२० असार २०८३, शनिबार

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी

चैत २५, २०७८
राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित, निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी
फाइल फोटो

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ ।

सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको पुष्टि गरे ।

पूर्ववर्ती केपी ओली सरकारले २०७६ चैत्र २७ गते अधिकारीलाई गर्भनर नियुक्त गरेको थियो । कार्यकाल सकिनु अगावै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई हटाएको छ ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मासँग उनको खटपट परेको थियो । सरकारलाई सहयोग नगरेकोले उनलाई हटाउने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए । 

गभर्नर अधिकारीले भने निलम्बर भएको र छानविन समिति भएको अनौपचारिक जानकारी आएपनि औपचारिक पत्र भने नपाएको बताए । अधिकारी र मन्त्री शर्मा शुक्रबार दिउँसो एउटै कार्यक्रममा भएकोले कुनै संकेत पनि नहुँदा आफूले बाहिर हल्ला भएपनि मात्रै जानकारी पाएको प्रतिकृया दिएका छन् ।

गभर्नरमाथि छानविन गर्न नेपाल राष्ट्र बैंक ऐन अनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ ।  छानविन समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् । समितिले प्रतिवेदन बुझाउने समय १ महिना दिइएको छ ।

यस्तो छ राष्ट बैंक ऐनमा भएको व्यवस्था

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ मा जाँचबुझ समिति गठन तथा काम, कर्तव्य अन्तर्गत सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।

जसमा सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीश मध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्येबाट सरकारले तोकेको २ जना व्यक्ति सदस्य रहने व्यवस्था छ । जाँचबुझ समितिले जाँचबुझ गरी आफ्नो राय ठहर सहितको सिफारिस सरकार समक्ष पेश गर्नुभन्दा अघि सम्बन्धित व्यक्तिसँग बयान लिन वा सोधबुझ गर्न सक्नेछन् ।

जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछन् । उक्त समितिले राय ठहरसहितको आफ्नो सिफारिस एक महिनाभित्र सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्