२८ जेठ २०८३, बिहीबार
परिकार

डामेको कर्कलोको ढुंग्री कसरी बनाउने ?

चैत ५, २०७८
डामेको कर्कलोको ढुंग्री कसरी बनाउने ?

हाम्रो गाउँघरमा सजिलै पाइने कर्कलोलाई निजी क्षेत्रको क्यानेडियन अनुसन्धान केन्द्र टोरन्टो तथा प्रयोगात्मक अनुसन्धानका प्रमुख नेपाली वैज्ञानिक नारायण घिमिरेले ‘सुपर फूड’ भनेर नामकरण गरेका छन् । 

सल्फर, एमोनिया, नाइट्राइट, जिंक, क्याल्सियम अक्जालेट जस्ता तत्व पाइने कर्कलो धेरै हिपिएको सब्जी हो । कोक्याउँछ भनेर यसलाई गाउँघरमा कमैले खाने गरेका छन् र धेरैलाई यसबाट के–के परिकार बन्छ भन्ने ज्ञान पनि छैन ।

स्वास्थ्यका हिसाबले धेरै नै लाभदायक यो सब्जीको महत्त्व पछिल्लो समय बढ्दै गएको छ । कर्कलोको आफ्नै नेपाली मौलिक परिकारहरू पनि छन् । कर्कलोको गाभा र भटमासको तरकारी खुब स्वादिष्ट हुन्छ तर यहाँ हामीले चर्चा गर्न खोजेको परिकार भने अलि भिन्न र पृथक छ । 

डामेको कर्कलोको ढुंग्री बनाउन अलि गाह्रो र समय पनि लाग्छ तर खान निकै स्वादिष्ट हुन्छ । देख्दा पनि निकै आकर्षक देखिन्छ । कर्कलो खान जानेमा हाम्रो दैनिक जीवनको अभिन्न अंग नै हो । यसका थरिथरि मौलिक लोक परिकारहरू बनाएर खान सकिन्छ ।

चाहिने सामग्रीः कर्कलोको पात ४ वटा, कालो मास ५०० ग्राम, अदुवा–लसुन पेस्ट डेढ चिया चम्चा, नून स्वाद अनुसार, खुर्सानीको धुलो आधा चिया चम्चा, जिरा धनियाँको धुलो आधा चिया चम्चा, तोरोको तेल ४० एमएल, हरियो धनियाँ आधा मुठा ।

बनाउने विधिः कर्कलाको पातलाई हल्का बफ्याएर एक साइड लगाउने । एक रात पहिला मासको दाल भिजाएर राख्ने र हातले मुछेर छिल्का फ्याक्ने । ब्ल्यान्डरमा राखेर राम्ररी पिस्ने र सम्पूर्ण मसला हालेर मोल्ने । अन्त्यमा हरियो धनियाँ काटेर मिसाइदिने र कर्कलोको पातमा लेपन गरी बिस्तारै रोल गरी ढुंग्री बनाउने । स्टिमरमा राखेर १०–१२ मिनेट बफ्याउने । केहीबेर चिस्याएर चक्ला–चक्ला काट्ने र तावा वा ग्रिलरमा डाम्ने । दुवै साइड डामेर गोलभेडाको चट्नी या धनियाँको चट्नीसँग सर्भ गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्