![हिरो बन्छु भनेर मुम्बई हानिएको, निर्देशक भएर फर्किएँ : तुलसी घिमिरे [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/tulsi_ghimire_ChJhRFh5L5.jpg)
नेपाली चलचित्रका सफल निर्देशक हुन् तुलसी घिमिरे । उनको जन्म १५ जुलाई १९५१ मा भारतको दार्जिलिङस्थित कालिम्पोङमा भएको हो । सानैदेखि चलचित्रमा रुचि राखेका उनी भारतको मुम्बई (बम्बई) हुँदै नेपाल प्रवेश गरे ।
गुरुको आज्ञाअनुसार नेपाली भाषाका १० चलचित्र बनाउन नेपाल आएका उनी १०औं चलचित्र ‘दक्षिणा’ बनाएर फर्कन खोजेका थिए तर यहाँको माया, मोहले उनलाई नेपाल छाड्न दिएन ।
आफ्नो जीवनमा उनले धेरै लोकप्रिय चलचित्रहरू नेपाललाई दिएका छन् । अझ भनौं नेपालमा व्यावसायिक चलचित्रको जग उनैले बसालेका हुन् ।
निर्देशकमा मात्रै उनको परिचय सीमित छैन । उनी पटकथा लेखक, चलचित्र सम्पादक, क्याराम्यान, अभिनेता, गीतकार लगायतमा निपूर्ण छन् । उनै बहुप्रतिभाका धनी तुलसी घिमिरेसँग लोकान्तरकर्मीकेशव राना क्षेत्रीले गरेको कुराकानीको सम्पादित अंश –
बाल्यकाललाई कसरी सम्झनुहुन्छ ?
– एउटा साधारण किसान परिवारमा जसरी एउटा बालक हुर्किन्छ, त्यसरी नै मेरो बाल्यकाल बित्यो । गाउँले परिवेश, गाउँकै कामकाज गरेर हुर्किएँ । गाईवस्तु चराएर, खेतीपाती गरेरै हुर्किएको मान्छे हुँ । यसका अतिरिक्त म फूटबल बढी खेल्थें ।
मेरो पढाइ १ कक्षासम्म गाउँको प्राथमिक पाठशालामा भयो । त्यसपछि मनि मेमोरियल हुँदै स्कटिज युनिभर्सिटी मिसन इन्स्ट्यिुटन स्कूलबाट उच्च माविसम्मको पढाइ सकें । बीए भने मैले कालिम्पोङ कलेजबाट गरें । त्यसपछि पढाइलाई अगाडि बढाइएन ।
कालिम्पोङको गाउँमा जन्मेको एउटा सामान्य केटो चलचित्रका लागि मुम्बई कसरी पुग्नुभयो ?
– सानैदेखि फिल्म साह्रो मन पथ्र्यो । हेर्ने होइन, फिल्म लाइनमा जाने । गाउँबस्तीमा बसेर फिल्म हेर्न पाइन्थेन । आफ्नै काम धेरै हुन्थ्यो । फिल्म लाइनमा जाने भित्री इच्छा थियो ।
सन् १९६० को दशकको कुरा गर्दैछु, त्यतिखेर फिल्म लाइनमा मुम्बई जाने भनेको खेलाँचीको कुरा थिएन, इच्छा चाहिँ थियो । प्रहरी, आर्मीमा छनोट भए पनि सबैलाई स्किप गरेर मुम्बईकै बाटो खोजिरहें ।
सन् १९७४ मा रोमियो एण्ड सिक्किम भन्ने युनिट सिक्किममा छायांकनका लागि आएको थियो । त्यो युनिटसँग मित्रता गरें, परिचय गरें, तिनीहरूबाट मुम्बई जाने बाटो देखें । उनीहरूले हाउ टु एन्टर फिल्म भनेर सिकाइदिए । उनीहरूकै हिसाबले नै मैले २३ वर्षको उमेरमा मुम्बईको यात्रा तय गरें ।

मुम्बईमा संघर्ष गर्दा कस्ता किसिमका समस्याहरू झेल्नुपर्यो ?
