३० जेठ २०८३, शनिबार
डिजिटल नेपाल

सरकारी सेवा लिन लाइन लाग्नै नपर्ने गरी पूर्वाधार विकास गर्दैछौं– अनिलकुमार दत्त, सहसचिव

चैत २४, २०७८
सरकारी सेवा लिन लाइन लाग्नै नपर्ने गरी पूर्वाधार विकास गर्दैछौं– अनिलकुमार दत्त, सहसचिव

डिजिटल नेपालको ५ वर्षे फ्रेमवर्क दुई वर्षदेखि कार्यन्वयनको क्रममा छ । सरकारी निकायलाई क्रमशः डिजिटल प्रणालीमा लैजाने काम भइरहेको छ । सेवाग्राहीले ‘लाइन’ लाग्न नपर्ने गरी ‘अनलाइन’मा लैजाने प्रयास डिजिटल नेपाल फ्रेमवर्कले गरिरहेको छ । 

डिजिटल फ्रेमवर्क कार्यान्वयनको अहिलेसम्मको प्रयास र उपलब्धिहरूका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सहसचिव अनिलकुमार दत्तसँग राजु बास्कोटाले गरेको कुराकानीको सम्पादित अंशः 

डिजिटल नेपाल फ्रेमवर्कमार्फ ५ वर्षमा सरकारी सेवा कागजरहित बनाउने उद्देश्य छ । नेपाललाई डिजिटल बनाउने यो अभियानमा कहाँ पुग्यो ?

डिजिटल नेपाल फ्रेमवर्क ५ कात्तिक २०७६ मा मन्त्रिपरिषद्बाट स्वीकृत भएर कार्यन्वयनको क्रममा छ ।  भइसकेको छ । ५ वर्ष भित्रै सक्ने गरी डिजिटल नेपालका लागि गर्नुपर्ने काम र क्षेत्रहरू उल्लेख गरिएका छन् । यसका लागि डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारका ८ क्षेत्र र ८० वटा पहल पहिचान गरिएको छ ।

अहिलेसम्मको दुई वर्षे अवधिमा केही पहल अगाडि बढेका छन् । केही पूरा भएका छन्, केही कार्यान्वयन चरणमा र केहीमा भने काम हुनै बाँकी रहेको अवस्था पनि छ ।

डिजिटलाइजेसन गर्न शुरूआत भएका क्षेत्रको अवस्थाचाहिँ कस्तो छ ?

डिजिटल नेपाल बनाउन शुरू गरिने कार्यको पहिलो चरणको काम डिजिटल फाउन्डेसन हो । डिजिटल फाउन्डेसनको काम सञ्चार मन्त्रालय र मातहतका निकायबाट भइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषबाट अप्टिकल फाइबर बिच्छ्याउने काम पनि सँगसँगै भइरहेको छ ।

यो कामबाट स्थानीय तहका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सरकारी विद्यालयसहितमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने हो । अहिले ५१२ केबीपीएसमा मात्रै ब्रोडब्यान्ड विस्तार भइरहेको छ । यसको स्पीड बढाउने र स्थानीय तहसम्म नै सेवा पुर्‍याउने विषयमा दूरसञ्चार प्राधिकरणले विभिन्न प्याकेजबाट काम गराइरहेको छ । 

ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्दै डिजिटल फाउन्डेसन तयार गर्नु कत्तिको चुनौतिपूर्ण रहेछ ?

ब्रोडब्यान्ड विस्तार गर्दैै जानुपर्ने छ । तय भएअनुसारका ८ वटा क्षेत्रको  डिजिटल फाउन्डेसन तयार हुने हो । यो भनेको एउटा तहमा डिजिटल सेवा दिन सकिने आधार बन्ने छ ।

त्यसपछि एप्लिकेसन, स्ट्यान्डर्ड, कानून, संस्थागत संरचनासहितका विषयमा पनि परिवर्तन गर्दै जानुपर्ने छ । सरकारसँग डिजिटलाइजेसनमा काम गर्ने विभिन्न निकाय छन । राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल टेलिकमसहितको निकाय छन् । यी निकायबाट काम भइरहेको छ । डिजिटलाइजेसनको शुरूआत सञ्चार मन्त्रालय मातहतकै निकायले आफ्नो काम गरिरहेको अवस्था छ । रोडम्याप अनुसार नै काम पनि भइरहेको छ ।

डिजिटल नेपाल फ्रेमवर्कको काम विभिन्न क्षेत्रसँगको समन्वय विना हुँदैन । नेपालमा अन्तरसंस्था सहकार्य अत्यन्तै कठिन छ ।  समन्वय कसरी भइरहेको छ ?

