
शेयर बजारको मापक सूचक नेप्से साताको दोस्रो दिन सोमवार * झिनो अंकले बढेको छ । नेप्से जम्मा १.५४ अंकले बढेर १५४४.९३ विन्दु कायम भएको छ ।
आइतबार ३ अंकले घटेको बजार सोमबार भने थोरै मात्रै बढेको छ ।
बजार धेरै नबढ्दा कारोवार रकम पनि जम्मा २ अर्ब ६० करोड रुपैयाँमै खुम्चिएको छ । सोमबार २३० कम्पनीको ५३ लाख १५ हजार कित्ता शेयरको ४० हजार १३० पटक कारोवार भएको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर र बोटलर्स नेपालका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीले कमाएका छन् ।
सामुदायिक लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल लिमिटेड, नेपाल दूरसञ्चार कम्पनीसहितका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीले कमाएका छन ।
आज पाँचथर पावर कम्पनी, पञ्चकन्या माइ हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रोसहितका लगानीकर्ताले भने ३ देखि ६.९० प्रतिशतसम्मले गुमाएका छन् ।
बजारमा आज शिवम सिमेन्ट्सको सबैभन्दा बढी रकमको कारोवार भएको छ । यसको २७ करोड रुपैयाँको कारोवार भएको छ ।
यस्तै शेयरको संख्याको हिसाबले सबैभन्दा बढी कारोवार हुनेमा भने नेपाल बैंक लिमिटेड छ । यसको २ लाख ९३ कित्ता शेयरको कारोवार भएको छ ।
(* शेयर बजार झिनो अंकले बढेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।)