– मेरो आफ्नै कथा नै हुन्छ, मुम्बईको संघर्षको विषय तर छोटकरीमा भन्दा रोमियो एण्ड सिक्किमको युनिटले मलाई मुम्बई बोलाएको थियो तर उसले ५०० भन्दा धेरै पैसा नबोक्नु भनेको थियो । त्यहाँ पुगेपछि थाहा भयो ५०० रुपैयाँको काम नलाग्दो रहेछ, त्यो भनेको एकदमै साह्रो परेपछि मात्रै चलाउनुपर्ने रहेछ ।
मुम्बईको पहिलो रात त मैले रेल्वे स्टेसनमा बिताएँ । दोस्रो रात चाहिँ एउटा साथी थियो, उसकोमा गएर बास मागें । सानो झुपडी जस्तो थियो । यहाँ बस्छस् भने बस् भन्यो, पंखा थिएन, असाध्यै गर्मी । मनमा अठोट थियो यहाँ जसरी पनि अडिनुपर्छ भनेर । कोठा भाडामा पाइन्थ्यो तर कोठा भाडा तिर्ने पैसा पनि हुँदैनथ्यो ।
अलि पछि अर्को साथी हनिफलाई भेटें । उसलाई कति दिन लाग्ने हो काम सिक्न, पैसा कमाउन बस्ने ठाउँ पाएदेखि हुन्थ्यो भनें । पुरानो घर रहेछ उसको आमालाई सोध्यो, सफा गरेर बस्न सक्छस् भने बस् भनेपछि सफा गरेर बसें । त्यही कोठाबाट नै टेक्निसियन भएर निस्किएँ । पछि सानो आफ्नो कोठा लिएँ । त्यसरी अगाडि बढ्दै गएँ ।
त्यहाँ सर्भाइभ हुन धेरै गाह्रो भयो । फिल्म क्षेत्रमा काम गर्ने हो भने पहिले स्पटब्वाय गर् भन्यो गरें, त्यसपछि असिस्टेन्ट मेकअप म्यान भएर काम गरें । मेकअपमा पनि मन परेन, त्यहाँ गालीगलौज धेरै हुन्थ्यो । लाइट ब्वाय, क्यामरा टेकर भएर पनि काम गरें ।
एक दिन एडिटिङ रूममा पुग्ने मौका पाएँँ । त्यहाँको माहोल, काम गराइ हेर्दा के लाग्यो भने एस् यो डिपार्टमेन्टमा प्रवेश गर्न पायो भने फिल्म इन्डस्ट्रीमा केही न केही गर्न सक्छु । त्यसपछि त्यहाँका गुरुजीलाई अनुरोध गरें । त्यो यात्रापछि भने मैले पछाडि फर्केर हेरिनँ । त्यसपछि इडिटर भएँ । त्यही टेबलमै डाइरेक्सन सिकें, त्यसपछि डाइरेक्सनमा आएँ । आफ्नै प्रोडक्सन हाउस बनाएर अहिलेसम्म चलिरहेको छ ।
चलचित्र क्षेत्रमा पनि निर्देशन नै रोज्नुभयो, हिरो बन्न मन लागेन ?
– (हाँस्दै) जान त म पक्का हिरो नै बन्छु भनेर मुम्बई गएको हो । मुम्बईमा पुगेपछि मभन्दा धेरै राम्रा, ह्यान्सम, टल, गूड लूकिङ, हिन्दी अंग्रेजी उर्दूमा कमाण्ड भएका केटाहरू पनि संघर्ष गरिरहेको देखें । त्यो एउटा रहर चाहिँ थियो । त्यतिबेला मेरो साथीले भन्यो – यहाँ अडिएर बसिस् भने पो तँ आर्टिस्ट हुन्छस् त ! अडिनै सकिनस् भने के को आर्टिस्ट ? कि तेरो घरबाट धेरै पैसा आउनुपर्यो कि कमाउनुपर्यो । त्यसपछि टेक्निसियन काम सिक्दै काम गरियो । एकपटक टेक्निसियन भइसकेपछि हिरोको चक्करसक्कर दिमागबाट निस्क्यो पनि ।

मुम्बईमा सम्पादनको काम गरिरहेको मान्छे नेपाल प्रवेश कसरी भयो ?