समन्वय गर्नकै लागि प्रधानमन्त्रीकै नेतृत्वमा निर्देशक समिति बनेको छ । यसमा विभिन्न मन्त्रालयका मन्त्रीहरू उक्त समितिको सदस्य र सञ्चार मन्त्रालयका सचिव सदस्यसचिव रहने व्यवस्था छ ।

अर्को मुख्यसचिवको संयोजकत्वमा समन्वय समिति छ । उक्त समितिमा विभिन्न मन्त्रालयका सचिवहरू सदस्य छन् । यो बाहेक डिजिटल फ्रेमवर्कको कार्यान्वयन गर्न सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा समन्वय उपसमिति गठन छ । यो समन्वय उपसमितिमा विभिन्न क्षेत्र र निकायका १८ सदस्य छन् । यसमा गृह, उद्योग मन्त्रालयसहित डिजिटल नेपाल फ्रेमवर्कसँग जोडिएका र नजोडिएका तर आवश्यक पर्ने सबै निकाय छन् ।

समन्वय उपसमितिको बैठक हरेक महिना र निर्देशक र समन्वय समितिको बैठक आवश्यकता अनुसार बस्ने गर्छ ।

डिजिटल फ्रेमवर्कको विभिन्न ८ वटा क्षेत्र भएकोले त्यसको विभाग, मन्त्रालय मातहतका कार्यालय तथा समितिलाई भने सम्बन्धि मन्त्रालयले परिचालन गर्छ । समस्या आउँदा समाधान गर्ने, भइरहेको कामको समीक्षा गर्ने, अगामी वर्षको योजना बनाउने, एउटा निकायबाट अर्कोमा डाटा ट्रान्सफर गर्ने, सेक्युरिटी मेन्टन गर्ने सहितको विषयमा पनि बारम्बार छलफल भइरहेको छ ।

डिजिटल नेपालको नारा नै ‘लाइन हैन अनलाइन’ भन्ने छ । तर, व्यवहारमाचाहिँ पहिले अनलाइन अनि लाइन भएको छ, हैन ?

प्राविधिक काम भएकोले कहिलेकाहीँ सर्भरमा समस्या आउन सक्छ । सिस्टम बनाइसकेपछि त्यसको परीक्षण हुन्छ । साइबर सेक्युरिटी, कानुनी छिद्रबाट हुन सक्ने कमजोरीसहितका सबै विषयको पक्षबाट हेर्नुपर्छ ।

यसपछि सफल परीक्षणबाट मात्रै अनलाइन प्रणाली सार्वजनिक हुन्छ । तर, प्रविधिका कारण आएको समस्याले अनलाइनमा गइसकेपछि पनि सेवाग्राहीले दुःख पाएको हुनसक्छ । सिस्टमको सुरुआत गरिसकेपछि केही समस्या आउँदा कम भन्दा कम समयमा समाधान गर्ने पनि गरिएको छ ।

डिजिटल सिस्टम शुरू गरेको निकायमा पनि सर्वसाधारणले सेवा लिन समस्या भइरहेको भन्ने गुनासो सुनिन्छ । सरकारी निकायले अनलाइनमा दिएको सेवा प्रभावकारी नहुने, बैंक वित्तीय संस्थाले पनि अनलाइन फर्म भरेर फेरि लाइनमा बोलाउनुपर्ने अवस्था अझै छ नि ?

