०८ साउन २०८३, शुक्रबार

डिलबहादुर जो वैदेशिक रोजगारीभन्दा मौरीपालनमा जमे

बैशाख ६, २०७९
डिलबहादुर जो वैदेशिक रोजगारीभन्दा मौरीपालनमा जमे

बागलुङ नगरपालिका-४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन् । 

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले २०७२ बाट मौरीपालन गर्न थालेका हुन् । 

सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई गएका खत्री दुई वर्षमै नेपाल आए । पुनः मलेसिया गएका खत्री सन् २००९ मा मलेसियाबाट फर्किए । मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताउँछन् । उनको १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् ।  

उनले यस वर्षमात्रै ६ लाख रूपैयाँ सुन्तला बेचेरै भित्र्याए । सुन्तलामा मनग्य आम्दानी देखेका उनले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका नयाँ बिरुवा लगाएका छन् । खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ । रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उनको ध्यान छ । 

स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोजेका छन् । उनले मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खत्रीले गत वर्ष मात्रै ११० मौरीसहितको घार बिक्री गरेर १० लाख ४५ हजार रूपैयाँ आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट एक लाख १३ हजार रूपैयाँ आम्दानी गरेको बताए । 

मौरीको चरनका लागि तोरीखेती हुने क्षेत्र उपयुक्त हुने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उनको भनाइ छ । मौरीपालन र सुन्तला खेतीमा श्रीमती खिरादेवी खत्रीले सघाउँदै आएकी छन् । -रासस

salt training

कमेन्ट गर्नुहोस्