– मैले धेरैपटक भनेको छु यो प्रसंग । धेरै चलचित्रहरूमा एसिस्टेन्ट गरिरहेको थिएँ म । त्यतिबेला एउटा फिल्म चलिरहेको थियो ‘चाचा भतिजा’ भन्ने रणधीर कपूरको, त्यही बेला ‘सिन्दूर’ चलचित्र लिएर प्रकाश थापा दाइ आउनुभयो ।
त्यतिबेला ईपी र एलपी भन्ने रेकर्डरहरू निस्कन्थ्यो । एलपीमा लामो गीतहरू अट्थ्यो । ईपीमा ३ मिनेट २५ सेकेन्डको भन्दा बढी हुन हुँदैथ्यो । गीतहरू प्रायः ५–६ मिनेटको हुन्छ । त्यसलाई ३ मिनेट २५ सेकेन्डमा ल्याउनलाई रिपिटहरू सबै इडिट गरेर चिटिक्क पानुपथ्र्यो । ‘सिन्दूर’ फिल्मको त्यो कामको लागि प्रकाश थापा दाइ मेरो गुरुकोमा आउनुभएको थियो ।
गुरुले त्यो काम मलाई दिनुभयो । फटाफट सिन्दूर चलचित्रको ५ वटा गीतको काम गरें । पैसा कति दिन्छ राख भन्नुभयो गुरुले । प्रकाश थापा दाइले कति दिउँ त भन्नुभयो । दाइ तपाईंको फ्यान हुँ म, पर्दैन । मेरो सानो कन्ट्रिब्युसन सम्झनुहोस् भनें । उहाँले एउटा नोट दिनुभयो, त्यो नोट अझै छ मसँग ।
त्यसपछि एकदिन गुरुले तँ कुन भाषामा कुरा गरिरहेको थिइस् त्यो मान्छेसँग भन्नुभयो । मैले नेपाली भनेपछि तँलाइ नेपाली आउँछ भनेर सोध्नुभयो । म नेपाली नै हो भनें । काम गर्न लागेको २ वर्ष भइसक्दा पनि त्यतिबेलासम्म को के हो भनेर सोध्नु नै भएको थिएन ।
नेपाली फिल्म इन्डस्ट्री कस्तो छ भनेर सोध्नुभयो, फस्टाएको त छैन तर ६–७ वटा फिल्म बन्यो भनें । उहाँले वर्षमा ६–७ कि अहिलेसम्म भनेर सोध्नुभयो । अहिलेसम्म बनेको भनें । त्यसपछि अरु कुरा भएन ।
पछि गुरुपूर्णिमाको दिन सबै गुरु भाइहरूलाई एउटा राम्रो पार्टी दिनुभयो । गुरुआज्ञा पनि दिनुभयो । गुरु दक्षिणा पनि दिनुभयो । मलाई चाहिँ तैंले के भाषा भनेको थिइस् भन्नुभयो, मैले नेपाली भनें, तेरो भाषामा १० वटा चलचित्र बनाउनू गुरुआज्ञा पनि यही हो गुरु दक्षिणा पनि यही हो भन्नुभयो । सबैले ताली पनि बजाइदिए । त्यतिबेला पैसा कहाँबाट ल्याउनु भन्न पनि सकिएन । सोचें मनमा – पैसासैसा छैन अरु आज्ञा दिनु भनेर १–२ दिनमा भन्छु भनेर तर १ हप्ता नबित्दै गुरु बित्नुभयो । त्यो एउटा भारा बस्छ भन्छन्, त्यहाँ गुरुको एकदमै मान छ, कसरी बनाउने त्यत्रो चलचित्र ? पैसा खोज्न थालें ।