भौतिक रूपमा उपस्थिति हुनु नपर्ने र घरमै बसेर काम होस् भन्ने उद्देश्यले अनलाइन सेवा शुरू हुने गरेको छ । अनलाइनको सेवामा बलियो परिचय नै सबैभन्दा महत्वपूर्ण हो । अहिले हाम्रा सरकारी निकाय सबैसँग आआफ्नै डाटा सिस्टम छ । जस्तो निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालयसहितको आआफ्नै डाटा प्रणाली छ ।

यसलाई अनलाइन गरेर एउटा निकायबाट अर्को निकायले उसको डाटा प्रयोग गर्न सक्ने सिस्टम बनाउनुपर्छ । शतप्रतिशत डिजिटल डाटा बेसको सिस्टम भइदिएको भए त्यसलाई भेरिफाइ गर्न पनि सहज हुने थियो । अहिले त नागरिकता विवरणसहितका धेरै निकायको डाटा सबै डिजिटल भएको छैन् । नागरिक एपसहितको सेवा प्रभावकारी हुँदै जान थालेका छन् ।

नागरिक एपमामा अहिलेसम्म २० वटा सेवा आइसकेको छ । केही थपिँदै पनि छन् । तर, सबै क्षेत्र र तप्काका नागरिकले सहजै प्रयोग गर्ने र उपयोगी बनाउन अझै किन सकिएन ?

सबै डाटा डिजिटल भए पनि गत वर्ष वैशाखमा सार्वजनिक भएको नागरिक एपसहितका सेवा थप प्रभावकारी बनाउन सकिन्छ भनेर सरकारले प्राथमिकता साथ अगाडि सारेको हो । सबै सरकारी निकायबाट डाटा डिजिटलाइजेसन भइसकेपछि त्यसको सम्पूर्ण विवरण अर्को सरकारी निकायले पाउँछन ।

जसले सेवा सुविधा सहज र छिटो हुन्छ । कहिलेकाँही कुनै समस्या आएको हुनसक्छ तर, प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा भने प्रतिवद्ध नै छौं । आम नागरिकलाई चाहिने सेवा एउटै प्लेटफर्मबाट दिने उद्देश्यले नागरिक एप ल्याएको हो । नागरिकले एपमा रजिस्ट्रेसन गरिसकेपछि अहिलेसम्म दिइएको २० वटा सेवाको विवरण हेर्न मिल्छ ।

यसका साथै प्यान नम्बर लिन नयाँ नै लिन मिल्छ । सामाजिक सुरक्षा, सञ्चयकोष, नागरिक लगानीकोषसहितको सेवा लिएकाले एपबाटै आफ्नो विवरण हेर्न मिल्छ ।

सरकारले एकद्वारबाटै सेवा दिने भन्ने व्यवस्था यो एपबाट हुन्छ । अनलाइन आवेदन दिने सबै सरकारी निकायको काम यहीबाट गर्न सकिने अवधारणा नागरिक एपको हो । यसबाट इ–गभर्नेन्सको लागि सबै सेवा अनलाइनबाटै दिने भन्ने हो । विदेशमा जस्तै नेपालमा पनि एउटै परिचयबाट व्यक्तिको पूर्ण विवरण आउने सिस्टम बनाउने भन्ने हो । 

हरेक सरकारी निकायले दिने सेवा कागज रहित बनाउने चाहिँ कहिलेसम्म ?

यसको लागि समय लाग्छ । अहिले नै यो समयदेखि भन्न चाहिँ सकिदैन । काम गर्दै जाँदा र आवश्यक प्रक्रिया पूरा गर्दै जाँदा कति समय लाग्छ अहिले नै भन्न सकिँदैन । डिजिटल सेवाकै प्रभावकारिताका लागि विश्व बैंकसँगको सहकार्यमा डिजिटल नेपाल एक्सिलेसन प्रोजेक्टको विषयमा छलफल भइरहेको छ । डिजिटल नेपाल अगाडि बढाउन यसले थप प्रभावकारिता बनाउँछ । डिजिटल सेवा प्रभावकारी बनाउन इन्टरनेटको गति पनि छिटो चाहिन्छ ।

गति बढाउन कनेक्टिभिटी बढाउनुपर्ने हुन्छ । त्यो काम भइरहेको छ । इन्टरनेटको लागि भारतमा १ एमबीपीएसको १ डलर मात्रै खर्च हुन्छ भने नेपाल चार गुणाभन्दा बढी महंगो परिरहेको पनि छ ।

हामी भूपरिवेष्टित भएकोले इन्टरनेट यहाँ महंगो परिरहेको छ । डिजिटलाइजेसनमा भनेजस्तो छिटो काम गर्न नसकिएको हुनसक्छ । आम सर्वसाधारणलाई इन्टरनेट फ्रेन्डल्ली पनि हुनुपर्छ । यसका साथै डिजिटल नेपालको काम थप प्रभावकारी बनाउनुपर्छ । गाउँगाउँलाई प्रविधिमैत्री बनाउनुपर्ने र डिजिटल सेवा दिनुपर्ने हुन्छ । त्यो काम भइरहेको छ ।

सबै सरकारी सेवा डिजिटलमा र पारदर्शी एवं प्रभावकारी बनाउने नारा चाहिँ छ, तर नेपालमा कर्मचारी तहबाटै डिजिटल सेवालाई सहजै स्वीकार नगर्नुको कारण के हो ?

