
नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ ।
फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसीलाई बहुमतले अनुमोदन गरेको हो ।
प्रतिनिधि सभाबाट पारित भएको व्याख्यात्मक घोषणाले अन्तर्राष्ट्रिय मान्यता र कानूनी हैसियत कति पाउँछ त्यो भविष्यमा थाहा हुनेछ । तत्कालका लागि भने एमसीसीको विवाद संसदबाट टुंगो लागेको छ ।
एउटा विशुद्ध आर्थिक सहयोग कार्यक्रमलाई संसदबाट अनुमोदन गर्ने व्यवस्था राखेर एमसीसीलाई धेरै गिजोलियो ।
संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नराखिएको भए यो विषय भूराजनीतिक चासोको विषय हुने थिएन ।
प्रतिनिधि सभा जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो, जसको बहुमतबाट पारित निर्णय देशको निर्णय भएको छ ।
संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रस्ताव गरेजस्तै देश विकासका लागि चीन र भारतबाट एमसीसीको भन्दा ठूलो सहयोग प्राप्त गर्न नेपालले पहल थाल्नुपर्छ ।
एमसीसीमार्फत पूर्वाधार विकासमा आउने रकमलाई सदुपयोग गर्दै देशको आर्थिक वृद्धिका लागि नेपालले अधिकतम सदुपयोग गर्नु जरुरी छ ।
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका निर्माणाधीन कयौं जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा छन् ।
निकट भविष्यमै नेपालमा विद्युत् उत्पादन मागभन्दा बढी हुनेछ । उत्पादित बिजुली माग धेरै भएको शहरी क्षेत्र र छिमेकीसम्म पुग्ने प्रशारण लाइनको अभाव पूर्ति गर्न एमसीसीमार्फत बन्न लागेको प्रशारण लाइन सहयोगी हुनेछ ।
विकास खर्चको निराशाजनक अवस्था र थामिनसक्नु चालू खर्चका कारण नेपालमा पूर्वाधार विकासको प्रगति निराशाजनक छ । यस्तो अवस्थामा नेपालले कुनै वैदेशिक सहयोगलाई इन्कार गर्न सक्दैन ।
यस्ता वैदेशिक सहयोगको शर्तलाई नेपालको संविधान, कानूनभन्दा माथि राख्न सकिँदैन । हाम्रो छिमेकीको चासोलाई बेवास्ता गरेर कुनै देशको सुरक्षा रणनीतिको अंग या साझेदार बन्न सक्दैछ ।
नेपालको राष्ट्रिय हित र स्वार्थअनुसार नेपालले वैदेशिक सहयोग लिनुपर्छ, त्यस्तो सहयोग पारदर्शी हुनुपर्छ ।
नहुनुपर्ने लामो विवादपछि एमसीसीको एउटा टुंगो लागेको छ । अब देशको ध्यान वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा केन्द्रित होस् ।
वैशाख ३० गतेको चुनावी मिति आउन अब ७३ दिन मात्र बाँकी छ ।
निर्वाचन आयोगले चुनावको तयारी थालिसकेको अवस्थामा सरकार र राजनीतिक दलले वैशाख ३० लाई अर्जुन दृष्टि बनाएर सम्पूर्ण ध्यान त्यता लगाऊ ।