मेरो एउटा साथीले जहाँसम्म पैसा लाग्दैन त्यहाँसम्म काम गर् भन्यो । स्टोरी, स्क्रिन प्ले, म्युजिक, लिरिक्स बनाउञ्जेलसम्म त पैसा काम छैन भन्यो । कलेजका दिनहरूमा एउटा नाटक गरेको थिएँ, त्यसैलाई स्टोरी बनाएँ । स्क्रिनप्ले पनि गरें । डाइलग त्यही हिसाबले लेखें । गानाहरू पनि जम्मा गरियो ।
रञ्जित गजमेर दाइसँग पनि त्यतिखेरै भेट भएको थियो, लौन म्युजिक गरिदिनुपर्यो भनें । उहाँले म्युजिक रेडी गरिदिनुभयो । ‘मिरमिरे साँझमा सिमसिमे पानीमा’, ‘झझल्को लिएर आएछ सावन’, ‘हिमाल जलेर ज्वाला भएछ’ उहाँले कम्पोज गरिदिनुभयो । त्यहाँसम्म पुग्दा स्क्रिप्ट, गीतहरू पनि तयार भयो । अनि फाइनान्स खोज्न थालियो, त्यतिबेला एउटा बेंगोली मित्र भेटें । उसले ल ५ लाखसम्म म पैसा हाल्दिन्छु भन्यो । त्यतिबेला ४ लाख ७५ हजारमा ‘बाँसुरी’ बन्यो । फस्र्ट स्टेप त भयो अब ९ वटा स्टेप छ अझै, कसरी जाने ? दोस्रो चलचित्र हामी आफैंले मिलेर ‘कुसुमे रुमाल’ बनायौं । कसैले २० हजार, २५ हजार हाले । त्यो ‘सक्सेसफुल’ पनि भयो, २–४ जना लगानीकर्ताहरू पनि भेटियो । त्यसपछि लगातार चलचित्र बनाइयो । १०औं चलचित्र चाहिँ ‘दक्षिणा’ हो । गुरुदक्षिणा नाम राखेको थिएँ मैले, त्यो अलरेडी दर्ता भइसकेको रहेछ ।

तपाईंले निर्देशन गरेको पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ नेपालमा प्रदर्शन हुन पाएन, किन ?
– त्यहाँ एउटा गीत थियो ‘हिमाल जलेर ज्वाला भएछ, आशाहरू सबै राख भएछन्’ भन्ने । त्यो गीतमा कसले तुलसी घिमिरेले त हिमाल नै जलाइदिएछ भनेर सुनाइदियो । त्यो गीत ब्यान भयो । मैले सफाइ पनि दिएँ – त्यो एउटा हिरोको मनस्थिति हो । हिमाललाई कसले जलाउन सक्छ र ? एउटा सानो बरफको टुक्रालाई जलाउन सकिँदैन भने, हिमाल कसले जलाउँछ भनेर तर पनि गीत ब्यान भएपछि फिल्म पनि ब्यान भयो । नेपालमा रिलिज भएन त्यो चलचित्र । त्यसले लगानी इन्डियाबाटै उठायो ।
दोस्रो चलचित्र ‘कुसुमे रुमाल’ लिएर नेपाल आउनुभयो, तपाईंको निर्देशन जीवनमा यसलाई ‘टर्निङ प्वाइन्ट’ मान्न सकिन्छ ?
– हो त्यो मान्न सकिन्छ । खासगरी टर्निङ प्वाइन्टकै हिसाबले हेर्न हो भने बाँसुरीलाई नै मानिन्छ, किनभने मैले मूभ गरेको बेला हो त्यो तर कुसुमे रुमालले चाहिँ गति लियो । १० स्टेप पुग्छु भन्ने आँट कुसुमे रुमालले दियो ।
बजेट जुटाउन कत्तिको गाह्रो हुन्थ्यो ?
