कैलालीको धनगढीबाट झण्डै १२५ किलोमिटरको यात्रा तय गरेपछि डडेल्धुराको असिग्राम भात्काँडामा आइपुगिन्छ ।
भात्काडाँबाट उत्तरतर्फ लाग्ने सानो कच्ची बाटो हुँदै करीब १४ किलोमिटर यात्रा पार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको पुख्र्यौली गाउँ रुवाखोला पुगिन्छ ।
भात्काँडामा एकैछिन रोकिएर स्थानीयसँगको गफबाटै ५ पटक प्रधानमन्त्री भइसकेका व्यक्ति (शेरबहादुर देउवा)को घर जाने बाटो कच्ची भनेपछि त्यता जाने उत्साह बढ्यो ।
देउवाको घर पुग्न गन्यापधुरा गाउँपालिका हुँदै रुवाखोला जानुपर्ने रहेछ ।
गन्यापधुरा गाउँपालिका– १ सोध्दै जाँदा वडा अध्यक्षमा दोहोरिनका लागि उम्मेदवारी दिएका स्थानीय चेतराम भट्ट बाटैमा भेटिए ।
उनले भनेजस्तै कच्ची बाटोको यात्रा तय गरेर गन्यापधुरा गाउँपालिका पुगियो ।
वडा अध्यक्षका उम्मेदवार भट्टले देखाएको कच्ची बाटोबाट देउवाको घर पुग्न सकिने रहेछ । त्यही घरमा प्रधानमन्त्री शेरबहादुर देउवा जन्मिए, हुर्के बढे, अनि विद्यालय तहसम्मको अध्ययन समेत पूरा गरे ।
देउवाको घर जाने गाउँको बाटो छिर्नुअगाडि पक्की सडक अर्थात् डडेल्धुरा सदरमुकाम अमरगढी हुँदै बैतडी जाने मुख्य हाइवे छ ।
हाइवेको कतिपय ठाउँमा सडक बिग्रिएको देख्न सकिन्छ । कच्ची सडक जाने छेवैमा केही खाजा पसलहरू छन् ।
त्यहाँ पुग्दा पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाले आफ्नो घर जाने सडक नै कालोपत्रे नगरेको भन्दै गुनासोका स्वरहरू सुनिए ।
भात्काडाँका एक खाजा पसलेले भने, ‘के प्रधानमन्त्रीको गाउँ भन्नु, बाटो पिच छैन, अहिलेसम्म स्थानीयले प्रधानमन्त्रीको गाउँमा यस्तो छ भनेर गर्व गर्नलायक काम पनि केही भएको छैन ।’
भात्काडाँबाट असिग्रामतर्फको कच्ची सडक हुँदै ओरालो लागेपछि सल्लाका रूखहरू देखिन्थे ।
वैशाखको चर्को घाम त्यसमाथि आगोको झिल्को परेको सल्लाघारी । बाटोसम्म नै वनको डढेलो आइपुगेको थियो ।
एकातिर गर्मीयामको समय, अर्कातिर छेउछाउमा रहेका रुखहरू बलेको देख्दा मन खिन्न नहुने कुरै थिएन ।
हामीले बाटोमा भेटिएका गन्यापधुरा १ का वडाध्यक्ष चेतराम भट्टलाई डढेलो लाग्नुको कारण सोध्यौं । उनको जवाफले झन् अचम्ममा परियो ।
उनले भने, ‘सरकारले सल्लाको रूखबाट खोटो निकाल्न अनुमति दिएका कारण त्यसलाई सहज बनाउन ठेकेदारले आगो लगाएका हुन् ।’
वनमा आगो लगाउने काम खोटो निकाल्ने ठेक्का पाएका ठेकेदारहरूको भएको उनले सुनाए ।
बाटोमा सल्ला झर्दा चिप्लने समस्या हुन्छ भन्दै त्यसमा आगो लगाउँदा खोटो निकाल्न जानेलाई सहज हुने तर्क वडाध्यक्षले नै गरे ।
