट्टीतेलमा १० रुपैयाँ २७ पैसा नाफा छ । त्यस्तै, २५ रुपैयाँ घटाइए पनि खाना पकाउने ग्यासमा निगमलाई अझै प्रतिसिलिण्डर ३९ रुपैयाँ नाफा छ ।
निगमले यसअघि १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुँदै आएको खाना पकाउने एलपी सिलिण्डरको प्रतिसिलिण्डर मूल्य समायोजन गरेर १ हजार ३ सय ५० रुपैयाँमा झारेको छ ।
त्यस्तै, यसअघि प्रतिलिटर सय रुपैयाँमा कारोबार हुँदै आएको पेट्रोल ९८ रुपैयाँ, प्रतिलिटर ७६ रुपैयाँमा कारोबार हुँदै आएको डिजेलको मूल्य ७४ र प्रतिलिटर ७६ रुपैयाँमा कारोबार हुँदै आएको मट्टीतेलको मूल्य ७४ रुपैयाँमा झारेको छ । हवाइ इन्धनको प्रतिलिटर मूल्य ८६ रुपैैयाँबाट ८२ रुपैयाँमा समायोजन गरिएको छ ।
भएन अन्तर्राष्ट्रिय मूल्य अनुसारको समायोजननिगमका अनुसार, अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको प्रतिब्यारेल मूल्य ४६ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको उक्त मूल्य अनुसार, नेपालमा इन्धनको मूल्य हाल समायोजन गरिएभन्दा भन्दा पनि बढी दरमा घटाउन सकिने जानकारहरु बताउँछन् ।
निगम पेट्रोलियम पदार्थको कारोबारमा स्वचालित मूल्य प्रणाली अवलम्बन गरे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसअनुरुप स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा स्थानीय बजारमा पनि घट्ने र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्थानीय बजारमा पनि सोही अनुसार मूल्य बढाउनुपर्ने हो ।
तर अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य जुन दरमा घटेको छ सो अनुसार निगमले नेपालमा मूल्य समायोजन गरेको छैन । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मटितेल र हवाइ इन्धनमा स्वचालित मूल्य लागू गरिसकेको छ ।
स्वचालित मूल्य प्रणाली अंगाले पनि पेट्रोलियम कारोबारमा निगमले उक्त कार्यविधि पूर्णतः कार्यान्वयनमा ल्याएको छैन । संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पनि यस विषयमा पटक –पटक ध्यानाकर्षण गर्दै आएको छ ।
भारतमा महंगो भएको बहानाबाजीनिगमले नेपालमा इन्धनको मूल्य घटाउँदा भारतमा इन्धनको मूल्य महंगो भएकाले आयात गरिएको इन्धन उतैतिर फर्कने जोखिमको बहाना बनाउँदै आएको छ ।
निगमका अनुसार, अहिले भारतीय बजारमा प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५ (नेपाली रुपैयाँ) र डिजेलको प्रतिलिटर मूल्य ९० रुपैयाँ ९४ पैसा छ । जसअनुसार भारतमा भन्दा नेपालको प्रतिलिटर पेट्रोलको मूल्य अन्तर झण्डै १० रुपैयाँ र डिजेलको झण्डै १७ रुपैयाँ छ ।
नेपाल आयात गरिएको इन्धनको पुनः उतैतिर जाने जोखिम रहेका बेला तस्करी रोक्नुको सट्टा सरकारले मूल्य बढाएर उपभोक्तालाई त्यसको सिकार बनाउँदै आएको छ ।
भारत सरकारले इन्धनमा झण्डै आधा दर्जन कर लगाउने हुँदा इन्धनको मूल्य नेपालको भन्दा बढी छ । नेपाल निर्यात गर्ने इन्धनमा भने भारत सरकारले छुट दिँदै आएको छ ।
अघिल्लो महिनामात्रै ७३ करोड नाफानिगमले अघिल्लो महिना पेट्रोलियम कारोबारबाट ७३ करोड रुपैयाँ कमाएको थियो । इन्डियन आयल कर्पोरिसन (आईओसी)ले प्रत्येक महिना १ र १५ तारिकमा नयाँ मूल्यसूची पठाउँछ । सोही अनुसार नेपालमा नयाँ मूल्यसूची कायम गर्दै आएको निगमको दावी छ ।
यसअघि असार २ मा पनि निगमले डिजेल तथा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा मूल्य घटाएको थियो ।