– (हाँस्दै) भयंकर गाह्रो नि ! कसले हाल्ने ? कसैले नसोचेको ठाउँ, त्यहाँ पैसा हाल्न कोही आउँदैन्थ्यो । फकाउँदा–फकाउँदा बल्ल पाइन्थ्यो ।
निर्देशनसँगै थुप्रै चलचित्रमा पटकथा, संगीतकार, सम्पादकको भूमिका निभाउनुभयो । चलचित्र ‘बलिदान’ र ‘रहर’मा तपाईंले क्यामरा म्यानको समेत काम गर्नुभयो । एउटै मान्छेले त्यतिधेरै जिम्मेवारी किन लिनुपरेको ?
– कामसँग सम्बन्धित कुराहरू सबै मुम्बईमा सिकियो । गीत लेख्दा पनि धेरै ठाउँमा गएर गीत लेखाउने प्रयास गरें । उनीहरू भन्थे – २–३ दिनपछि आऊ । स्क्रिनप्ले, डाइलगहरू लेख्ने त्यतिबेला यहाँ कोही पनि थिएन । एक त म चिन्दिनँ थिएँ यहाँ । मुम्बईमा नेपाली लेख्ने कोही थिएन । यहाँ आएर गर्ने स्थिति थिएन पनि । सिकेको त हो नि भनें । गीत म पहिले पद्यमा लेख्थें । त्यसपछि मिटरमा हाल्थें । बडा मेकानिकल पाराले गरेको सबै कामहरू । एडिटिङमा त एक्सपर्ट नै थिएँ, अवार्डहरू पनि पाएको थिएँ ।
स्टोरी म आफैं गर्थे । कतिवटा स्टोरीहरू ल्याएर नदिएका पनि होइनन् । स्टोरीभन्दा पो सजिलो हुन्थ्यो, त्यसलाई पिक्चराइज गर्न त एकदमै महंगो हुन्थ्यो । ठिक्कको बजेटभित्र आउने स्टोरीहरू आफैं लेख्थें । त्यसलाई स्क्रिनप्ले गर्थे, डाइलग, लिरिक्स लेख्थे । हेर्दाखेरी पैसा बचाउन गरेको जस्तो पनि हुन्थ्यो । केही हदसम्म ठीकै पनि हो तर धेरै पैसा त बच्दैन्थ्यो । टीम नभेटुञ्जेल मैले यसरी नै काम गरें ।

आर्थिक हिसाबले नेपालभन्दा मुम्बईमा राम्रो हुन्थ्यो होला, फर्कने सोच आएन ?
– ‘दक्षिणा’ बनाइसकेपछि १० वटा ‘कम्पलिट’ भयो, अब जाँदा हुन्छ होला सोचेको थिएँ तर प्रकाश थापा दाइलगायत धेरैले यो तिम्रो सोसाइटी पनि भयो । यहीँ गरौं भन्नुभयो । त्यहाँ ब्यागभरिको पैसा पाउँछस्, हृदयभरिको माया चाहिँ यहीँ नै पाउँछस् । नेपालीको जुन माया छ त्यो त्यहाँ पाउँदैनस् सोच भनेपछि मलाई कुरा राम्रै लाग्यो । त्यसपछि यहीँ बसें ।
बाँसुरीदेखि दर्पण छायाँ २ सम्म आउँदा २३ वटा चलचित्र निर्देशन गर्नुभयो तर त्यसमध्येको एउटा एनिमेटेड चलचित्र ‘गौतम बुद्ध’ प्रदर्शनमा आएन, किन ?
