३२ असार २०८३, बिहीबार

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको झण्डै ८ खर्ब बराबरको सम्पत्ति जफत

असार ३२, २०८३
काठमाडौं
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको झण्डै ८ खर्ब बराबरको सम्पत्ति जफत

बंगलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना, उनको परिवार र उनीसँग आबद्ध १० वटा ठुला व्यावसायिक समूहको ७६० अर्ब बंगलादेशी टाका बराबरको सम्पत्ति जफत गरेको छ। बंगलादेशी अधिकारीहरूले जुलाई १५ (बुधबार) मा पत्रकार सम्मेलन गर्दै यसको पुष्टि गरेका हुन् । 

हालको अन्तर्राष्ट्रिय विनिमय दरअनुसार यो सम्पत्ति करिब ६.२ देखि ८ अर्ब अमेरिकी डलर (करिब ८ देखि १० खर्ब नेपाली रुपैयाँ) बराबर हुन आउँछ।

सन् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको जनविद्रोहपछि १५ वर्षे लामो शासनसत्ता छाडेर हसिना भारत पलायन भएकी थिइन्। त्यसयता वर्तमान सरकारले हसिनाको कार्यकालमा अस्वाभाविक रूपमा लाभ लिएका उनका आफन्त र प्रमुख व्यावसायिक समूहहरूको सम्पत्तिमाथि व्यापक छानबिन गरिरहेको छ ।

बंगलादेश फाइनान्सियल इन्टेलिजेन्स युनिटका अनुसार जफत गरिएको कुल सम्पत्तिमध्ये ५७० अर्ब टाका बंगलादेशभित्रै रहेको छ भने बाँकी १९० अर्ब टाका विदेशमा रहेको सम्पत्ति हो । एजेन्सीका प्रमुख इख्तियार मोहम्मद मामुनले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हसिना र उनीसँग जोडिएका व्यक्तिहरूविरुद्ध हालसम्म ९८ वटा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएको एएफपीले जनाएको छ ।

अपदस्थपछि हसिनालाई राजधानी ढाकाको एक जग्गा प्लटिङ बाँडफाँटसँग जोडिएको भ्रष्टाचारलगायत धेरै मुद्दाहरूमा दोषी ठहर गरिसकिएको छ । यस्तै, सन् २०२४ को जुलाई र अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारीको मृत्यु हुने गरी गरिएको दमनको अभियोगमा ‘इन्टरनेसनल क्राइम्स ट्रिब्युनल–१’ ले उनलाई मृत्युदण्डको सजायसमेत सुनाएको छ।

सन् २०२४ को अगस्टदेखि भारतमा शरण लिइरहेकी हसिनाले हालै मात्र आफू सन् २०२६ को अन्त्यसम्ममा बंगलादेश फर्कने इच्छा व्यक्त गरेकी थिइन्।  उनको सोही भनाइ सार्वजनिक भएलगत्तै बंगलादेश सरकारले यो कदम चालेको हो । बंगलादेशका गृहमन्त्री सलाहउद्दिन अहमदले सरकारले हसिनाको सुपुर्दगीका लागि प्रयास गरिरहेको र उनी कानुनको कठघरामा उभिन फर्किएमा स्वागत गरिने बताए।

सन् २०२४ को जनविद्रोह र त्यसपछि मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले हसिनाको दल 'अवामी लिग' लाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाउँदै निर्वाचन लड्न समेत रोक लगाएको थियो । त्यसपछि फेब्रुअरीमा भएको आम निर्वाचनबाट तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । 

वर्तमान सरकारले हसिनाले आफ्नो १५ वर्षे कार्यकालमा पदको दुरुपयोग गरी अवैध माध्यमबाट अथाहा सम्पत्ति थुपारेको र आफ्ना नातेदार तथा निकटका व्यापारीहरूलाई पोसेको आरोप लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्