३२ असार २०८३, बिहीबार

रातो मच्छिन्द्रनाथको रथमा शृंगारको काम हुँदै

बैशाख २०, २०७९
रातो मच्छिन्द्रनाथको रथमा शृंगारको काम हुँदै
तस्वीर सौजन्य : राजधानी दैनिक

 वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई रथमा आइतबार रथारोहण गराए पनि पुल्चोकमा निर्माण सकेर शृंगारका लागि राखिएको रथमा मंगलबार र बुधबार दिउँसोसम्म पनि काम हुँदै छ । रथमा सिंगारपटार गर्ने काम रथ तान्ने बेलासम्म पनि हुने गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

उनका अनुसार रथमा घँमा राख्ने र लुसा राख्ने काम पनि आइतबारबाट सुरु भएको छ । रथलाई आकर्षक बनाउने, झ्यालढोका राख्ने, पटुका बाँध्ने, सिंगार्ने, ध्वँजापता राख्ने र नेपालको झन्डा राख्ने काम रथयात्रा हुने दिनसम्म नै जारी रहन्छ, उनले भने । रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएपछि त्यहाँ २ जना मच्छिन्द्रनाथका पानेजु रहनेछन् भने २ जना प्रहरीले पनि रथमा सुरक्षार्थ पहरा दिएका छन् ।

गुठी संस्थान ललितपुरले रथ निर्माणमा खटिएका ४२ जनालाई काम गरेको दिनको हाजिरी हेर्दै दैनिक १५ सय पारिश्रमिक दिएको छ । रथ निर्माणमा खटिनेलाई काम गरेको दिनमा १५ सय दिन्छौं, कार्यालय प्रमुख सुवेदीले भने, जम्माजम्मी ४२ जना खटिएका छन् । मिननाथको रथ पनि टंगालमा निर्माण भइसकेको छ । यसपालि रथमा नयाँ घँमा हालिएको छ । केही समयअघि नुवाकोटबाट काठ ल्याएर पुल्चोकमै घँमा तयार पारिएको हो ।

तःबहालस्थित मन्दिरबाट विभिन्न बाजागाँजासहितको लावालस्करले खटमा राखी मच्छिन्द्रनाथको मूर्तिलाई आइतबार पुल्चोकमा रहेको रथमा विराजमान गराइएको हो । यसअघि शनिबार वैशाख कृष्ण औंसीका दिन रथको चारैदिशातर्फ लामा–लामा काठलाई ठाडो पारेर राखिएको थियो । रथको मुख्य आकार बनिसकेर यवाँलले बेतले बाँधिसकेपछि लस्सी कस्ने गरिन्छ । ती लामा लामा ठाडो पारेर रथमा समाहित गरिएको काठलाई लस्सी काठ भनिने रथको निर्माणमा संलग्न गुठियारहरू बताउँछन् ।

रथ निर्माणमा यँवाल र बाराही समुदाय खट्ने परम्परा छ । जसअनुसार काठको काम बाराही समुदायले र काठलाई वेतले बाँने काम यँवाल समुदायले गर्छन् ।

नेपालकै लामो जात्राका रूपमा लिइने मच्छिन्द्रनाथको रथजात्रा बुधबार दिउँसो ४ बजेबाट सुरु गर्ने तयारी रहेको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख सुवेदीले बताए । राजधानी दैनिकमा नवीन लुइँटेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्