
गरीबीका कारण मुटु रोग, हाडजोर्नी, दम, स्त्री रोगजस्ता रोगबाट ग्रस्त जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
गरीबीका कारण उपचार गराउन नपाएका उनीहरूले दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन् ।
क्लब, नेपाल चिकित्सक संघ, भोजपुर अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा आयोजित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा करीब ३ हजार १०० भन्दा बढी बिरामीलाई १५० विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए । एक मात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामान्य किसिमको बिरामी हुँदा पनि ठूलो आर्थिकभार व्यहोरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहँदै आएको छ ।
जिल्लामै विशेषज्ञ चिकित्सबाट मुटु रोग, हाडजोर्नी, दम, स्त्री रोग, यौन तथा छाला रोग, नाक, कान, घाँटी, आँखा, दाँतलगायत रोगको निःशुल्क उपचार पाउँदा बिरामीलाई राहत मिलेको चर्चा गर्दै स्थानीय चन्द्रबहादुर भुजेलले भने, ‘जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा हामीलाई धेरै नै समस्या थियो । वरिष्ठ चिकित्सकको सेवा आफ्नै ठाउँमा लिन पाउँदा खुशी लागेको छ ।’
शिविरमा विशेष गरेर मुटु रोग, स्त्री रोग, हाडजोर्नी तथा आँखाका बिरामीको संख्या बढी रहेको मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले बताए । जिल्ला अस्पतालको भवन सुविधा सम्पन्न भए पनि दक्षजनशक्ति नहुँदा बिरामीलाई समस्या हुने गरेकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
सामान्य रोगको समस्या भएका बिरामीलाई यही उपचार तथा औषधि वितरण गरिएको र मुटुरोग, हाडजोर्नीजस्ता जटिल खालका बिरामीलाई भने जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा लगेर निःशुल्क उपचार गरिने जनाइएको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न नागरिकलाई लक्ष गरेर शिविर आयोजना गरिएको भोजपुर नगर प्रमुख कैलाशकुमार आलेको भनाइ थियो ।