– २० करोड लगानीको चलचित्र थियो त्यो । ४५ भाषामा डबिङ गर्ने तयारी थियो । त्यसका लगानीकर्ताको मृत्यु भएपछि त्यो प्रदर्शनमा आउन सकेन । मैले कोसिस गरिरहेको छु । एनिमेसनको लागि प्रयास भइरहेको छ । हेरौं यसलाई बढाउन सकिन्छ कि नाइँ ? कसैले चाहिँ ‘ह्युमन बिइङ’ नै राखेर गरौं न त, फिचर्ड फिल्म बनाउन त भनेर सुझाव पनि आए तर ३२ लक्षणयुक्त गौतम बुद्धका लागि मान्छेलाई कसरी देखाउने त्यसैले एनिमेसन नै बनाउने भन्ने छ । भविष्यमा बन्छ यो ।
चलचित्र बनाउँदा नेपाली नागरिकता नभएर केही समस्या त भएन ?
– मेरो नेपाली नागरिकता छैन । गौतम बुद्ध बनाउँदा इच्छा थियो मानार्थ नागरिकता मैले पाएँ भने बाइचान्स कतैबाट ठूलो अवार्ड लिएर आउँदा पियोरली नेपाली नाम भयो भने मलाई पनि खुुशी लाग्थ्यो ।
चलचित्र विकास बोर्डले यसबारे पहल गरेको थियो । अहिले थाहा छैन, त्यो फाइल कहाँ अड्कियो तर नागरिकता नभएर कहीँ पनि अल्झनुपरेन । त्यो स्नेह, माया सोचेभन्दा धेरै पाएको छु ।
अहिले चलचित्र प्रमोसनका लागि सामाजिक सञ्जालको बढी मात्रामा प्रयोग भएको पाइन्छ, त्यसबेलाको प्रचार शैली कस्तो थियो ?
– फिल्म हलमा ट्रेलर देखाइन्थ्यो । करीब ५ मिनेटको हुन्थ्यो । त्यही नै थियो प्रचार शैली । त्यसबाहेक रेडियो, पत्रपत्रिकाबाट पनि प्रचार हुन्थ्यो । माउथ पब्लिसिटी धेरै हुन्थ्यो । नेपाली चलचित्र कुन बन्दैछ भनेर प्रायः थाहा हुन्थ्यो । फिल्म हेर्ने कल्चर थियो त्यतिबेला ।

पहिले चलचित्रले ५१ दिन मनायो भनेर ‘सेलिब्रेसन’ गर्ने चलन थियो, यसको अर्थ के हो ?
– ५१ दिन त हामीले स्टार्ट गरेको । एउटै हलमा ३ शो १०० दिनसम्म चल्यो भने ‘हन्ड्रेड डेज’ भनेर मनाइन्थ्यो । सिल्भर जुबिली एउटै हलमा ३ शो २५ हप्तासम्म चल्नुपथ्र्यो । ५० हप्ता चले गोल्डेन जुबिली, ७५ हप्ता चल्यो भने डायमण्ड जुबिली, १०० हप्ता चल्यो भने प्लाटिनम जुबिली यसरी गरिन्थ्यो त्यतिबेला ।
अहिलेसम्म नेपाली चलचित्रमा ३ वटा कुसुमे रुमाल, लाहुरे र चिनो सिल्भर जुबिली भयो । दर्पण छायाँ चाहिँ हन्ड्रेड डेज पार गर्यो । सानो मार्केटमा ५१ दिन चल्नु पनि ठूलो कुरो हो भनेर ५१ दिन पनि मनाऔं न त । ५१ दिन चल्नु पनि हामी सक्सेसफुल हो भनेर, त्यसरी शुरूआत भएको हो ।
पहिले र अहिलेका दर्शकको ‘फिल्मी टेस्ट’मा केही फरक पाउनुभएको छ ?
