११ साउन २०८३, सोमबार

गभर्नर निलम्बनको असर शेयर बजारमा, ४४ अंकले घट्यो नेप्से

गभर्नर निलम्बनको असर शेयर बजारमा, ४४ अंकले घट्यो नेप्से
प्रतिकात्मक तस्वीर

नेपाल राष्ट्र बैैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको असर शेयर बजारमा परेको छ ।

सरकारले शुक्रवार गभर्नर अधिकारीलाई निलम्बन गरेपछि पहिलो दिनको कारोबारमा शेयर बजार ४४.६४ अंकले घटेको छ ।

शनिवार र आइतवार बिदा भएका कारण सोमवारको प्रिओपनिङदेखि नै घट्दै गएको शेयर बजार दिनभरमा १.८१ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले चालू आवमा ल्याएको शेयर धितो कर्जामा न्युनतम ४ करोड र अधिकतम १२ करोड रुपैयाँको सीमा तोकेपछि शेयर बजारमा परेको असरका कारण बजार उल्लेख्य रूपमा बढ्न सकेको थिएन ।
 
गभर्नर अधिकारीको निलम्बनपछि पनि लगानीकर्तामा निराशा बाँकी नै रहेको आजको शेयर बजारको अवस्थाले देखिएको छ । जसको फलस्वरूप सोमवारको शेयर बजार मापक नेप्से परिसूचक घटेर २४१९.७१ अंकमा आइपुगेको छ । 

सोमवार २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयरको ४० हजार पटक कारोबार भएको छ । यसबाट २ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । 

सोमवार बजार घटेको दिनपछि नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका लगानीकर्ताले सोमवार १० प्रतिशत कमाएका छन् । 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशत र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि २.६९ प्रतिशतले कमाएका छन् । 

सोमवार गुमाउने कम्पनीहरू माइमर्जिङ नेपालका लगानीकर्ताले ९.९८, राष्ट्र उत्थानकाले ९.९२ प्रतिशत गुमाएका छन् । नेपाल टेलिकमको ६.१२, हिमालयन पावरले ५.६३, नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ५.०५ प्रतिशत गुमाएका छन् ।

सोमवार सबैभन्दा बढी रकम कारोबार हुनेमा नेपाल लाइफको १६ करोड ५२ लाख रुपैयाँ छ । यसको शेयरको सोमवार २ हजार ३२९ पटक कारोबार भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्