सबै विषय एकै पटक परिवर्तन हुँदैन । परिवर्तन गर्न पक्कै समय लाग्छ । हामीले इ–गभर्नेन्सको काम गर्ने भनिरहँदा त्यसका लागि आवश्यक धेरैवटा संरचनामा परिवर्तन ल्याउनुपर्छ । संस्थागत संरचनामा परिवर्तन गर्नुपर्छ । विभिन्न पदमा काम गर्ने कर्मचारीको ठाउँमा अब डिभाइस चाहिन सक्छ । डिजिटल प्रविधिको प्रयोग गराउने, आइटी विज्ञ चाहिन सक्छ । यो काम क्रमिक रूपमा हुन्छ । पहिलेदेखि एउटा ढंगमा चलिरहेको सिस्टमलाई एकै पटक परिवर्तन गर्न गाह्रो पक्कै हुन्छ । पछिल्लो समय नेपाललाई कोभिडले धेरै सिकायो । प्रविधिमा केही भए पनि फड्को मार्न सकियो । तर, पनि सबै निकायले डिजिटल प्रणाली स्वीकार्न भने समय लाग्छ । यो सबै मुलुकमा हुने विषय हो । हाम्रा सबै सिस्टम एक अर्कामा इन्ट्रिग्रेटेड भएपछि भने पक्कै डिजिटल सेवा प्रभावकारी हुन्छ ।

राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न थालिएको छ । अब हरेक नागरिकले एउटै मात्र परिचय पत्र बोकेर हिँड्न पाउने व्यवस्था हुने हो ?

राष्ट्रिय परिचय पत्र व्यक्तिको तीन पुस्ते विवरणसहितको पहिचान दिन ल्याइएको हो । यो पत्रको लागि चिप प्रयोग भएको हुन्छ । यसमा व्यक्तिको सम्पूर्ण विवरण हुन्छ । यस्तो विवरण थप गर्दै पनि जान सकिन्छ । अहिले १० वटै औंलासहितको बायोमेट्रिक छ । चिपमा व्यक्तिको विवरण थप गर्दै जान सकिन्छ । यो परिचय पत्रबाट कुनै व्यक्तिलाई आवश्यक स्वास्थ्य विवरण, जग्गा जमिन, बैंकिङ विवरण सबै राख्न सकिन्छ । अहिले चाहिँ व्यक्तिगत विवरण मात्रै राखिएको छ । कुनै व्यक्तिले ठगी गरे, ट्राफिकले हेर्नुपरे वा राज्यका निकायले चाहेको विवरण लिने र एक अर्को सरकारी निकायमा जाँदा एउटै कार्ड भए पुग्ने व्यवस्था गर्न खोजिएको हो ।

उसो भए अब केहिलेबाट एउटा व्यक्तिले एउटा मात्रै परिचय पत्र बोकेर हिँड्न मिल्छ त ?

विस्तारै एउटै परिचयपत्र बोके पुग्छ । अहिले राहदानी लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । राष्ट्रिय परिचय पत्र लिएको भए राहदानीका लागि फेरि डाटा इन्ट्री गर्न पर्दैन भनेर यसो गरिएको हो । भोलिका दिन यो सेवा थप अरू सरकारी निकायमा पनि हुँदै जान्छ । जसले गर्दा आम नागरिकको विवरण सबै सरकारी निकायमा अद्यावधिक गर्नु नपर्ने र एउटै निकायबाट लिएको कार्डले सबै क्षेत्रमा काम गर्छ ।

त्यसो हुँदा नागरिकलाई धेरैवटा परिचयपत्र बनाउनुपर्ने झन्झटबाट मुक्ति दिने प्रयास नै राष्ट्रिय परिचय पत्रको हुने छ । 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्