
प्रतिनिधि सभाका सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाको वडाध्यक्षको टिकट वितरणमा पैसाको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ ।
वीरगञ्ज महानगरपालिका–१ को वडाध्यक्षको टिकटका लागि सोही वडाका बैजनाथप्रसाद साहसँग ५० लाख रुपैयाँ यादवले मागेको आरोप साहले लगाएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्ज महानगरको वडाध्यक्षको उम्मेदवार बनाउन लागेको र अन्तिम समयमा यादवले पैसा मागेर टिकट नदिएको साहले बताए । संघीय प्रतिनिधि सभाका सांसद यादव पनि जनता समाजवादी पार्टीकै हुन् ।
वडाध्यक्षको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेकोमा ५० लाख रुपैयाँ दिने भए मात्रै टिकट दिन सकिने भनेर सांसद यादव स्वयंले भनेको साहले लोकान्तरलाई बताए ।
‘म उम्मेदवारी दर्ताका लागि जुलुससहित आदर्शनगर गएको थिएँ । मेरो जुलुसमा करीब २०० जना सहभागी थिए । त्यहाँ पुगेपछि प्रदीप यादवले वीरगञ्जको पुजन होटल बोलाउनुभयो र उम्मेदवारी दर्ता गर्ने भए ५० लाख दिनुपर्छ भनेर बार्गेनिङ गर्नुभयो । मैले पैसा दिन सक्दिनँ भनेपछि मलाई उम्मेदवारी दर्ता गर्न दिनुभएन,’ साहले भने ।
वीरगञ्ज महानगरपालिका–१ को अध्यक्षमा जसपाबाट मनोज कुर्मीले टिकट पाएका छन् । उनी मनोनयन दर्ताको अघिल्लो दिन मात्रै कांग्रेसबाट जनता समाजवादी पार्टी प्रवेश गरेका थिए ।
‘शुरूमा जसपाकै नेताहरू आएर १ नम्बर वडामा चुनाव लड्ने मान्छे भएन, तपाईंले तयारी गर्नुपर्यो भनेका थिए । राजेशमान सिंहकै मान्छेहरू आएका थिए । उनीहरूले भनेपछि मैले चुनाव लड्ने तयारी गरेको थिएँ,’ साहले लोकान्तरसँग भने, ‘वैशाख १० गते राजेशमान सिंहलाई नै सहभागी गराएर १ नम्बर वडामा ठूलो आमसभा आयोजना गरेका थियौं । त्यहाँ पनि मलाई नै उम्मेदवार घोषणा गरिएको थियो ।’
बैजनाथप्रसाद साह वीरगञ्ज महानगरपालिका–१ मा सामाजिक व्यक्तिका रूपमा परिचित छन् । उनको जीविकोपार्जनको मुख्य स्रोत कृषि हो । सामाजिक काममा योगदान पुर्याउँदै आएका उनलाई वडाध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव आएपछि उत्साहित भएका थिए ।
उम्मेदवारी दर्ता गर्न जाँदाको जुलुसमा सहभागी भएकाहरूलाई छाता मात्रै ३०० वटा वितरण गरेको साहले बताए ।
‘उम्मेदवारी दर्ताको तयारीकै क्रममा मेरो २ लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो । वैशाख १० गते गरिएको आमसभामा नै धेरै खर्च भएको थियो । उम्मेदवारी दर्ता गर्न जाने जुलुसका लागि ३०० वटा छाता बाँडेको थिएँ,’ साहले भने ।
निर्वाचनको सबै तयारी गरेपछि अन्तिममा टिकट नदिएर आफ्नो राजनीतिक हत्या गरेको साहले बताए । ‘पैसा नभई राजनीति नहुने रहेछ । पैसाको चलखेल गरेर मेरो राजनीतिक हत्या गरियो । यस्तो होला भन्ने मैले कहिल्यै सोचेको थिइनँ,’ साहले भने ।

यादवको खण्डन
सांसद यादव आफ्नो पार्टीका जुनसुकै तहको टिकटका लागि कसैले पैसाको बार्गेनिङ गर्न नसक्ने बताउँछन् । वडाध्यक्षको टिकटका लागि ५० लाख रुपैयाँको बार्गेनिङ गर्नुभएको भन्ने आरोप छ नि भन्ने प्रश्नमा सांसद यादवले हाँस्दै भने, ‘हाम्रो पार्टीमा यस्तो धन्दा चल्दैन । कसैले पैसाको बार्गेनिङ गर्न सक्दैन । यो विरोधीले हल्ला चलाएको बकम्फुसे कुरा हो ।’
टिकट वितरणमा आफ्नो सहभागिता नहुने पनि उनले बताए । ‘टिकट वितरणमा पार्टीको सिस्टम छ । मैले टिकट दिने होइन,’ उनले भने ।
उम्मेदवारी दर्ताका दिन साहसँग वीरगञ्जको पुजन होटलमा भेट भएको यादवले स्वीकारे । ‘पुजन होटलमा उहाँसँग कुरा भएको हो । मैले मात्रै एक्लै कुरा गरेको होइन । हामी १२–१३ जना थियौं । उहाँको उमेर पनि वृद्धावस्थाको भएको र काम गर्न सक्ने मान्छे उम्मेदवार हुनुपर्ने भएकाले उहाँलाई दाबी छोडिदिनुस् भनेर आग्रह गरिएको हो । पैसा मागिएको होइन,’ यादवले भने ।
विकास र समृद्धिको काम गर्नुपर्ने र उनको उमेरले पनि नसक्ने भएकाले क्षमतावान युवालाई उम्मेदवार बनाउन सहयोग गर्नुहोस् भनेर अनुरोध मात्रै गरेको यादवले बताए ।
‘उहाँको उमेर ६० वर्षभन्दा माथि भइसकेको छ । अहिले वडाध्यक्ष बनाउन नसकिए पनि पार्टीमा सम्मानित स्थानमा राखौंला भनेका थियौं,’ यादवले भने, ‘पैसाको बार्गेनिङ गर्यो भनेर लगाइएको आरोप निराधार र फर्जी छ ।’