बाटोमा गफिँदै करीब ७ किलोमटरको यात्रा तय गरेपछि गन्यापधुराको १ नम्बर वडा कार्यालय पुगियो । जुन प्रधानमन्त्री शेरबहादुर देउवा भोट हाल्न आउने ठाउँ पनि हो ।
वडाध्यक्ष भट्टका अनुसार अघिल्लो चुनाव २०७४ मा हेलिकप्टर लिएर भोट हाल्न आएका प्रधानमन्त्री देउवा त्यसपछि फर्किएर आएका छैनन् ।
‘अघिल्लो चुनावमा आया हुन्, अब यो चुनावमा आउँड्या छन्,’ उनले लोकान्तरसँग भने ।
उनको आशय प्रधानमन्त्री देउवा चुनावको समयमा भोट हाल्न र भोट माग्न मात्रै आउने गर्छन् भन्ने थियो ।
स्थानीयका अनुसार यहाँको विकास निर्माणमा देउवालाई कुनै चासो छैन । हेलिकप्टरमा परिवारसहित आउँछन्, भोट हालेर गइहाल्छन् ।
मतदाता सूचीमा देउवा, उनकी पत्नी आरजू राणा र छोरा जयसिंहको नाम छ । मतदानस्थल आइपुगेका देउवा त्योभन्दा ठीक पारि २० मिनेटको दूरीमा रहेको घरतर्फ भने जाँदैनन् ।
देउवा जन्मिएको घर रुवाखोला हो । उनको घर हुँदै डोटी जाने कच्ची सडक २८ वर्ष बितिसक्दा ग्राबेलसम्म पनि हुन सकेको छैन ।
निवर्तमान वडाध्यक्ष भट्टले देउवा प्रधानमन्त्री हुँदा र अघिल्लो सरकार हुँदा बजेट माग्दा समेत नपाएको गुनासो गरे ।
‘२०५१ सालमा यो ठाउँमा सडक आएको हो तर पिच गर्न सकिएको छैन,’ उनले भने, ‘देउवा दाइ ५ चोटी प्रधानमन्त्री हुनुभयो । हामीले पहल गरेको हो । बजेट आउँछ भन्नुहुन्थ्यो अहिलेसम्म बजेट राम्रोसँग परेको छैन ।’
आफ्नै गाउँपालिकामा चुनौती
आसन्न स्थानीय तहको चुनावमा प्रधानमन्त्री देउवाकै गाउँपालिकामा कांग्रेसका सामु कडा चुनौती खडा भएको छ ।
नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार इन्द्रकुमार कार्की एक्लै प्रतिस्पर्धामा छन् । एमाले– (कांग्रेस बीपी) गठबन्धनबाट अध्यक्षमा करुवा चिह्न लिएर सुरेन्द्रबहादुर ओली उठेका छन् ।
माओवादी केन्द्र, नेकपा (एस), राप्रपा र जनमोर्चाले पनि एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।
अहिले देशभरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा ५ दलीय गठबन्धन गरेर चुनावमा होमिएको छ, तर देउवाकै गाउँपालिकामा सबै एक्लाएक्लै लड्न लागेका हुन् ।
गाउँपालिका जसोतसो जितियो भने पनि वडाहरूमा मुस्किल रहेको स्वयं कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।
वडा कार्यालयबाट तल रुवाखोलाको छेउछाउमा पाकेको गहुँ सुनजस्तै पँहेलपुर देखिएको थियो ।
त्यहाँबाट करीब ७ किलोमिटरको यात्रा पार गरेपछि प्रधानमन्त्री देउवा जन्मिएको घर पुगियो ।
त्यहाँ उनकी काकी राजुदेवी देउवा भेटिइन् । उनी माथिल्लो घरको आँगन बसेर भतिज शेरबहादुरको खण्डहर घरतर्फ हेर्दै थिइन् । उनले नै हामीलाई देउवा जन्मिएको घर चिनाइदिइन् ।