– खासै टेस्ट फरक भएको पाएको छैन । इमोसनल फिल्म सबैलाई चाहिन्छ, कमेडी पनि केही हदसम्म चल्छ । टेस्ट फरक भएको भनेको अहिले युवा पुस्ताको हो तर उनीहरूलाई पनि साह्रो फटाहापन मन पर्दैन । उनीहरू पनि इमोसनल चलचित्र बारम्बार हेर्न रुचाउँछन् । टार्गेटेड अडियन्स युवा पुस्ता भए पनि कन्टेन्ट हाम्रै सोसाइटी र परिधिभित्रको हुनुपर्छ । कुनै बलिउड, हलिउड चलचित्रको नक्कल गर्न जरुरत नै छैन ।
अहिले बनिरहेका चलचित्र र पहिलेका चलचित्रलाई कसरी तुलना गर्नुहुन्छ ?
– पहिलेको चलचित्रहरूमा टेक्निकल रूपमा राम्रो थिएन । अहिलेको चलचित्रमा टेक्निकल पार्ट राम्रो छ । पहिलेको चलचित्रमा सर्टेन फर्मुला हुन्थ्यो । टेक्निलकल फर्मुलमा बनाउँथ्यौं हामी, लङसट, एक्सट्रिम लङसट, मिड लङसट, क्लोज सटलगायत यसरी सट डिभिजन गरेर बनाउँथ्यौं । अहिले चाहिँ भिजुअल अर्कै हुन्छ, बेटर भिजुअल हुन्छ । त्यतिबेला सोल लाइन राम्रो हुन्थ्यो । पोजिटिभ स्टोरी हुन्थ्यो, कन्टेन्ट राम्रो हुन्थ्यो । अहिले टेक्निकल राम्रो छ, कन्टेन्ट फितलो नै छ ।
अहिलेका चलचित्रमा के–के सुधारको आवश्यकता छ ?
– कन्टेन्ट राम्रो ल्याउनुपर्छ । पर्फम राम्रो गर्नुपर्छ । अनि टेक्नोलोजीको सही सदुपयोग गर्नुपर्छ ।
अबको चलचित्र क्षेत्र कस्तो हुनुपर्छ वा बनाउनुपर्छ ?
– अब चलचित्र क्षेत्रको परिधि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय प्लाटफर्ममा पुग्नुपर्छ । त्यसका लागि यहाँको मौलिक कथाहरू चाहिन्छ । त्यही हिसाबको स्क्रिनप्ले, पर्फम पनि चाहिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा हिन्दी फिल्महरू गए नि पहिले त्यहाँको चलचित्र उद्योग पनि गरीब थियो । त्यति पावरफुल थिएन । अन्तर्राष्ट्रिय चलचित्रमा जमाइसकेपछि धेरै पावरफुल भयो ।
हामी पनि अहिले संसारभर जहाँजहाँ नेपालीहरू फैलिएका छन्, त्यहाँ त्यहाँ पुग्यौं भने, डिफ्रेन्ट फेस्टिभलहरूलाई रिप्रिजेन्ट गर्न सक्यौं भने पक्कै पनि यसको परिधि बढेर जान्छ । त्यो हुनुपर्छ पनि । नत्र हामी आफैंलाई ढाँट्दै बसिरहेका छौं नि बिर्तामोड, दमकमा अपार सफलता भनेर । त्यसरी नै आफैंलाई ढाँट्दै बसिरहेका हुनेछौं । नेपाली चलचित्रको भविष्य एकदमै उज्जवल छ, राम्रो छ तर भविष्य उज्जवल भएर मात्रै भएन । क्रियटिभ मानिसहरूले यसलाई कसरी प्रयोग गर्ने भन्ने जान्नुपर्छ ।

प्रसंग बदलौं, कति वर्षको उमेरमा विवाह गर्नुभयो ?
– ३८ वर्षको उमेरमा भारतीसँग विवाह भयो । अलि ढिलो पनि के भन्नु एकदमै ठिक्क उमेरमा बिहे गरेको जस्तो लाग्छ ।
प्रेम विवाह कि ‘एरेन्ज’ ?
