
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा सरकारी अस्पतालमा डायलासिस सेवा शुरू गरिएको छ ।
उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा शुरू गरिएको छ ।
अस्पतालमा १० मशिनमार्फत बिरामीको डायलासिस भइरहेको छ ।
हेटौंडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् । उक्त सेवा हेटौंडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए ।
यसअघि हेटौंडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो । हेटौंडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौं र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेकोमा स्थानीय खुशी भएका छन् ।