आफ्नै गाउँपालिकामा प्रधानमन्त्री शेरबहादुर देउवा एक्लिएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेस (बीपी) र नेकपा एमालेले तालमेल गरेका छन् । गठबन्धन सहयात्री दलहरू पनि एक्लाएक्लै चुनावमा होमिएका छन् ।
देउवाको गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रकुमार कार्की एक्लै प्रतिस्पर्धामा छन् । एमाले– (कांग्रेस बीपी) गठबन्धनबाट अध्यक्षमा करुवा चिह्न लिएर सुरेन्द्रबहादुर ओली उठेका छन् ।
माओवादी केन्द्र, नेकपा (एस), राप्रपा र जनमोर्चाले पनि एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।
अहिले देशभरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा ५ दलीय गठबन्धन गरेर चुनावमा होमिएको छ, तर देउवाकै गाउँपालिकामा सबै एक्लाएक्लै लड्न लागेका हुन् ।
कांग्रेस बीपी र एमालेको गठबन्धनबाट करुवा चिह्नको मागसहित सुरेन्द्रबहादुर ओली, माओवादीको तर्फबाट चक्र मल्ल, नेकपा एसको तर्फबाट नरबहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट कृष्णदेव भट्ट र राष्ट्रिय जनमोर्चाको तर्फबाट टंकप्रसाद अवस्थी उम्मेदवार छन् ।
यसले गर्दा देउवाकै गाउँपालिकामा नेपाली कांग्रेस कमजोर देखिएको छ । २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले अध्यक्षसहित ३ वटा वडा मात्रै जितेको थियो । माओवादी केन्द्र र एमालेले १/१ वडा जितेका थिए ।
गन्यापधुरा वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष चेतबहादुर भट्टले प्रधानमन्त्री देउवाले भेटेरै आग्रह गरे पार्टी छाडेकाहरूले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।
‘बीपी भनेर गएकाहरूसँग देउवाजीले भेटेर फर्क भन्नुभयो भने सबै फर्किन्छन्, उहाँले वास्ता नगरेकै कारण फुटेर गएका हुन्,’ वडाध्यक्ष भट्टले लोकान्तरसँग भने ।
नेपाली कांग्रेसबाट रुष्ट भएर कांग्रेस बीपी बनेका उनीहरूले देउवाको गाउँपालिकामा धेरै भोट काट्ने आकलन नेपाली कांग्रेसकै स्थानीय नेताहरूको छ ।
त्यतिमात्र होइन, डडेलधुराको अमरगढी नगरपालिकामा पनि नेपाली कांग्रेस एक्लै भएको छ । नेकपा एकीकृत समाजवादीको पनि बलियो उपस्थिति तथा कांग्रेस बीपी र एमालेबीच तालमेल हुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा छ ।
अघिल्लोपटक एमालेबाट उपमेयर जितेकी संगिता भण्डारी अहिले समाजवादीबाट मेयर उठेकी छन् ।
यहाँ कांग्रेस बीपी र एमालेको गठबन्धनबाट उम्मेदवार भएका हरि भट्ट पनि बलिया उम्मेदवार मानिएका छन् ।
कांग्रेसकातर्फबाट डिल्लीराज जोशी उम्मेदवार बनेका छन् ।
नेकपा एसकी उम्मेदवार स्थानीय स्तरमा राम्रोसँग भिजेकाले उनलाई पनि बलियो दाबेदार मानिएको एक मतदाताले बताए । कांग्रेस बीपीको साथले एमाले पनि हौसिएको देखिन्छ ।