– के भन्नु, के भन्नु । टेक्निकल हो कि खोइ ? (हाँस्दै) उनी मेरो असिस्टेन्ट थिइन्, सँगै धेरै काम गर्यौं । हाम्रो कुरा मिल्थ्यो, मन मिल्थ्यो । रोमान्स भन्ने कुरा कहिल्यै पनि आएन । मेरो घरबाट विवाहको लागि प्रेसर आउन थाल्यो । त्यतिबेला ह्वाइनट यू भन्ने कुरा आयो । पछि दुवैपट्टिको बुवाआमाले कुरा मिलाएर, चिना मिलाइयो, मिल्यो पनि । एरेन्ज भनौं भने, प्रेम पनि भएको हो । प्रेम भनौं सबैको मिलेमतोमै भएको हो । टेक्निकल मन मिलेको पनि हो । (हाँसो)
सँगै काम गर्ने रञ्जित गजमेरलाई ससुरा बनाउनु भो है ?
– कस्तो भयो भने सँगै काम गथ्र्यौं, घरमा आनाजाना भयो । उनको छोरी पनि टेक्निकल लाइनमा आइन् । पहिले त हामी साथीसाथी जस्तै थियौं । अहिले पनि म रञ्जित दाइ नै भन्छु, उहाँले पनि ओ गाउँले भन्नुहुन्छ । यो रिलेसन आफ्नो ठाउँमा छ हाम्रो पुरानो रिलेसन हो नि त ! फ्रेन्डसिपको रिलेसन हो । यो रिलेसनमा कसैको पनि बाधा भएन ।
भारती घिमिरेले गाउनुभएका धेरै गीतहरू लोकप्रिय पनि छन्, त्यसलाई किन अगाडि बढाउनु भएन ?
– उनी पहिले गायिका हुन् । राम्रो गाउँथिन् तर पछि निरन्तरता दिइनन् । २ पाते सुइरो, पिरतीको मीठो तिर्सना, रेलिखोला बगर लगायतका थुप्रै गीतहरू गाएकी छन् ।
छोरीहरू भावना र पञ्चमीले के गर्नुहुन्छ ?
– भावनाले हिन्दी चलचित्रमा आर्ट डाइरेक्सन गर्छिन् । पञ्चमी एड फिल्महरूमा प्रोडक्सन एक्जुक्युटिभ हुन् । अहिले डाइरेक्सनमा छिन्, भविष्यमा डाइरेक्सनमा आउने भन्दैछिन् । डाइरेक्सन सिक्दैछिन् पनि ।
अन्त्यमा, चलचित्र क्षेत्रका नयाँ पुस्तालाई यहाँको सुझाव के छ ?
– पुरानो पुस्ताले नयाँ पुस्तालाई जहिल्यै पनि स्वागत गर्छ तर नयाँ पुस्ताले के कुरा सिक्नुपर्छ भने आर्टिस्ट हुन आउनेले हिन्दी, बंगाली फिल्म त्यहाँ किन पुग्यो त ? त्यहाँको आर्टिस्टले के कन्ट्रिब्युट गर्छ, त्यो पढ्नुपर्छ, जान्नुपर्छ । सर्जकहरूले पनि उनीहरू कत्तिको सिरियस छन् भन्ने कुरा ख्याल गर्नुपर्छ ।
फिल्म किन बनाउने ? पैसाका लागि बनाउने हो भने त गलत हो । केही पैसा लगानी हुन्छ, केही पैसा फर्कन्छ त्यही हो । नेपाली चलचित्र चाहिन्छ भने कुन रूपमा चाहिन्छ ? यस्ता कतिपय कुराहरू सोच्नुपर्छ । सोचेर आइयो भने यो लाइन धेरै अगाडि बढ्न सक्छ ।
अहिले पढेको नयाँ जेनेरेसन आएको छ, उनीहरू एकदमै ट्यालेन्टेड छन् । अलिकति त्यतातिर स्टडी गरेर फिल्म उद्योगलाई कसरी अगाडि बढाउने भनेर सोचेर आयो भने भविष्य एकदमै उज्जवल छ ।