०२ साउन २०८३, शनिबार

नोबेल अस्पतालमा पुनः शुरू भयो ईआरसीपी, अब विना चिरफार पथरिया निकाल्न सकिने

नोबेल अस्पतालमा पुनः शुरू भयो ईआरसीपी, अब विना चिरफार पथरिया निकाल्न सकिने

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः ईआरसीपी सेवा शुरू भएको छ । 

कोरोनाका कारण करीब दुई वर्ष यता स्थगित भएको यो सेवा अहिले पुनः शुरू भएको हो । 

पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको छ । मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै ईआरसीपी हो ।

सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुवै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, ईआरसीपी विधिमार्फत विना चिरफार मुखबाट इण्डोस्कोप छिराएर ढुंगा निकाल्ने गरिन्छ । 

यो विधि विरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ । नेपालका केही अस्पतालहरूमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । तर, कोरोनाको महामारी फैलिएपछि यो सेवा अवरुद्ध भयो । 

कोरोनाको प्रभाव घटेपछि अहिले डा. मोहन खड्का र डा.अमित भट्टराईसहितको टिमले पुनः ईआरसीपी शुरू गरेको अस्पतालले जनाएको छ । 

पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुने लगायत समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन् ।  तर, ईआरसीपी विधिमार्फत मुखबाट इण्डोस्कोप छिराई ढुंगालाई तानेर निकालिने हुनाले बिरामीलाई खासै असर नपर्ने चिकित्सकको भनाइ छ । ‘बिरामी छिटै निको हुने हुनाले अस्पतालको बसाइ, बाह्य असर र खर्च पनि कम हुन्छ,’ डा.भट्टराईले भने,  ‘पित्त नलीको ढुंगा निकाल्न ईआरसीपी विधि एकदमै प्रभावकारी हुन्छ ।’

पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि लाभदायी हुने चिकित्सकहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्