त्यहाँ घरको भग्नावशेष मात्रै थियो । घरको तल्लो तल्लामा झ्यालका आकारहरू मात्र देखिन्थे भने अन्त ढुंगामात्रै ।
उनको आँगनमा भलिबल खेल्ने ग्राउन्ड बनाइएको थियो । त्यसका लागि जाली टाँगेर राखिएको थियो ।
घरको तल्लोपट्टि पक्की शौचालय थियो, जुन अहिले पनि राम्रो छ ।
देउवाको आँगनको छेउमा तुलसी रोप्नका लागि बनाइएको मठ पनि थियो । एउटा अनारको रुखमा लटरम्म फूल फुलिरहेका थिए ।
देउवाको घरसँगै लहरै तीनवटा घर थियो । कुनामा देउवाको परिवारको, बीचमा उनका जेठो बुवाको र अर्कोतर्फको छेउमा माइला बुवाको ।
तीनवटै घर हामीलाई उनकी काकी राजुदेवीले चिनाइदिइन् ।
अरू दुई घरमा कमेरो पोतिएको थियो भने देउवाको घरचाहिँ भग्नावशेष मात्र थियो ।
राजुदेवीले आँगनको डिलमा बसेर प्रधानमन्त्री देउवाका बाल्यकाल र उनका घरबारीका बारेमा सुनाउँदै भनिन्, ‘म ५७ वर्ष अगाडि बिहे गरेर आउँदा भर्खरको केटो थियो । तेजिलो र चलाख थियो । अहिले पनि झल्झली याद आउँछ ।’
उनले देउवा पहिलोचोटी गृहमन्त्री हुँदा त्यही भत्किएको घरमा खसी काटेर भोज लगाएको कुरा पनि सुनाइन् ।
उनले त्यो समयमा आफ्नो घर, पल्लो गाउँ, सदरमुकाममा खसी काटेको सम्झिइन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा आउँदा हालखबर सोध्ने गर्छन् । देउवा आउँदा हरेक भेटमा ढोगिदिन्छन्,’ उनले भनिन्, ‘मसँगै कुरा गरेर बस्छन् ।’
तर पछिल्ला धेरै वर्षदेखि देउवा चुनाव हुँदा मात्रै गाउँ आउँछन् । त्यहाँ पनि मतदानस्थलमा मात्रै भेटिन्छन् ।
अहिले प्रधानमन्त्री देउवाबारे आफ्नो श्रीमानसँग फोनमा कुरा गरेर मात्र थाहा पाउने गरेको उनले बताइन् ।
‘शेरबहादुर राम्रै छ रे प्रधानमन्त्री भएर देश चलाएको छरे, मलाई मेरा श्रीमान्ले तराईबाट फोनमा बताउनुहुन्छ,’ उनले भनिन्, ‘पहिले हामीहरू बसेको तलपट्टीको सबै खेत शेरबहादुर देउवाका बुवा प्रसादसिंह देउवाको सम्पत्ति थियो । पछि देउवाको परिवार तराई झरेपछि बिक्री गरे ।’
शेरबहादुरकी छिमेकी काकी पार्वती देउवाले विदेश पढेर आएपछि प्रधानमन्त्री भएर देश चलाएको र नाम कमाएको देख्दा खुशी लागेको बताइन् ।
‘मेरो भतिज हो, नाम कमाएको छ, देश चलाएको छ, ठीक गरेको छ, हाम्रो नाम राखेको छ,’ पार्वतीले लोकान्तरसँग भनिन्, ‘उसले कहिल्यै पनि हार्दैन, अहिलेसम्म भित्तामा उसकै पोष्टर टाँगेको छ ।’
देउवाको घर भएर फर्किँदा रुवाखोलामा पानी सुकेर खाली खोला मात्रै देखियो । तर आसपासका खेतहरू भने पाकेका गहुँले निकै सुन्दर र भरिभराउ थिए ।